START - JULY 23/2026
ISAIAH - INTRODUCTION
पुस्तक परिचय
यशैया, यर्मिया, विलाप, इजकिएल र दानिएलका पुस्तकहरूलाई अगमवक्ताका ठूला पुस्तकहरू भनिन्छन्। अनि होशेदेखि मलाकीसम्मका पुस्तकहरूलाई अगमवक्ताका साना पुस्तकहरू भनिन्छन्। अगमवक्ताका ठूला साना पुस्तकहरूले २५०—३०० वर्षको अवधीलाई छोएका छन्। अनि त्यो अवधीमा राष्ट्रको पतन, कैद र त्यसपछि प्रवासबाट स्वदेशमा फिर्तीका महान् घटनाहरू उल्लेख गरिएका छन्।
यशैया सात सय शताब्दीको अन्त्यमा यरूशलेममा बाँचेका महान् अगमवक्ता हुन्। ६ अध्यायमा उनको परमेश्वरीय बोलावटको उल्लेख भएको छ। चालीस वर्षसम्म उनले अगमवाणी गरे। कति वर्षसम्म यशैयाको वचन मानिसहरूले र राजाहरूले टेरेनन् सुनेनन्। तर हिजकिया राजाको समयमा राजाले नै दुश्मनको आक्रमणको समयमा यशैयाको सल्लाह लिएर सहरलाई बचाए। यो पुस्तकमा यशैयाले भविष्यको महान् राजाको राज्यको विषयमा अचम्मका भविष्यवाणी गरेका छन्। यी अगमवाणी भविष्यवाणी र दर्शनहरूको कारणले नै यशैयाको पुस्तकलाई र यशैया अगमवक्तालाई नै पनि अगमवक्ताहरूमा सर्वोच्च स्थान मिलेको छ।
ISAIAH - 1:1-31
1यहूदाका राजाहरू, उज्जियाह, योताम, आहाज र हिजकियाका शासनकालमा यहूदा र यरूशलेमको विषयमा आमोजका छोरा यशैयाले देखेका दर्शन।
एक अटेरी जाति
2हे आकाश, सुन्! हे पृथ्वी, कान थाप्! किनकि परमप्रभुले भन्नुभएको छ, “मैले छोराछोरीहरूलाई पालनपोषण गरेर हुर्काएँ, तर तिनीहरू मेरो विरुद्धमा अटेरी भएका छन्। 3गोरुले आफ्नो मालिक चिन्छ, र गधाले आफ्नो स्वामीको डूँड़ चिन्छ, तर इस्राएलले चिन्दैन, मेरा मानिसहरूले बुझ्दैनन्।”
4हाय, पापी जाति, दोषले लादिएका मानिसहरू, दुष्ट काम गर्नेहरूका बच्चा, भ्रष्टाचार गर्नेहरूका सन्तान। तिनीहरूले परमप्रभुलाई त्यागेका छन्, तिनीहरूले इस्राएलका परमपवित्रलाई हेला गरेका छन्, र उहाँतिर आफ्नो पिठिउँ फर्काएका छन्।
5तिमीहरूले किन अझै पिटाइ खानुपर्छ? किन तिमीहरू अझै अटेरी बनिरहन्छौ? तिमीहरूका सारा शिरमा चोट लागेको छ, र सारा हृदय पीडित भएको छ। 6पैतालादेखि टुपीसम्मै चोट नभएको कहीँ छैन। चोटैचोट, डामहरू र खुल्ला घाउहरू मात्र छन्। ती न त सफा गरिएका न बाँधिएका, न तेलले नरम बनाइएका छन्।
7तिमीहरूको देश उजाड़ छ। तिमीहरूका सहरहरू आगोले डढ़ाइएका छन्। तिमीहरूको जमिन तिमीहरूकै सामुन्ने विदेशीहरूले नाङ्गो पारिरहेछन्, परदेशीहरूले नाश पारेझैँ त्यो उजाड़ पारिएको छ। 8सियोनकी छोरीचाहिँ दाखबारीको छाप्रोजस्तै, खरबूजाको मचानजस्तै र घेरिएको सहरजस्तै भएकी छ। 9यदि सर्वशक्तिमान् परमप्रभुले हाम्रा निम्ति केही बाँचेकाहरू नछोड्नुभएको भए त हामी सदोमजस्तै हुनेथियौं, हामी गमोराजस्तै हुनेथियौं।
10हे सदोमका शासकहरू हो, परमप्रभुको वचन सुन! हे गमोराका मानिस हो, हाम्रा परमेश्वरको कानून ध्यान दिएर सुन! 11परमप्रभु भन्नुहुन्छ, “तिमीहरूका बलिदानहरूको थुप्रो मेरो निम्ति के काम लाग्छ? म त भेड़ाहरूका होमबलि र पालेका मोटा पशुहरूका बोसोका होमबलिदेखि अघाएको छु। साँढ़े, थुमा र बोकाहरूको रगतदेखि म प्रसन्न हुन्नँ। 12जब तिमीहरू मसँग भेट्नलाई आउँछौ, तिमीहरूले चढ़ाएका यी थोकहरू कसले चाहन्छ र? मेरा आँगनहरू खुट्टाले कुल्चीमिल्ची गर्न कसले तिमीहरूलाई भनेको छ र? 13व्यर्थका बलिहरू नल्याओ। तिमीहरूको धूप त मेरो निम्ति घिनलाग्दो छ। औंसी, शबाथ, र सभाहरूका साथसाथै तिमीहरूका दुष्ट जमघटहरू म सहन सक्दिनँ। 14तिमीहरूका औंसीका दिनहरू र ठहराएका चाड़हरूलाई मेरो हृदयले घृणा गर्छ। ती त मेरो निम्ति भार भएका छन्। ती बोक्दा-बोक्दा म थाकेको छु। 15तिमीहरूले प्रार्थनामा आफ्ना हात पसार्दा, म मेरा आँखा तिमीहरूदेखि छोप्नेछु। तिमीहरूले ज्यादै प्रार्थना गर्दा पनि म सुन्नेछैनँ। तिमीहरूका हात रगतले भरिएका छन्। 16आफूलाई धोएर चोखो पार। मेरो नजरबाट तिमीहरूका दुष्ट कामहरू फालिदेओ! खराबी गर्न छोड़। 17भलाइ गर्न सिक! न्याय खोज, अत्याचारमा परेकाहरूलाई प्रोत्साहन देओ, टुहुरा-टुहुरीको रक्षा गर, विधवाको पक्षमा बोलिदेओ।
18परमप्रभु भन्नुहुन्छ, “अब आओ, हामी सँगसँगै बसेर आफ्ना कुराको छलफल गरौं। तिमीहरूका पापहरू सिन्दूरे रङ्गका भए तापनि ती हिउँजस्तै सेता हुनेछन्। गाढ़ा राता रङ्गका भए तापनि ती ऊनजस्तै हुनेछन्। 19यदि तिमीहरू राजी र आज्ञाकारी भयौ भने, तिमीहरूले यस देशका असल-असल कुरा खान पाउनेछौ। 20तर तिमीहरू इन्कार गर्छौ र अटेरी हुन्छौ भने, तिमीहरू तरवारले काटिनेछौ।” किनकि परमप्रभुकै मुखले यो कुरा भन्नुभएको हो।
21हेर त, विश्वासयोग्य सहर कसरी एउटी वेश्या भई त! उहिले त्यो न्यायले पूर्ण थियो। त्यसमा धार्मिकताले वास गर्थ्यो, तर अब त त्यो हत्याराहरूले भरिएको छ! 22तेरो चाँदी मैला भएको छ, तेरो दाखमद्यमा पानी मिसाइएको छ। 23तेरा शासकहरू अटेरी, र चोरहरूका साथी भएका छन्। तिनीहरू सबैलाई घूस मन पर्छ, र उपहारको पछि दौड़न्छन्। तिनीहरू टुहुरा-टुहरीहरूको पक्ष लिँदैनन्। विधवाहरूको उजूर तिनीहरूकहाँ पुग्दैन। 24यसैकारण प्रभु, सर्वशक्तिमान् परमप्रभु, इस्राएलका शक्तिशाली परमपवित्र भन्नुहुन्छ, “मेरा दुश्मनहरूदेखि म मुक्त हुनेछु, र मेरा शत्रुहरूसित साटो लिनेछु। 25मेरो हात तेरो विरुद्धमा फर्काउनेछु, तेरो मैला जम्मै फालिदिनेछु, र तेरा सबै अशुद्धता हटाइदिनेछु। 26म तेरा न्यायकर्ताहरूलाई पहिलेको जस्तै, र तेरा सल्लाहकारहरूलाई सुरुमा जस्तै फेरि नियुक्त गर्नेछु। त्यसपछि तँ धार्मिकताको सहर र विश्वासयोग्य सहर कहलाइनेछस्।”
27न्यायसित सियोनको छुटकारा हुनेछ, र पश्चात्ताप गर्ने त्यहाँका बासिन्दाहरूको छुटकारा धार्मिकतासित हुनेछ। 28तर अटेरीहरू र पापीहरू दुवै एकसाथ टुक्रिनेछन्, र परमप्रभुलाई त्याग्नेहरूचाहिँ नष्ट हुनेछन्। 29“तिमीहरूले अति प्रसन्न गरेका पवित्र फलाँटका रूखहरूको कारण तिमीहरू शर्ममा पर्नेछौ, र तिमीहरूले चुनेका बगैँचाहरूको कारण तिमीहरू लज्जित हुनेछौ। 30पात ओइलाइसकेको फलाँटको रूख र पानी नभएको बगैँचाजस्तै तिमीहरू हुनेछौ। 31शक्तिशाली मानिसचाहिँ सनपाटका धुस्नुजस्तै, र त्यसको काम आगोको झिल्काजस्तै हुनेछ। ती दुवै एकैसाथ जल्नेछन्, र कसैले त्यस आगोलाई निभाउनेछैन।”
ISAIAH - 2:1-22,
परमप्रभुको पर्वत
1आमोजका छोरा यशैयाले यहूदा र यरूशलेमको विषयमा देखेका कुरा यही हो:
2पछिल्ला दिनमा परमप्रभुको मन्दिर बसालिएको पर्वत सबै पर्वतहरूभन्दा मुख्य रूपमा स्थापना हुनेछ। डाँड़ाहरूभन्दा माथि त्यो उच्च उठाइनेछ, र सबै जातिहरू त्यहीँ ओइरिएर आउनेछन्।
3धेरै मानिसहरूले आएर भन्नेछन्, “आओ, हामी परमप्रभुको पर्वत, याकूबका परमेश्वरको भवनमा जाऔं। उहाँले हामीलाई आफ्नो मार्ग सिकाउनुहुनेछ, ताकि हामी उहाँको बाटोमा हिँड्न सकौं।” व्यवस्था सियोनबाट र परमप्रभुको वचन यरूशलेमबाट निस्कनेछन्। 4उहाँले जातिहरूका बीचमा इन्साफ गर्नुहुनेछ, र उहाँले धेरै मानिसहरूका झगड़ा मिलाइदिनुहुनेछ। तिनीहरूले आफ्ना तरवारहरू पिटेर हलोका फाली र भालाहरू पिटेर छिमल्ने हँसिया बनाउनेछन्। जाति-जातिहरूले एक-अर्काको विरुद्धमा तरवार चलाउनेछैनन्, न त तिनीहरूले लड़ाइँ गर्न तालीम लिनेछन्।
5हे याकूबका घराना, आओ, हामी परमप्रभुको ज्योतिमा हिँड़ौं।
परमप्रभुको दिन
6तपाईंले आफ्नो प्रजा, अर्थात् याकूबको घरानालाई त्याग्नुभएको छ। तिनीहरू पूर्वदेखि आएका अन्धविश्वासले भरिएका छन्। तिनीहरू पलिश्तीहरूझैँ जोखना हेराउँछन्। तिनीहरू विधर्मीहरूसित हात मिलाउँछन्। 7तिनीहरूको देश सुन र चाँदीले भरिएको छ, तिनीहरूका धनको अन्तै छैन। तिनीहरूको देश घोड़ाहरूले भरिएको छ। तिनीहरूका रथहरूको केही गन्ती नै छैन। 8तिनीहरूको देश मूर्तिले भरिएको छ। आफ्नै हातका कामलाई तिनीहरू पुज्दछन्, तिनीहरूका आफ्नै औँलाले बनाएका कुरालाई। 9यसैले मानिस निहुराइनेछ र मानिस-जातिलाई विनम्र तुल्याइनेछ— तिनीहरूलाई क्षमा नगर्नुहोस्।
10परमप्रभुको भय र उहाँको महामहिम प्रतापबाट पहराभित्र पस, माटोभित्र लुक! 11मानिसको अभिमानी नजर खसालिनेछ र मानिसहरूको शेखी झारिनेछ, त्यस दिन परमप्रभु मात्र उच्च हुनुहुनेछ।
12सबै अहङ्कारीहरू र शेखी गर्नेहरू, र सबै “मै हुँ” भन्नेहरूमाथि सर्वशक्तिमान् परमप्रभुको यस्तो एक दिन आइपर्नेछ (र तिनीहरू विनम्र तुल्याइनेछन्), 13लेबनानका सारा अग्ला र उच्च देवदारुहरूमाथि, बाशानका सारा फलाँटका रूखहरूमाथि, 14सबै पर्वतहरू, र अग्ला डाँड़ाहरूमाथि, 15हरेक उच्च धरहरामाथि, र हरेक सुरक्षित पर्खालमाथि, 16तर्शीशका सबै व्यापारी जहाजहरूमाथि, र सबै राजकीय जहाजमाथि। 17मानिसको घमण्ड खसालिनेछ, र मानिसहरूको शेखी झारिनेछ। त्यस दिन परमप्रभु मात्र उच्च हुनुहुनेछ, 18र मूर्तिहरू बिलकुलै लोप हुनेछन्।
19जब पृथ्वीलाई थर्कमान तुल्याउन परमप्रभु उठ्नुहुन्छ, तब परमप्रभुको भय र उहाँको महामहिम प्रतापबाट मानिसहरू चट्टानका गुफा र पृथ्वीका प्वालहरूभित्र पस्नेछन्। 20त्यस दिन मानिसहरूले आफ्ना निम्ति पुज्नलाई बनाएका सुन र चाँदीका मूर्तिहरू छुचुन्द्रा र चमेराका अगि फालिदिनेछन्। 21जब पृथ्वीलाई थर्कमान तुल्याउन परमप्रभु उठ्नुहुन्छ, उहाँको भय र उहाँको महामहिम प्रतापबाट तिनीहरू भागेर चट्टानका कन्दराहरू र चट्टानका चिराहरूभित्र जानेछन्।
22नाकका प्वालमा सास हुने मानिसमा तिमीहरू भरोसा नराख, किनकि त्यसको मोल नै के छ र?
ISAIAH - 3:1-26,
यरूशलेम र यहूदामाथि इन्साफ
1अब हेर, प्रभु, सर्वशक्तिमान् परमप्रभुले यरूशलेम र यहूदाबाट आपूर्ति र समर्थन, भोजन र पानीका सबै आपूर्ति, 2वीर र योद्धा, न्यायकर्ता र अगमवक्ता, जोखना हेर्ने र धर्म-गुरु, 3पचासका कप्तान र उच्च मानिस, सल्लाहकार, निपुण कारीगर र चलाख जादूगरलाई लैजानै लाग्नुभएको छ।
4तिनीहरूमाथि ठिटाहरूलाई म शासक तुल्याइदिनेछु, र ससाना बालकहरूले तिनीहरूमाथि शासन गर्नेछन्। 5एउटा मानिसले अर्कालाई दमन गर्नेछ। एउटा मानिस अर्को मानिसको विरुद्ध, छिमेकी छिमेकीको विरुद्ध, बुढापाकाको विरुद्ध ठिटा र आदरणीयको विरुद्धमा तुच्छ उठ्नेछ।
6भाइहरूमध्येका एउटालाई आफ्नै मानिसले आफ्नै बुबाकै घरमा पक्रेर भन्नेछ, “तिम्रो त पोशाक छ, तिमी हाम्रा नेता होऊ, र यो अवशेषका थुप्रोको जिम्मा तिमीले लेऊ!”
7तर त्यस दिन त्यसले चर्को सोरमा भन्नेछ, “भत्केकोलाई बनाउने मेरो त उपाय नै छैन। मेरो घरमा भोजन र लुगाफाटा नै छैन। मलाई मानिसहरूका नेता नबनाऊ।”
8यरूशलेम धरमरिँदैछ, यहूदाको पतन हुँदैछ, तिनीहरूका वचन र काम परमप्रभुको विरुद्धमा छन्, उहाँको महिमापूर्ण उपस्थितिलाई तिनीहरू खुल्लमखुल्ला विरोध गर्छन्। 9तिनीहरूका अनुहारले नै तिनीहरूका विरुद्धमा गवाही दिन्छन्। सदोमझैँ तिनीहरू आफ्नो पापको प्रदर्शन गर्दछन्। तिनीहरू यसलाई लुकाउँदैनन्। तिनीहरूलाई धिक्कार! तिनीहरूले आफैमाथि सर्वनाश ल्याएका छन्।
10धर्मी मानिसहरूलाई भन, कि तिनीहरूलाई असलै हुनेछ, किनकि तिनीहरूले आफ्नो सुकर्मको फल भोग्नेछन्। 11दुष्ट मानिसहरूलाई धिक्कार! तिनीहरूमाथि सर्वनाश परेको छ, किनकि तिनीहरूका हातले गरेको कामको प्रतिफल तिनीहरूले पाउनेछन्।
12मेरो प्रजालाई युवाहरूले अत्याचार गर्दछन्, र स्त्रीहरूले तिनीहरूमाथि शासन गर्छन्। हे मेरा प्रजा, तिमीहरूलाई डोर्याउनेहरूले तिमीहरूलाई बरालेर लगेका छन्, र तिनीहरूले तिमीहरूलाई बाटोबाट फर्काउँछन्।
13परमप्रभु न्यायालयमा आफ्नो स्थान लिनुहुन्छ, आफ्नो प्रजाको इन्साफ गर्नलाई उहाँ उठ्नुहुन्छ। 14आफ्ना प्रजाका धर्म-गुरुहरू र शासकहरूका विरुद्धमा परमप्रभुले न्याय गर्नुहुन्छ। “मेरो दाखबारी नष्ट पार्ने तिमीहरू नै हौ। गरीबहरूलाई लुटेका माल तिमीहरूकै घरमा छन्। 15तिमीहरूले मेरा प्रजालाई दबाएको र गरीबहरूका अनुहारलाई पिँधेको मतलब के हो?” प्रभु, सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।
यरूशलेममा विलासी स्त्रीहरूको दुर्दशा
16परमप्रभु भन्नुहुन्छ, “सियोनका स्त्रीहरू अहङ्कारी छन्, र मुण्टो ठाड़ो गर्दै, चञ्चले आँखा गर्दै, कल्ली पहिरी छमछम गर्दै ससाना कदम चालेर हिँड्छन्। 17यसकारण परमप्रभुले सियोनका स्त्रीहरूका टाउकोमा घावै-घाउ भरिदिनुहुन्छ। परमप्रभुले तालु खुइले बनाइदिनुहुन्छ।”
18त्यस दिन परमप्रभुले तिनीहरूका सिङ्गारका गहनाहरू, अर्थात् चुरा र शिरबन्दी, चन्द्रहार, 19कुण्डल, बाला, झुम्का, 20मुकुट-घुम्टा, कल्ली, पटुका, अत्तरदानी र जन्तर, 21छाप-औँठी र नत्थ, 22सुन्दर पोशाक, अलखा, कोट र थैली, 23हाते-ऐना र मसिनो मलमल, मुकुट र दोसल्लाहरू हटाउनुहुनेछ।
24सुगन्धित मसलाको सट्टामा सड़ेको दुर्गन्ध हुनेछ, र पटुकाको सट्टामा डोरी, राम्ररी बाटेको कपालको सट्टामा मुडुली हुनेछ, सुन्दर वस्त्रको सट्टामा भाङ्ग्राको लुगा र सुन्दरताको सट्टामा डामै-डाम हुनेछ। 25तेरा मानिसहरू तरवारले मारिनेछन्, तेरा वीरहरू लड़ाइँमा नष्ट हुनेछन्। 26सियोनका मूल ढोकाहरूले विलाप गर्नेछन् र रुनेछन्। भूइँमा नाङ्गै बसेकी स्त्रीजस्तै त्यो सहर उजाड़ हुनेछ।
ISAIAH - 4:1-6,
1त्यस दिन सात जना स्त्रीहरूले एउटै मानिसलाई समातेर यसो भन्नेछन्, “हामी आफ्नै भोजन खानेछौं र आफ्नै लुगा जुटाउनेछौं, केवल तपाईं हाम्रा पति हुनुहोस्। हाम्रो अपमान तपाईंले हटाइदिनुहोस्।”
परमप्रभुको हाँगा
2त्यो दिन परमप्रभुको हाँगा फलदायक र महिमित हुनेछ, र इस्राएलका बाँचेकाहरूका निम्ति जमिनको फल गर्व र गौरवको हुनेछ। 3सियोनमा छोड़िएका र यरूशलेममा बाँकी रहेकाहरू, अर्थात् यरूशलेममा बस्नेहरू भनी दर्ता भएकाहरू पवित्र कहलाइनेछन्। 4परमप्रभुले सियोनका स्त्रीहरूको मैला धुनुहुनेछ, र उहाँले इन्साफको आत्मा र आगोको आत्माद्वारा यरूशलेमबाट रगतका दाग शुद्ध गर्नुहुनेछ। 5अनि परमप्रभुले सियोन पर्वतमाथि र त्यहाँ भेला हुनेहरूमाथि दिउँसो धूवाँको बादल र राती प्रज्वलित आगोको चमक सृष्टि गर्नुहुनेछ। सबैमाथि महिमा एउटा छत्र हुनेछ। 6दिनको गर्मीबाट जोगाउने शरण र छाया तथा आँधीबेहरी र वर्षाबाट जोगाउने एउटा आश्रय र लुक्ने ठाउँ त्यो हुनेछ।
ISAIAH - 5:1-30,
दाखबारीको गीत
1मैले प्रेम गरेको उनको दाखबारीको विषयमा म एउटा गीत गाउनेछु। एउटा अत्यन्त मलिलो डाँड़ामा मेरा प्रियको एउटा दाखबारी थियो। 2तिनले त्यो खने र त्यसका ढुङ्गाहरू टिपेर फ्याँके, र त्यसमा तिनले सबैभन्दा असल दाख रोपे। त्यसको माझमा तिनले एउटा मचान बनाए र त्यहाँ तिनले एउटा कोल पनि खोपे। तब असल दाख फल्छ कि भनेर तिनले आशा गर्न लागे, तर त्यसमा खराब दाख पो फल्यो।
3“अब हे यरूशलेमका बासिन्दाहरू र यहूदाका मानिसहरू हो, म र मेरो दाखबारीको बीचमा इन्साफ गरिदेओ। 4मेरो दाखबारीको निम्ति मैले नगरेको चाहिँ के रहेको होला, जो अरू बढ्ता मैले गर्नुपर्नेथियो? असल दाख पो फल्छ कि भनेर आशा गरेको त किन त्यसले खराब दाख मात्र फलायो? 5अब म मेरो दाखबारीलाई के गर्नेछु, सो तिमीहरूलाई भन्नेछु: म त्यसको बार उखेलिदिनेछु, र त्यो नष्ट हुनेछ। म त्यसको पर्खाल भत्काइदिनेछु, र त्यो कुल्चीमिल्ची गरिनेछ। 6त्यसलाई म उजाड़ भूमि पारिदिनेछु। त्यो न त छिमलिनेछ न गोड़िनेछ, तर त्यसमा सिउँड़ी र काँढ़ाहरू उम्रनेछन्। त्यसमा पानी नपरोस् भनेर बादललाई पनि म आज्ञा गर्नेछु।”
7सर्वशक्तिमान् परमप्रभुको दाखबारी इस्राएलको घराना हो, र यहूदाका मानिसहरू उहाँको आनन्दको बगैँचा हो। उहाँले न्यायको आशा गर्नुभयो, तर रक्तपात पो भयो, धार्मिकताको आशा गर्नुभयो, तर सङ्कष्टको रुवाबासी पो सुनियो।
धिक्कार र इन्साफ
8धिक्कार तिमीहरूलाई, जसले केही जग्गा नरहने गरी घरसित घर, र खेतसित खेत जोड्छौ र तिमीहरू देशको बीचमा एकलै बस्छौ।
9सर्वशक्तिमान् परमप्रभुले मैले सुन्ने गरी भन्नुभएको छ, “निश्चय नै ठूला-ठूला घरहरू उजाड़ हुनेछन्, र सुन्दर भवनहरू निर्जन हुनेछन्। 10पाँच बिघा दाखबारीले पाँच पाथी दाखमद्य, र पचास पाथी बीउले पाँच पाथी अन्न मात्र उब्जाउनेछ!”
11धिक्कार तिनीहरूलाई, जो मद्य पिउन बिहानै उठ्छन्, जो मातेर चूर हुन राती अबेरसम्म बस्छन्! 12तिनीहरूका भोजहरूमा वीणा, सारङ्गी, खैँजड़ी, बाँसुरी र मद्य हुन्छन्, तर तिनीहरू परमप्रभुका कामको वास्ता गर्दैनन्। तिनीहरू उहाँका हातको कामलाई आदरै गर्दैनन्। 13यसैकारण मेरा प्रजा असमझदारीको कारण कैदमा पर्नेछन्, र तिनीहरूका उच्च दर्जाकाहरू भोकले र तिनीहरूका भीड़हरू प्यासले पीडित हुनेछन्। 14यसैकारण चिहानले आफ्नो भोक बढ़ाएको छ र आफ्नो मुख आँ गरी बाएको छ। तिनीहरूका भारदारहरू र भीड़हरू, तिनीहरूका झगड़िया र हल्ला गर्नेहरू त्यहीँ भित्र पर्नेछन्। 15यसरी मानिस निहुराइनेछ, र मानिस-जाति विनम्र तुल्याइनेछ, र अभिमानीका आँखा झुकाइनेछन्। 16तर सर्वशक्तिमान् परमप्रभुको नाउँ इन्साफद्वारा उच्च हुनेछ, र पवित्र परमेश्वरले आफ्नो धार्मिकताद्वारा आफूलाई पवित्र देखाउनुहुनेछ। 17तब भेड़ाहरू आफ्नै खर्कमा झैँ चर्नेछन्, र थुमाहरूलेचाहिँ धनीहरूका अवशेषका बीचमा खानेछन्।
18धिक्कार तिनीहरूलाई, जसले पापलाई छलका डोरीले र दुष्ट्याइँलाई गाड़ा तान्ने डोरीहरूले झैँ तानेर ल्याउँछन्, 19तिनीहरूलाई जसले भन्छन्, “परमप्रभुले छिट्टै गरून्, उहाँले आफ्नो काम चाँड़ो गरून् र हामी हेरौं। त्यो नजिक आओस्, इस्राएलका परमपवित्रको योजना पूरा होस्, र हामी थाहा पाउन सकौं।”
20धिक्कार तिनीहरूलाई, जसले खराबलाई असल र असललाई खराब भन्दछन्, जसले अँध्यारोलाई उज्यालो र उज्यालोलाई अँध्यारो मान्दछन् अनि तीतोलाई मीठो र मीठोलाई तीतोको निम्ति लिन्छन्।
21धिक्कार तिनीहरूलाई, जो आफ्नै दृष्टिमा बुद्धिमान्, र आफ्नै नजरमा चलाक छन्। 22धिक्कार तिनीहरूलाई, जो दाखमद्य पिउनलाई वीर, र मद्य मिसाउनलाई निपुण छन्, 23जसले घूस लिएर दोषीहरूलाई छोड़िदिन्छन्, र निर्दोषहरूको ठीक न्याय गर्दैनन्।
24यसैकारण जसरी आगोको ज्वालाले पराललाई भस्म गर्दछ, र सुकेको घाँस ज्वालामा भस्म हुन्छ, त्यसै गरी तिनीहरूका जरा सड़ेर जानेछन्, र तिनीहरूका फूल धूलो उड़ेझैँ उड़ेर जानेछन्। किनभने तिनीहरूले सर्वशक्तिमान् परमप्रभुको व्यवस्थालाई इन्कार गरेका छन्, र इस्राएलका परमपवित्रको वचनलाई हेला गरेका छन्। 25यसकारण परमप्रभुको रीस आफ्ना प्रजामाथि उठेको छ। उहाँले आफ्नो हात तिनीहरूका विरुद्धमा उठाउनुभएको छ, र तिनीहरूलाई हिर्काउनुहुन्छ। डाँड़ाहरू हल्लिन्छन्, र मानिसहरूका लाश सड़कमा कसिङ्गरझैँ छन्।
यतिमा पनि उहाँको रीस मरेको छैन, र उहाँको हात अझैमाथि उठाइएकै छ।
26उहाँले टाढ़ाका जातिहरूका निम्ति एउटा झन्डा खड़ा गर्नुहुन्छ, उहाँले पृथ्वीका कुना-कुनामा बस्नेहरूलाई सुसेलीले बोलाउनुहुन्छ। तिनीहरू चाँड़ो र फूर्तिसित आउँछन्! 27तिनीहरूमध्ये कोही थाक्ने कि ठक्कर खानेछैनन्, कोही झुल्ने वा निदाउनेछैनन्। तिनीहरूका कम्मरको पटुका खुकुलो हुनेछैन, तिनीहरूका जुत्ताको फित्ता चुँड़िनेछैन। 28तिनीहरूका काँड़हरू तीखा-तीखा छन्, र धनुमा ताँदो चढ़ाएका हुनेछन्। तिनीहरूका घोड़ाका टाप चकमक ढुङ्गाजस्तै, र तिनीहरूका रथका चक्काहरू आँधीबेहरीजस्तै हुनेछन्। 29तिनीहरूको गर्जन सिंहको जस्तै छ, तिनीहरू जवान सिंहजस्तै गर्जन्छन्। तिनीहरूले शिकार समात्दा ङ्वारङ्वार गर्छन्। त्यसलाई तिनीहरूबाट छुटाउने कोही पनि हुनेछैन। 30त्यस दिन तिनीहरू समुद्र गर्जेझैँ त्यसमाथि गर्जनेछन्। यदि देशलाई कसैले हेर्यो भने, त्यहाँ अन्धकार र सङ्कष्ट मात्र त्यसले देख्नेछ, र उज्यालो पनि बादलले अँध्यारो पार्नेछ।
ISAIAH - 6:1-13,
यशैयालाई परमप्रभुको काममा बोलावट
1उज्जियाह राजा मरेको वर्षमा मैले परमप्रभुलाई अग्लो र उच्च सिंहासनमा विराजमान हुनुभएको देखें। उहाँको वस्त्रको छेउले मन्दिरै ढाकेको थियो। 2उहाँको मास्तिर सराफहरू खड़ा थिए— प्रत्येकका छ-छ वटा पखेटा थिए। दुई वटा पखेटाले तिनीहरूले आफ्नो मुख ढाकेका थिए, दुई वटाले आफ्ना खुट्टा ढाकेका थिए, र दुई वटाले तिनीहरू उड्दैथिए। 3अनि एउटाले अर्कालाई यसो भन्दै तिनीहरू पुकार्दैथिए:
“सर्वशक्तिमान् परमप्रभु, पवित्र,
पवित्र, पवित्र हुनुहुन्छ, सारा पृथ्वी
उहाँको महिमाले भरिपूर्ण छ।”
4तिनीहरूका सोरले ढोकाहरू र जगहरू हल्लिए, र मन्दिर धूवाँले भरियो।
5मैले भनें, “धिक्कार! म नष्ट भएँ, किनभने म अशुद्ध ओठ भएको मानिस हुँ, र अशुद्ध ओठ भएका मानिसहरूका बीचमा म बस्तछु, र मैले मेरा आँखाले सर्वशक्तिमान् परमप्रभु महाराजाधिराजलाई देखेको छु।”
6तब चिम्टाले वेदीबाट आगोको भुङ्ग्रो हातमा लिएर सराफहरूमध्ये एक जना मकहाँ उड़ेर आए। 7तिनले मेरो मुख त्यस भुङ्ग्रोले छोएर भने, “हेर, यसले तिम्रो ओठ छोएको छ। अब तिम्रो अधर्म मेटियो, र तिम्रो पापको प्रायश्चित भयो।”
8तब मैले परमप्रभुको यो आवाज सुनें, “म कसलाई पठाऊँ, र हाम्रा निम्ति को जाने?”
अनि मैले भनें, “म हाजिर छु। मलाई पठाउनुहोस्!”
9उहाँले मलाई भन्नुभयो, “जाऊ गएर यी मानिसहरूलाई भन,
“‘तिमीहरू सुन्न त सुन्छौ, तर बुझ्दैनौ,
तिमीहरू देख्न त देख्छौ, तर थाहा पाउँदैनौ’।
10यी मानिसहरूका हृदय कठोर,
र तिनीहरूका कान नसुन्ने पार, र तिनीहरूका आँखा बन्द गरिदेऊ,
नत्रता तिनीहरूले आफ्ना आँखाले देख्लान्,
र आफ्ना कानले सुन्लान्,
र तिनीहरूका हृदयले बुझ्लान्,
र फेरि फर्केर तिनीहरू निको होलान्।”
11तब मैले भनें “हे परमप्रभु कहिलेसम्म?” र उहाँले भन्नुभयो, “जबसम्म सहरहरू विनाश भएर बासिन्दाविनाका हुँदैनन्, र घरहरू निर्जन हुँदैनन्, र खेतहरूचाहिँ ध्वंस र नष्ट हुँदैनन्, 12जबसम्म परमप्रभुले हरेक मानिसलाई टाढ़ा पठाउनुहुन्न, र पूर्ण रूपमा देश परित्याग गरिँदैन। 13अनि यदि त्यस देशमा दशौँ भाग रह्यो भने त्यो फेरि पनि उजाड़ पारिनेछ। तर जसरी तारपीन र फलाँटका रूखहरू काटेर ढाले तापनि ठुटोचाहिँ रहिरहन्छन्, त्यसरी नै त्यस देशमा पवित्र बीउचाहिँ ठुटो हुनेछ।”
ISAIAH - 7:1-25,
इम्मानुएलको चिन्ह
1जब उज्जियाहका नाति, योतामका छोरा आहाज यहूदाका राजा थिए, तब अरामका राजा रसीन र इस्राएलका राजा रमल्याहका छोरा पेकह यरूशलेमको विरुद्धमा लड़ाइँ गर्न आए, तर उनीहरू विजयी हुन सकेनन्।
2अनि “एफ्राइमले अरामसित सन्धि गर्यो” भन्ने समाचार दाऊदको घरानाकहाँ पुग्यो। वनका रूखहरू बतासले हल्लाएझैँ गरी आहाज र तिनका प्रजाका मन कामे।
3तब परमप्रभुले यशैयालाई भन्नुभयो, “अब तँ आफ्नो छोरो शार्यासूबलाई लिएर धोबीको खेतको बाटोमा गएर माथिल्लो पोखरीको नहरको आखिरी भागमा आहाजसित भेट गर्, 4र त्यसलाई भन्, ‘होशियार होऊ, शान्त बस र तिमी नडराऊ। यी दुई धूवाँ उठ्ने अगुल्टा, रसीन र अरामको भयङ्कर रीस, र रमल्याहको छोराको कारण तिम्रो मन पनि कातर नहोस्। 5अराम, एफ्राइम र रमल्याहको छोराले मिलेर यसो भन्दै तिम्रो सर्वनाश गर्न षड्यन्त्र रचेका छन्, 6“हामीहरू यहूदामाथि आक्रमण गरौं। त्यसलाई टुक्रा-टुक्रा पारेर बाँड़ौं, र ताबेलका छोरालाई त्यसका राजा बनाऔं।”
7तापनि परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, “‘यो हुन नै सक्दैन, यो हुँदैन नै। 8किनकि अरामको शिर दमस्कस हो, र दमस्कसको शिर रसीन मात्रै हो। पैँसट्ठी वर्षभित्रैमा आफ्नो नाउँनिशानै मेटिने गरी एफ्राइम टुक्रा-टुक्रा पारिनेछ। 9एफ्राइमको शिर त सामरिया हो, र सामरियाको शिरचाहिँ रमल्याहको छोरो मात्र नै हो। यदि तिमीहरू आफ्नो विश्वासमा स्थिर भएनौ भने तिमीहरू खड़ा रहनै सक्नेछैनौ’।”
10फेरि परमप्रभुले आहाजलाई भन्नुभयो, 11“तल गहिरोभन्दा गहिरोबाट होस् वा माथिभन्दा माथिबाट होस्, परमप्रभु आफ्ना परमेश्वरसित कुनै एउटा चिन्ह माग्।”
12तर आहाजले भने, “म माग्नेछैनँ। म परमप्रभुको परीक्षा गर्नेछैनँ।”
13तब यशैयाले भने, “हे दाऊदका घराना, अब सुन! के मानिसहरूको धैर्यलाई जाँच्न यथेष्ट भएन? के तिमीहरू मेरा परमेश्वरको धैर्यलाई जाँच्छौ? 14यसैकारण परमप्रभु आफैले तिमीहरूलाई एउटा चिन्ह दिनुहुनेछ। हेर, कन्याले गर्भधारण गर्नेछिन्, र तिनले एउटा पुत्र जन्माउनेछिन्, र उहाँको नाउँ इम्मानुएल राखिनेछ। 15खराबलाई इन्कार गर्न र असललाई छान्न जानेपछि उहाँले दही र मह खानुहुनेछ। 16तर बालकले खराबलाई इन्कार गर्न र असललाई छान्न अघि त्यो देश उजाड़ पारिनेछ, जसका दुई राजाहरूदेखि तिमीहरू डराएका छौ। 17परमप्रभुले तिमीमाथि, तिम्रा प्रजामाथि र तिम्रा पिताका परिवारमाथि यस्तो दिन ल्याउनुहुनेछ कि एफ्राइम यहूदादेखि छुट्टिएपछि यसो कहिल्यै आइलागेको थिएन, अर्थात् उहाँले अश्शूरका राजालाई यस देशमा ल्याउनुहुनेछ।”
18त्यो दिन परमप्रभुले मिश्रदेशका टाढ़ाका खोलाहरूबाट झीँगाहरू र अश्शूर देशका मौरीहरूलाई सुसेलीले बोलाउनुहुनेछ। 19तिनीहरू आएर जम्मै साँघुरा भीरहरू, चट्टानका धाँदाहरू, सबै काँढ़ाघारी र सबै पानीको भ्वाङ्ग हुँदो बस्नेछन्। 20त्यो दिन परमप्रभुले यूफ्रेटिस नदी पारिबाट लिएको छुरा, अर्थात् अश्शूरका राजाद्वारा तिनीहरूका शिर र खुट्टाका रौँ खौरिदिनुहुनेछ, र दाह्री पनि खौरिदिनुहुनेछ।
21त्यो दिन एउटा मानिसले एउटा कोरली र दुई वटा बाख्रा पाल्नेछ, 22अनि तिनीहरूले दिएको प्रशस्त दूधको कारण खानलाई दही पनि हुनेछ। देशमा छोड़िएका सबैले दही र मह खानेछन्। 23त्यो दिन हजार शेकेल चाँदी दाम पर्ने हजार दाखका बोटहरू भएको बारीमा सिउँड़ी र काँढ़ा मात्र हुनेछन्। 24सिउँड़ी र काँढ़ा भएकोले गर्दा त्यहाँ मानिसहरू काँड़-धनु लिएर जानेछन्। 25कोदालोले खन्ने सबै डाँड़ाहरूमा चाहिँ सिउँड़ी र काँढ़ाको डरले तिमीहरू त्यहाँ फेरि जानेछैनौ, तर ती ठाउँहरू गाई-गोरु चर्ने ठाउँ र भेड़ाहरू कुदिहिँड्ने ठाउँ हुनेछन्।
ISAIAH - 8:1-22,
परमप्रभुको हतियार, अश्शूर देश
1परमप्रभुले मलाई भन्नुभयो, “आफ्नो निम्ति एउटा ठूलो कागतको मुट्ठा ले, र त्यसमा साधारण कलमले ‘महेर-शालल-हाज-बज’ भनेर लेख्। 2अनि म यसलाई पक्का गर्नलाई मेरा दुई विश्वासयोग्य गवाहहरू, अर्थात् उरियाह पूजाहारी र येबेरक्याहको छोरो जकरियालाई बोलाउनेछु।”
3तब मेरी पत्नी अगमवादिनीकहाँ म गएँ, र तिनी गर्भवती भएर एक जना छोरो जन्माइन्। अनि परमप्रभुले मलाई भन्नुभयो, “त्यसको नाउँ महेर-शालल-हाज-बज राख्। 4बालकले ‘मेरा बुबा’ र ‘मेरी आमा’ भन्न जान्न अघि नै दमस्कसको धन र सामरियाको लूट अश्शूरका राजाले लैजानेछ।”
5परमप्रभुले मलाई फेरि यसो भन्नुभयो, 6“यस प्रजाले शान्तिसित बग्ने शीलोको पानीलाई तिरस्कार गरी रसीन र रमल्याहको छोरामा आनन्द मनाएको कारणले, 7अब हेर्, परमप्रभुले यूफ्रेटिसका पानीको भल, अर्थात् अश्शूरको राजा र त्यसका रवाफसहित तिनीहरूका विरुद्धमा ल्याउन लाग्नुभएको छ। त्यसका सबै नहरमाथि त्यो उर्लेर आउनेछ र त्यसका सबै किनारमाथि बग्नेछ। 8त्यो बाढ़ीझैँ अगाड़ि बढ़ेर यहूदासम्मै बग्नेछ। त्यो त्यसको घिच्रैसम्म पुग्नेछ। त्यसको फिँजाइएका पखेटाले तेरो देशलाई ढाक्नेछ, हे इम्मानुएल!”
9हे जातिहरू हो, युद्धको नारा लगाओ र चकनाचूर होओ! सुन, हे टाढ़ा-टाढ़ा देश हो, लड़ाइँको लागि तयार होओ, र चकनाचूर होओ! लड़ाइँको लागि तयार होओ, र चकनाचूर होओ! 10युद्धको युक्ति रचना गर, तर त्यो विफल हुनेछ। तिमीहरूका उपाय प्रस्ताव गर, तर त्यो ठहर्नेछैन, किनकि परमेश्वर हामीसित हुनुहुन्छ।
परमप्रभुको भय मान
11यस प्रजाको मार्गमा नहिँड्नलाई परमप्रभुले मलाई चेताउनी दिँदै आफ्नो बलियो हात ममाथि राखेर मलाई यसो भन्नुभयो, 12“जुन कुरालाई यी मानिसहरू षड्यन्त्र भन्छन्, त्यसलाई तैंले षड्यन्त्र नभन्, र जे कुरादेखि तिनीहरू डराउँछन् त्यसदेखि तँ नडरा, त्यसदेखि भयभीत नहो। 13सर्वशक्तिमान् परमप्रभुलाई नै तैंले पवित्र ठान्नू, र उहाँकै भय तैंले मान्नू, उहाँसँग नै तँ डराउनू। 14र उहाँ नै तेरो वासस्थान हुनुहुनेछ, तर इस्राएलका दुवै घरानाका निम्ति उहाँ एउटा ढुङ्गा हुनुहुनेछ, जसले मानिसहरूलाई ठेस खान लगाउँछ, एउटा चट्टान, जसले तिनीहरूलाई लोट्न लगाउँछ। अनि उहाँ यरूशलेमका मानिसहरूका निम्ति धराप र पासो हुनुहुनेछ। 15धेरै जना ठेस खानेछन्, तिनीहरू लोट्नेछन् र टुक्रा-टुक्रा हुनेछन्, तिनीहरू पासोमा पर्नेछन् र पक्राउ पर्नेछन्।”
16यो गवाही-पत्र बाँधिदेऊ र यो व्यवस्था मेरा चेलाहरूका बीचमा बन्द गरेर त्यसमा मोहोर लगाइदेऊ। 17याकूबको घरानादेखि आफ्नो मुख लुकाउनुहुने परमप्रभुको म प्रतीक्षा गर्नेछु, र उहाँमा नै म मेरो भरोसा राख्नेछु।
18म र परमप्रभुले मलाई दिनुभएका छोराछोरीहरू यहीँ नै छौं। सियोन पर्वतमा विराजमान हुनुहुने सर्वशक्तिमान् परमप्रभुतर्फबाट इस्राएलमा हामी चिन्ह र लक्षण हौं।
19जब मानिसहरूले तिमीहरूलाई भूतप्रेत खेलाउने र तन्त्रमन्त्र गर्ने धामीझाँक्रीसँग सल्लाह लेओ भनी भन्लान्, तब के मानिसहरूले आफ्ना परमेश्वरकहाँ गएर सोध्नुपर्दैन र? जीवितहरूका विषयमा मरेकाहरूलाई किन सोध्ने? 20व्यवस्था र गवाहीकहाँ जाओ! यदि तिनीहरू यस वचनअनुसार बोलेनन् भने तिनीहरूसित बिहानको मिरमिरे उज्यालो पनि छैन। 21तिनीहरू कष्टित र भोका भएर देशमा घुमिहिँड्नेछन्। जब तिनीहरू अत्यन्तै भोका हुन्छन्, तब तिनीहरू रिसाउनेछन्, र मास्तिर हेरी आफ्ना राजा र आफ्ना परमेश्वरलाई सराप्नेछन्। 22तब तिनीहरूले पृथ्वीतिर हेर्नेछन्, तर त्यहाँ दु:ख, अन्धकार र डरलाग्दो नैराश्य मात्र देख्नेछन्। अनि तिनीहरू घोर अन्धकारमा जाकिनेछन्।
ISAIAH - 9:1-21,
हाम्रा निम्ति जन्मेको एक जना बालक
1तापनि सङ्कष्ट परेकाहरूका निम्ति नैराश्य हुनेछैन। पहिले त उहाँले जबूलूनको देश र नप्तालीको देशलाई नम्र तुल्याउनुभयो, तर भविष्यमा उहाँले यर्दनका किनारको समुद्र नजिकैको अन्यजातिहरूको गालीललाई सम्मानित तुल्याउनुहुनेछ।
2अन्धकारमा हिँड्ने मानिसहरूले एउटा ठूलो ज्योति देखेका छन्। मृत्युको छायाको देशमा बस्नेहरूमाथि एउटा ज्योति उदाएको छ। 3तपाईंले त्यस जातिको वृद्धि गराउनुभएको छ र तपाईंले तिनीहरूका आनन्द बढ़ाउनुभएको छ। कटनीको बेलामा मानिसहरू रमाएझैँ तिनीहरू तपाईंको सामुन्ने रमाउनेछन्, र लूटका माल बाँड्दा मानिसहरू खुशी भएझैँ तिनीहरू खुशी हुन्छन्। 4किनकि तपाईंले त्यसको बोझाको जुवा र त्यसको काँधको नोल, र त्यसलाई अत्याचार गर्नेको लाठो मिद्यानको हारको दिनमा भएझैँ चकनाचूर पारिदिनुभएको छ। 5लड़ाइँमा प्रयोग गरेको हरेक सिपाहीका जुत्ता र रगतमा मुछिएको हरेक पोशाक जलाउनलाई छुट्याइएको हुनेछ र आगोको निम्ति इन्धन हुनेछ।
6किनभने हाम्रा निम्ति एक जना बालकको जन्म भएको छ। हाम्रा निम्ति एक जना छोरो दिइएको छ। शासन उहाँको काँधमा हुनेछ। उहाँ अचम्मका सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्तका पिता, शान्तिका राजकुमार कहलाइनुहुनेछ। 7उहाँको शासन र शान्तिका वृद्धिको अन्त कहिल्यै हुनेछैन। दाऊदको सिंहासन र तिनको राज्यमाथि त्यसलाई न्याय र धार्मिकताको साथ स्थापित गरी स्थिर गराउन, त्यस बेलादेखि सदाको निम्ति उहाँले राज्य गर्नुहुनेछ। सर्वशक्तिमान् परमप्रभुको जोशले यो पूरा गर्नेछ।
इस्राएलमाथि परमप्रभुको क्रोध
8परमप्रभुले याकूबको विरुद्धमा यो सन्देश पठाउनुभएको छ, र त्यो इस्राएलमाथि पर्नेछ। 9सारा मानिसहरू, अर्थात् एफ्राइम र सामरियाका मानिसहरूले त्यो जान्नेछन्, जसले अहङ्कार र हृदयको घमण्डसित भन्दछन्, 10“इँटहरू त ढलेका छन्, तर हामीहरू कुँदेका ढुङ्गाहरूले फेरि बनाउनेछौं। अञ्जीरका रूखहरू काटी ढालिएका छन्, तर हामी तिनका सट्टामा देवदारु लगाउनेछौं।” 11तर परमप्रभुले तिनीहरूका विरुद्धमा रसीनका शत्रुहरूलाई बलिया तुल्याउनुभएको छ, र तिनीहरूका शत्रुहरूलाई सुर्याउनुभएको छ। 12अरामीहरूले पूर्वतिर र पलिश्तीहरूले पश्चिमतिरबाट मुख बाएर इस्राएललाई निलेका छन्।
यतिमा पनि उहाँको रीस मरेको छैन, र उहाँको हात अझै माथि उठाइएकै छ।
13तर मानिसहरू तिनीहरूलाई हिर्काउने व्यक्तितर्फ फर्केका छैनन्, न त तिनीहरूले सर्वशक्तिमान् परमप्रभुलाई खोजेका छन्। 14यसैकारण परमप्रभुले इस्राएलबाट शिर र पुच्छर, खजूरका हाँगा र नर्कट एकै दिनमा काट्नुहुनेछ। 15वृद्ध र आदरणीय मानिसहरू शिर हुन्, तथा झूटा कुरा सिकाउने अगमवक्ताहरूचाहिँ पुच्छर हुन्। 16यस प्रजालाई अगुवाइ गर्नेहरूले तिनीहरूलाई भ्रममा पार्छन्। तिनीहरूबाट डोर्याइएकाहरूचाहिँ बरालिएका छन्। 17यसकारण तिनीहरूका जवान मानिसहरूदेखि परमप्रभु प्रसन्न हुनुहुन्न, न त उहाँले तिनीहरूका टुहुरा-टुहुरी र विधवालाई टिठ्याउनुहुनेछ। किनकि हरेक व्यक्ति ईश्वरहीन र दुष्ट छ। हरेकको मुखबाट खराब कुरा निस्कन्छ।
यतिमा पनि उहाँको रीस मरेको छैन, र उहाँको हात अझै माथि उठाइएकै छ।
18निश्चय नै आगोझैँ खराबी बल्छ, त्यसले सिउँड़ी र काँढ़ाहरू भस्म पार्छ। त्यसले वनका झाड़ीहरूलाई जलाउँछ, र ती धूवाँको बाक्लो मुस्लो भएर माथितिर बटारिँदैजान्छन्। 19सर्वशक्तिमान् परमप्रभुको क्रोधले देश भस्म हुनेछ। मानिसहरू पनि आगोको निम्ति इन्धन हुनेछन्। कुनै मानिसले आफ्नो भाइलाई पनि छोड्नेछैन। 20दाहिनेपट्टि तिनीहरूले निल्नेछन् र पनि भोकै हुनेछन्। तिनीहरूले देब्रेपट्टि खानेछन्, तरै पनि सन्तुष्ट हुनेछैनन्। हरेकले आफ्नै सन्तानको मासु खानेछ, 21मनश्शेले एफ्राइमलाई र एफ्राइमले मनश्शेलाई खानेछ, र तिनीहरू दुवै यहूदाको विरुद्धमा हुनेछन्।
यतिमा पनि उहाँको रीस मरेको छैन, र उहाँको हात अझै माथि उठाइएकै छ।
ISAIAH - 10:1-34,
1धिक्कार तिनीहरूलाई, जसले अन्यायी व्यवस्था बनाउँछन्, तिनीहरूलाई जसले अत्याचारी विधि निकाल्छन्। 2गरीबहरूका हक खोस्न र थिचोमिचोमा परेका मेरा प्रजाहरूका न्याय नगर्न, विधवाहरूलाई शिकार बनाउन र टुहुरा-टुहुरीहरूका धन लुट्नलाई तिनीहरूले यसो गर्छन्। 3लेखा दिनुपर्ने दिन र टाढ़ाबाट आउने आपत्ति आउँदा तिमीहरू के गर्नेछौ? तिमीहरू सहायताको निम्ति कसकहाँ जानेछौ? तिमीहरू आफ्ना धनहरू कहाँ छोड्नेछौ? 4कैदीहरूका साथसाथै खुम्चिनु र मारिएकाहरूका माझमा लोट्नुबाहेक अरू केही रहनेछैन।
यतिमा पनि उहाँको रीस मरेको छैन, र उहाँको हात अझै माथि उठाइएकै छ।
अश्शूरमाथि परमेश्वरको इन्साफ
5“धिक्कार अश्शूरीलाई, मेरो रीसको लाठो, जसको हातमा मेरो क्रोधको लहुरो छ! 6लूटको माल खोस्न र लूटपीट गरी ध्वस्त गर्न र सड़कहरूको हिलोझैँ कुल्चीमिल्ची गर्नलाई ईश्वर नमान्ने जाति तथा मलाई रीस उठाउने मानिसहरूको विरुद्धमा मैले त्यसलाई हतपतसाथ पठाएको छु। 7तर त्यसको यस्तो इच्छा छैन। त्यसको मनमा यस्तो विचार छैन। तर त्यसको अभिप्राय त सर्वनाश गर्ने, र धेरै जातिहरूलाई खतम गरिदिने विचार छ। 8त्यसले भन्छ, ‘के मेरा सेनापतिहरू सबै राजा होइनन् र? 9के कल्नोले कर्कमीशजस्तै भोगेन र? के हमात अर्पादजस्तै र सामरिया दमस्कसजस्तै छैन र? 10जसरी मेरो हातले मूर्तिहरूका राज्यहरूलाई कब्जा गर्यो, जसको खोपेर बनाएका मूर्तिहरू यरूशलेम र सामरियाका मूर्तिहरूभन्दा धेरै थिए, 11त के मैले सामरिया र त्यसका मूर्तिहरूलाई व्यवहार गरेझैँ यरूशलेम र त्यसका मूर्तिहरूलाई व्यवहार नगर्ने’?”
12जब परमप्रभुले सियोन पर्वत र यरूशलेमको विरुद्धमा आफ्ना सारा काम गरिसक्नुहुन्छ, तब उहाँले भन्नुहुनेछ, “म अश्शूरका राजाको हृदयको स्वेच्छाचारी अभिमान र घमण्डी आँखाको कारण त्यसलाई दण्ड दिनेछु। 13किनकि त्यसले भन्छ, ‘मेरै हातको बल र मेरै बुद्धिमानीले मैले यो गरेको हुँ, किनकि मेरो समझशक्ति छ। मैले जाति-जातिको सिमाना हटाएँ, र तिनीहरूका भण्डारहरू लुटेको छु। एउटा पराक्रमी व्यक्तिझैँ मैले तिनीहरूका राजाहरूलाई दमन गरेको छु। 14कसैले चराको गुँड़मा हात लम्काएझैँ मेरो हात जाति-जातिहरूका धन-सम्पत्तिसम्म पुगेको छ। छोड़िराखेका अण्डालाई कसैले बटुलेझैँ मैले सबै देशहरूलाई बटुलें। तर त्यहाँ कसैले एउटै पखेटा चलाएन अथवा चूँ-चूँ चीँ-चीँ कसैले गरेन’।”
15के बन्चरोले त्यसलाई चलाउनेको विरुद्धमा आफूलाई उच्च पार्छ? अथवा के आराले त्यसलाई चलाउनेको विरुद्धमा आफ्नो बड़प्पन देखाउँछ? यो त लहुरो आफैले पो त्यसलाई उठाउनेलाई मच्चाएझैँ, अथवा लहुरो आफैले त्यसलाई उठाउने मानिस, जो काठ होइन, उसलाई मच्चाएझैँ हुन्छ! 16यसैकारण परमप्रभु, सर्वशक्तिमान् परमप्रभुले त्यसका बलिया योद्धाहरूका बीचमा सोतर पार्ने रोग पठाउनुहुनेछ, र त्यसको गौरवमुनि दन्केको आगो सल्कनेछ। 17इस्राएलका ज्योति आगो र त्यसका परमपवित्र ज्वाला हुनुहुनेछ, र त्यसले त्यसका काँढ़ा र सिउँड़ीहरू एकै दिनमा जलाएर भस्म पार्नेछ। 18त्यसका वन र मलिला खेतको शोभा सम्पूर्ण रीतिले भस्म हुनेछ। त्यो रोगले सुक्दैगएको मानिसझैँ हुनेछ। 19त्यसका वनका बचेका रूखहरूचाहिँ यति थोरै हुनेछन् कि एउटा बालकले पनि ती गनेर लेख्न सक्छ।
इस्राएलको बाँकी भाग
20त्यो दिन इस्राएलका बचेको भाग, याकूबका घरानाका बाँचेकाहरूले फेरि आफूलाई प्रहार गर्नेमाथि भर पर्नेछैनन्, तर इस्राएलका परमपवित्र अर्थात् परमप्रभुमाथि नै साँच्चै भर पर्नेछन्। 21बचेका भाग, अर्थात् याकूबको बचेको भाग शक्तिशाली परमेश्वरतर्फ फर्कनेछ। 22हे इस्राएल, तिमीहरूका मानिसहरू समुद्रका बालुवाझैँ भए तापनि केवल एउटै बचेको भाग मात्र फर्कनेछ। सर्वनाश त प्रचुरता र धार्मिकतासित ठहराइएको छ। 23परमप्रभु, सर्वशक्तिमान् परमप्रभुले सारा देशमाथि ठहराएअनुसारको सर्वनाश ल्याउनुहुनेछ।
24यसैकारण परमप्रभु, सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, “हे सियोनमा बस्ने मेरा प्रजा हो, अश्शूरीहरूसित नडराओ, जसले तिमीहरूलाई एउटा लाठोले हिर्काए र मिश्रले गरेझैँ एउटा लहुरो तिमीहरूका विरुद्धमा चलाए। 25तिमीहरूको विरुद्धमा उठेको मेरो रीस चाँड़ै शान्त हुनेछ, र तिनीहरूका सर्वनाशको निम्ति मेरो क्रोध तिनीहरूतिर फर्कनेछ।”
26सर्वशक्तिमान् परमप्रभुले ओरेबको चट्टानमा मिद्यानलाई हिर्काएर लड़ाएजस्तै तिनीहरूलाई एउटा कोर्राले पिट्नुहुनेछ। उहाँले मिश्रदेशमा उठाएझैँ आफ्नो लहुरो पानीमाथि उठाउनुहुनेछ। 27त्यो दिन तिनीहरूको बोझा तिमीहरूका काँधबाट, र तिनीहरूको जुवा तिमीहरूका घिच्राबाट उठाइनेछ, र तिमीहरू मोटाएको कारण जुवा भाँचिनेछ।
28तिनीहरू अय्यातभित्र पस्छन्। तिनीहरू मिग्रोनबाट भएर जान्छन्। मिकमाशमा तिनीहरूले आफ्नो सामान सञ्चय गर्छन्। 29तिनीहरू घाटीबाट भएर जान्छन् र भन्छन्, “हामी गेबामा वास बस्नेछौं।” रामा थरथराउँछ, शाऊलको गिबा भाग्छ। 30हे गल्लीमकी छोरी, आफ्नो उच्च सोरले करा! ए लैशा, ध्यान दिएर सुन्! बिचरा अनातोत! 31मदमेना भगुवा भएको छ, गेबीमका मानिसहरू लुक्छन्। 32आज नै नोबमा तिनीहरू अड़िनेछन्। सियोनकी छोरीको पर्वत, यरूशलेमको डाँड़ामा तिनीहरूले मुक्का देखाउनेछन्।
33हेर, परमप्रभु, सर्वशक्तिमान् परमप्रभुले ठूलो शक्तिले ससाना हाँगाहरू लाछ्नुहुनेछ। त्यसका अल्गा-अल्गा रूखहरू ढालिनेछन्, र अल्गाहरू होच्याइनेछन्। 34उहाँले वनका झाड़ीहरूलाई बन्चरोले काट्नुहुनेछ, र पराक्रमी जनको सामुन्ने लेबनान ढल्नेछ।
ISAIAH - 11:1-16,
यिशैबाट निस्केको हाँगा
1यिशैको ठुटाबाट एउटा टुसा निस्कनेछ, त्यसका जराहरूबाट निस्केको हाँगाले फल फलाउनेछ। 2परमप्रभुका आत्मा उहाँमा रहनुहुनेछ— बुद्धि र समझका आत्मा, सल्लाह र शक्तिका आत्मा, ज्ञान र परमप्रभुको भयको आत्मा 3अनि परमप्रभुको भयमा नै उहाँ प्रसन्न हुनुहुनेछ।
आँखाले देखेर उहाँले इन्साफ गर्नुहुनेछैन, र कानले सुनेर मात्र निर्णय गर्नुहुनेछैन। 4तर खाँचोमा परेकाहरूको न्याय उहाँले धार्मिकतासित गर्नुहुनेछ, र पृथ्वीका गरीबहरूका लागि उहाँले न्यायसित फैसला गरिदिनुहुनेछ। आफ्नो मुखको लाठोले उहाँले पृथ्वीलाई हिर्काउनुहुनेछ, र आफ्नो ओठको सासले दुष्टलाई नाश गर्नुहुनेछ। 5उहाँको पेटी धार्मिकता हुनेछ, र उहाँको कम्मरको पटुका सत्यता हुनेछ।
6ब्वाँसोचाहिँ थुमासित बस्नेछ, र चितुवा पाठासित सुतेर बस्नेछ। बाछा, सिंह र एक वर्षे पशु एकैसाथ रहनेछन्, र एउटा सानो बालकले तिनीहरूलाई डोर्याउनेछ। 7गाई र भालू एकैसाथ चर्नेछन्, र तिनीहरूका बच्चाहरू एकैसाथ ढल्केर बस्नेछन्। र सिंहले गोरुले झैँ पराल खानेछ। 8दूधे-बालकले गोमन सर्पको कुरको नजिक खेल्नेछ, र भर्खर दूध छोड़ेको बालकले विषालु सर्पको दुलोमा आफ्नो हात हाल्नेछ। 9तिनीहरूले मेरा सबै पवित्र पर्वतमा न त केही हानि न नोक्सानी गर्नेछन्, किनकि समुद्र पानीले भरिएझैँ पृथ्वी परमप्रभुको ज्ञानले भरिपूर्ण हुनेछ।
इस्राएल र यहूदाको विजयसाथ आगमन
10त्यस दिन मानिसहरूका निम्ति यिशैको वंशबाट एउटा झन्डाजस्तै खड़ा हुनेछ। जाति-जातिहरू उहाँकहाँ भेला हुनेछन्, र उहाँको विश्रामको स्थान महिमामय हुनेछ। 11त्यस दिन परमप्रभुले अश्शूर, तल्लो र माथिल्लो मिश्र, कूश, एलाम, बेबिलोनिया, हमात र समुद्रका टापूहरूबाट आफ्ना प्रजाको बाँकी रहेको भागलाई छुटाउनलाई आफ्नो हात फेरि दोस्रो पल्ट पसार्नुहुनेछ।
12उहाँले जाति-जातिहरूका निम्ति एउटा झन्डा खड़ा गर्नुहुनेछ, र इस्राएलका निकालिएकाहरूलाई र यहूदाका छरपष्ट भएकाहरूलाई पृथ्वीको चारै दिशाबाट भेला गराउनुहुनेछ। 13एफ्राइमको शेखी झर्नेछ, र यहूदाका शत्रुहरू नष्ट हुनेछन्। एफ्राइमले यहूदासँग डाह गर्नेछैन, न त यहूदा एफ्राइमको शत्रु हुनेछ। 14तिनीहरू पश्चिमतिर पलिश्त देशको भिरालोमा वेग हानेर जानेछन्। तिनीहरूले मिलेर पूर्वका मानिसहरूलाई लुट्नेछन्। तिनीहरूले एदोम र मोआबमाथि हात हाल्नेछन्, र अम्मोनीहरू तिनीहरूका अधीनमा हुनेछन्। 15परमप्रभुले मिश्रदेशको समुद्रको खाड़ीलाई बिलकुलै सुकाउनुहुनेछ। उहाँले यूफ्रेटिस नदीमाथि लूहसित आफ्नो हात चलाउनुहुनेछ, र त्यसलाई सातवटा खोलाहरूमा विभाजन गर्नुहुनेछ र त्यसमा मानिसहरू जुत्ता लाएर सुक्खै तरेर जानेछन्। 16आफ्ना प्रजाका बाँचेको भागको निम्ति अश्शूरबाट आउनलाई एउटा यस्तो मूलबाटो हुनेछ, जस्तो मिश्रदेशबाट आउँदा इस्राएलको निम्ति भएको थियो।
ISAIAH - 12:1-6,
प्रशंसाका भजनहरू
1त्यस दिन तिमीहरू भन्नेछौ,
“हे परमप्रभु, म तपाईंको प्रशंसा गर्नेछु, तपाईं रिसाउनुभए तापनि तपाईंको रीस अब मर्यो,
र तपाईंले अब मलाई सान्त्वना दिनुभएको छ।
2निश्चय नै परमेश्वर मेरा उद्धार हुनुहुन्छ। म विश्वास गर्नेछु र म डराउनेछैनँ। परमप्रभु, परमप्रभु नै मेरा शक्ति र भजन हुनुहुन्छ। उहाँ नै मेरा उद्धार हुनुभएको छ।”
3आनन्दसित तिमीहरूले उद्धारको इनारबाट पानी भर्नेछौ।
4त्यस दिन तिमीहरूले भन्नेछौ,
“परमप्रभुलाई धन्यवाद देओ। उहाँको नाउँको पुकारा गर। उहाँले के गर्नुभएको छ जाति-जातिहरूका बीचमा प्रचार गर। अनि उहाँको नाउँ उच्च पारिएको छ भनी घोषणा गर।
5परमप्रभुको भजन गाओ, किनकि उहाँले महिमापूर्ण कामहरू गर्नुभएको छ। सारा पृथ्वीले यो कुरा जानून्।
6हे सियोनका मानिस हो, उच्च सोरले कराओ, र आनन्दले गाओ,
किनकि तिमीहरूका बीचमा इस्राएलका परमपवित्र महान् हुनुहुन्छ।”
ISAIAH - 13:1-22,
बेबिलोनका विरुद्धमा अगमवाणी
1बेबिलोनको विषयमा आमोजका छोरा यशैयाले दर्शनमा पाएको ईश्वरवाणी:
2नाङ्गो डाँड़ामा एउटा झन्डा खड़ा गर। तिनीहरूलाई उच्च सोरले कराऊ र भारदारहरूका मूल ढोकामा पस्न इशारा गर। 3मेरा पवित्र जनहरूलाई मैले आज्ञा गरेको छु। मेरो रीस पोखाउन मेरा योद्धाहरूलाई मैले हुकुम दिएको छु। तिनीहरू मेरो विजयमा आनन्दित हुन्छन्। 4सुन, पर्वतहरूमा भएको हल्ला, भीड़को हल्लाजस्तै ठूलो। सुन, राज्यहरूका माझमा भएको कोलाहल, जाति-जातिहरू एकसाथ जम्मा हुँदा भएको होहल्लाझैँ। सर्वशक्तिमान् परमप्रभुले लड़ाइँको निम्ति सेना जम्मा गर्दैहुनुहुन्छ। 5परमप्रभु र उहाँका रीसका हतियारहरू टाढ़ा देश, आकाशको पल्लो छेउदेखि सारा देशलाई नाश गर्न आउँछन्।
6डाँको छोड़ी-छोड़ी रोऊ, किनकि परमप्रभुको दिन नजिक छ। सर्वशक्तिमान्को तर्फबाट भयङ्कर सर्वनाशको रूपमा त्यो आउनेछ। 7यसकारणले गर्दा सबै हातहरू कमजोर हुनेछन्, सबै मानिसहरूको मुटुले ठाउँ छोड्नेछ। 8तिनीहरू डराउनेछन्। पीडा र वेदनाले तिनीहरूलाई छोप्नेछ, सुत्केरी स्त्रीलाई पीडा भएझैँ तिनीहरू पीडाले व्याकुल हुनेछन्। तिनीहरू एक-अर्कालाई चकित भई हेर्नेछन्। तिनीहरूको अनुहार आगोको ज्वालाझैँ हुनेछ।
9हेर, परमप्रभुको दिन देशलाई उजाड़ पार्न र त्यहाँ भित्र भएका पापीहरूलाई त्यहाँबाट सर्वनाश गर्न, क्रोध र भयानक रीसको साथ निष्ठुर दिन आइरहेछ। 10आकाशका ताराहरू र तिनका तारापुञ्जले आफ्नो चमक दिनेछैनन्। सूर्य पनि उदय हुँदाहुँदै अँध्यारो हुनेछ, र चन्द्रमाले ज्योति दिनेछैन। 11म संसारलाई त्यसको दुष्ट्याइँको निम्ति र दुष्टलाई तिनीहरूका अधर्मको निम्ति दण्ड दिनेछु। म अहङ्कारीको घमण्डको अन्त गर्नेछु, र निष्ठुरहरूको शेखी झार्नेछु। 12म मान्छेलाई निखुर सुनभन्दा दुर्लभ र ओपीरको सुनभन्दा पनि अझ अप्राप्य बनाउनेछु। 13यसैकारण उहाँको ज्वलन्त रीसको दिनमा म आकाशलाई थरथर काम्ने तुल्याउनेछु, र सर्वशक्तिमान् परमप्रभुको क्रोधमा पृथ्वी त्यसको ठाउँमा हल्लिनेछ।
14तिनीहरू खेदिएको हरिणझैँ, र गोठालोविनाका भेड़ाहरूझैँ, हरेक मानिस आफ्नै मानिसकहाँ फर्केर जानेछ, र हरेक मानिस आफ्नै स्वदेशमा भागी जानेछ। 15भेटिएको हरेक मानिस रोपिनेछ, र पक्रिएका सबै तरवारले ढालिनेछन्। 16तिनीहरूका बालकहरू तिनीहरूकै आँखाको सामुन्ने पछारिएर चिल्लिबिल्ली पारिनेछन्। तिनीहरूका घर लुटिनेछन्, र तिनीहरूका पत्नीहरू भ्रष्ट पारिनेछन्।
17हेर, म मादीहरूलाई तिनीहरूका विरुद्धमा उठाउनेछु, जुनहरू चाँदीको परवाह गर्दैनन्, र सुनको लालच पनि गर्दैनन्। 18उनीहरूका काँड़हरूले जवान मानिसहरूलाई हिर्काएर ढाल्नेछन्। उनीहरूले शिशुहरूलाई दया गर्नेछैनन्, न त उनीहरूले केटाकेटीहरूलाई दयाको दृष्टिले हेर्नेछन्। 19राज्यहरूको रत्न बेबिलोनलाई, जसमाथि बेबिलोनीहरू गर्व गर्दछन्, सदोम र गमोरालाई जस्तै परमेश्वरले उल्टाइदिनुहुनेछ। 20त्यहाँ कहिल्यै कोही बस्नेछैन, पुस्तौँसम्म त्यहाँ कोही बस्नेछैन। कुनै अरबीले त्यहाँ आफ्नो पाल टाँग्नेछैन। कुनै गोठालाले आफ्नो बगाल त्यहाँ विश्राम गर्न दिनेछैन। 21तर जङ्गली जनावरहरूले त्यहाँ विश्राम गर्नेछन्। तिनका घरहरू स्यालहरूले भरिनेछन्। लाटोकोसेराहरू त्यहाँ बस्नेछन्, र जङ्गली बाख्राहरू त्यहाँ उफ्रँदै खेल्नेछन्। 22हुँड़ारहरू तिनका किल्लाहरूमा र स्यालहरू तिनका सुन्दर-सुन्दर महलहरूमा कराउनेछन्। त्यसको समय नजिकै आएको छ, र त्यसको दिन अब धेरै छैन।
ISAIAH - 14:1-32,
इस्राएलको पुनर्स्थापन
1परमप्रभुले याकूबमाथि टिठ्याउनुहुनेछ, र इस्राएललाई फेरि छान्नुहुनेछ, र तिनीहरूलाई उहाँले तिनीहरूको आफ्नै ठाउँमा बसाल्नुहुनेछ। विदेशीहरू तिनीहरूसित मिल्नेछन्, र याकूबका घरानासित उनीहरू मिलेर बस्नेछन्। 2जाति-जातिहरूले तिनीहरूलाई लगेर तिनीहरूकै ठाउँमा पुर्याउनेछन्। इस्राएलका घरानाले परमप्रभुको देशमा उनीहरूलाई नोकर-नोकर्नीहरूको रूपमा अधिकार गर्नेछन्। तिनीहरूलाई कैद गर्नेहरूलाई तिनीहरूले कैदी बनाउनेछन्। तिनीहरूलाई अत्याचार गर्नेहरूमाथि तिनीहरूले शासन गर्नेछन्।
3जब परमप्रभुले तिमीहरूको दु:ख, कष्ट र कठोर बन्धनबाट तिमीहरूलाई विश्राम दिनुहुनेछ, 4तब तिमीहरूले बेबिलोनका राजाको विरुद्धमा यसरी ठट्टा गर्नेछौ: अत्याचारीको कसरी पतन भयो! त्यसको रीसको अन्त कसरी भयो! 5परमप्रभुले दुष्टहरूको लहुरो भाँचिदिनुभयो, शासन गर्नेहरूको राजदण्ड, 6जसले मानिसहरूलाई रीसमा लगातार हिर्काइरहन्थ्यो र रोक्न नसक्ने सतावटसाथ झोँकमा जाति-जातिहरूलाई दमन गर्थ्यो। 7सबै देशहरूले विश्राम र शान्ति पाएका छन्। तिनीहरू गाउन लागेका छन्। 8सल्लाका रूखहरू र लेबनानका देवदारुहरू तँलाई हेरी यसो भनेर रमाउँछन्, “तँ ढालिएकोदेखि यसो हामीलाई काट्न कोही रूख काट्ने आएको छैन।”
9तेरो आगमनमा तँलाई भेट्न चिहान पनि तेरो निम्ति चलमलाएको छ। त्यसले मरेर बिदा भइसकेका आत्माहरूलाई पनि तँलाई स्वागत गर्न जगाउँछ— ती सबै जना जो संसारमा नेताहरू थिए— त्यसले उनीहरूलाई आफ्ना सिंहासनबाट उठ्न लगाउँछ, ती सबै जो जाति-जातिहरूका राजाहरू थिए। 10उनीहरू सबैले तँलाई जवाफ दिएर भन्नेछन्, “तँ पनि हामीजस्तै निर्बल भएको छस्। तँ हामीजस्तै भएको छस्।” 11तेरा सबै रवाफ त तेरा वीणाको गुञ्जनसँगै चिहानमा झारिएका छन्। औँसा तेरो ओछ्यान र कीरा तेरो ओढ्ने भएका छन्।
12ए बिहानको तारा, प्रभातको पुत्र, तँ स्वर्गबाट कसरी खसेको छस्! उहिले जाति-जातिहरूलाई होच्याउने, तँ कसरी भूइँमा तल खसालिइस्। 13तैंले आफ्नो हृदयमा भनिस्, “म स्वर्गमा उक्लनेछु। परमेश्वरका ताराहरूभन्दा माथि म मेरो सिंहासनलाई उच्च पार्नेछु। पवित्र पर्वतको सबैभन्दा उच्च टाकुरामा सभासद्को पर्वतमा म विराजमान हुनेछु। 14म बादलको टुप्पाभन्दा माथि उक्लनेछु, म आफूलाई सर्वोच्च परमेश्वर जत्तिकै बनाउनेछु।” 15तर तँ चिहानसम्म, खाड़लको तल्लो गहिराइसम्मै होच्याइस्।
16तँलाई देख्नेहरूले तँलाई एक टक लाएर हेर्नेछन्, र तेरो भाग्यमाथि ध्यानसित गुनेर भन्नेछन्, “पृथ्वीलाई हल्लाउने तथा राज्यहरूलाई थरहरी पार्ने 17त्यो त्यही मानिस हो, जसले संसारलाई मरुभूमि बनायो र त्यसका सहरहरूलाई पराजय गर्यो? कैदीहरूलाई घर जानलाई नदिने के यो त्यही मानिस हो?”
18जाति-जातिका सबै राजाहरू, प्रत्येक आ-आफ्नै चिहानमा गौरवमा पस्रिरहेका छन्। 19तर तँचाहिँ त तेरो चिहानबाट नचाहिने हाँगाजस्तै फ्याँकिइस्। तँ तरवारले रोपिएकाहरूसँग, खाड़लका ढुङ्गाहरूमा खसेकाहरूसँग मारिएकाहरूले ढाकिएको छस्। तँ खुट्टाले कुल्चिएर पैतालामुनि परेको लाशझैँ भएको छस्। 20दफनको समयमा तँ उनीहरूसित मिल्नेछैनस्, किनकि तैंले आफ्नो देशको संहार गरेको छस्, तैंले आफ्ना मानिसहरूलाई मारेको छस्।
दुष्टका सन्तानको नाउँ कहिल्यै लिइनेछैन। 21उनीहरूका पुर्खाका पापको निम्ति त्यसका छोराहरूलाई मार्न ठाउँ तयार गर। देशका उत्तराधिकारी हुन उनीहरू नउठून्, र पृथ्वी उनीहरूका सहरहरूले नभरोस्।
22“सर्वशक्तिमान् परमप्रभु यो घोषणा गर्नुहुन्छ, ‘म उनीहरूका विरुद्धमा खड़ा हुनेछु, र बेबिलोनबाट बाँचेकाहरू, त्यसका बालबच्चाहरू, र त्यसको नाउँ मेटिदिनेछु। 23म त्यसलाई लाटोकोसेरो बस्ने ठाउँ र धाप बनाउनेछु। म त्यसलाई सर्वनाशको कुच्चोले बढ़ार्नेछु,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।
अश्शूरका विरुद्धमा अगमवाणी
24सर्वशक्तिमान् परमप्रभुले यसो भनेर शपथ खानुभएको छ, “जो योजना मैले बनाएको छु, त्यो निश्चय नै पूरा हुनेछ। जो अभिप्राय मैले गरेको छु, त्यो स्थिर रहनेछ। 25म अश्शूरीलाई मेरै देशमा नाश गर्नेछु, मेरा पर्वतहरूमा त्यसलाई पैतालाले कुल्चनेछु। त्यसको जुवा मेरा प्रजाबाट उतारिनेछ र त्यसको भारी तिनीहरूका काँधबाट हटाइनेछ।”
26यही योजना सारा पृथ्वीको निम्ति सङ्कल्प गरिएको छ, र यही हात सारा जाति-जातिहरूमाथि पसारिएको छ। 27किनभने सर्वशक्तिमान् परमप्रभुले अभिप्राय राख्नुभएको छ, र कसले त्यसको खण्डन गर्न सक्छ? उहाँको हात पसारिएको छ, र कसले त्यो फर्काउन सक्छ र?
पलिश्तीहरूका विरुद्धमा अगमवाणी
28आहाज राजा मरेको वर्षमा यो ईश्वरवाणी आयो: 29“हे सारा पलिश्तीहरू, तिमीहरूलाई हिर्काउने लहुरो भाँचियो भनेर रमाहट नगर, किनकि त्यही साँपको वंशबाट विषालु सर्प निस्कनेछ। त्यसको फल अति विषालु सर्प हुनेछ। 30गरीबभन्दा गरीबले पनि खर्क पाउनेछ, र दरिद्र निर्धक्कसित ढल्कन पाउनेछ, तर म तिमीहरूको वंशलाई अनिकालले विनाश पार्नेछु, र तिमीहरूका बाँचेकाहरूलाई चाहिँ त्यसले मार्नेछ।
31ए मूल ढोका, डाँको छोड़ी-छोड़ी रोऊ! ए सहर, चीत्कार गर! ए पलिश्तीहरू, तिमीहरू सबै पग्लेर जाओ! उत्तरबाट धूवाँको बादल आउँछ, त्यसको सेनाको पङ्क्तिमा एउटै पनि धरमराउने हुँदैन। 32तब त्यस जातिका राजदूतहरूलाई के जवाफ दिने? “परमप्रभुले सियोनलाई स्थापित गर्नुभयो, र दु:खमा परेका उहाँका प्रजाहरूले त्यसमा शरण पाउनेछन्।”
ISAIAH - 15:1-9,
मोआबको विरुद्धमा अगमवाणी
1मोआबको विषयमा ईश्वरवाणी: एकै रातमा मोआबको आर सहर उजाड़ र नष्ट पारियो! एक रातमा मोआबको कीर सहर उजाड़ र नष्ट भयो। 2दीबोन रुनलाई अल्गा ठाउँहरूमा त्यसको मन्दिरमा उक्लियो। नेबो र मेदबाका निम्ति मोआब डाँको छोड़ी-छोड़ी रुन्छ। हरेक कपाल मुड़ाएको छ, र हरेक दाह्री खौरिएको छ। 3तिनीहरू सड़कमा भाङ्ग्रा लाएर बस्छन्। उनीहरू सबै घरका कौसीहरू र चोकमा बेसरी विलाप गर्दै रुँदै लम्पसार पर्छन्। 4हेश्बोन र एला चिच्च्याएर रुन्छन्। उनीहरूको सोर यहसासम्मै सुनिन्छ। यसैकारण मोआबका हतियार भिरेका मानिसहरू चर्को सोरले रुन्छन् र उनीहरूका हृदय व्याकुल भएका छन्।
5मेरो मन मोआबको निम्ति रुन्छ। त्यसका शरणार्थीहरू सोअरसम्म र एग्लत-शलीशियाहसम्मै भागेर जान्छन्। लूहीतको उकालो बाटोमा उनीहरू रुँदै-रुँदै उक्लन्छन्। होरोनैमको बाटोमा उनीहरू आफ्नो विनाशको विलाप गर्छन्। 6निम्रीमको पानी सुक्यो, र घाँस ओइलायो। वनस्पति स्वाहा भयो। हरियो भन्ने केही छैन। 7यसैकारण उनीहरूले प्राप्त गरेका धन-सम्पत्ति र तिनीहरूले थुपारेका धन लहरे-पीपलका घारीको खोला पारि उनीहरूले लान्छन्। 8उनीहरूका रुवाइको प्रतिध्वनि मोआबको सिमानातिर पुगेको छ, उनीहरूका विलापको सोर एग्लैमसम्म र उनीहरूको शोक बेअर-एलीमसम्मै पुगेको छ। 9दीबोनको पानी रगतले भरिएको छ, तर म दीबोनमाथि अझ बढ़ी ल्याउनेछु। मोआबका शरणार्थीहरू र देशका बचेकाहरूमाथि म एउटा सिंह ल्याउनेछु।
ISAIAH - 16:1-14,
1सेलाबाट मरुभूमिको पारि सियोनकी छोरीको पर्वतमा देशका शासकको निम्ति सौगातको रूपमा थुमाहरू पठाओ। 2गुँड़बाट धकेलिएर यताउता उड़िरहेका चराहरूझैँ अर्नोनका जँघारहरू हुँदो मोआबका स्त्रीहरू भएका छन्।
3“हामीलाई सल्लाह दिनुहोस्, केही निर्णय दिनुहोस्। मध्यदिनमा तपाईंको छायालाई रातजस्तै बनाउनुहोस्। शरणार्थीहरूलाई लुकाउनुहोस्, शरणार्थीहरूलाई धोका नदिनुहोस्। 4मोआबबाट निकालिएकाहरू तपाईंसँग बसून्। ध्वंसकारीहरूबाट तिनीहरूका निम्ति एउटा शरणस्थान बन्नुहोस्।”
अत्याचारीहरूको अब अन्त हुनेछ, र विनाश रोकिनेछ। अत्याचारीहरू देशबाट हराउनेछन्। 5प्रेममा एउटा सिंहासन स्थापित गरिनेछ, त्यसमा दाऊदको घरानाबाट विश्वासयोग्यसाथ एक मानिस विराजमान हुनुहुनेछ, र उहाँले इन्साफ गर्दा न्यायको खोजी गर्नुहुनेछ, र धार्मिकताका पक्षको गति तीव्र पार्नुहुनेछ।
6मोआबका घमण्डको कुरा हामीले सुनेका छौं, त्यसको अति घमण्ड र अहङ्कार, त्यसको घमण्ड र तुजुक, तर त्यसका गर्व व्यर्थ छन्। 7यसकारण मोआबीहरू विलाप गर्छन्। उनीहरू मोआबकै लागि एकसाथ विलाप गर्छन्। कीर-हरेशेतका मानिसहरूका निम्ति तिमीहरू रोओ र विलाप गर। 8हेश्बोनका खेतहरू र सिब्माका दाखका बोटहरू पनि ओइलाउँछन्। जाति-जातिका शासकहरूले त्यसका असल-असल बोटहरू खुट्टाले कुल्चीमिल्ची गरे, जुनहरू पहिले याजेरसम्मै पुगेका थिए र मरुभूमिसम्मै फैलिएका थिए। त्यसका मुना चारैतिर फैलिएर समुद्र पारिसम्मै पुगे।
9यसैकारण म सिब्माको दाखका बोटहरूका निम्ति याजेर रोएझैँ रुन्छु। ए हेश्बोन, ए एलाले, मेरो आँसुले म तँलाई भिजाउँछु! तेरा पाकेका फलहरू र फसलका आनन्दको होहल्ला चकमन्न भएको छ। 10फलका बगैँचाका आनन्द र रमाहट लगिन्छन्, र दाखको बारीमा कसैले पनि गाउँदैन न त कराउँछ, न दाख-कुण्डमा कसैले दाख पेल्ने नै छ। किनकि मैले उनीहरूका हर्षको आवाज बन्द गरिदिएको छु। 11मेरो हृदय मोआबको निम्ति र मेरो अन्तस्करण कीर-हरेशेतको निम्ति वीणाले झैँ रोई-रोईकन विलाप गर्दछ। 12जब मोआब आफ्नो अल्गो स्थानमा भक्ति गर्न आउँछ, त्यो थाकेर हैरान मात्र हुन्छ। प्रार्थना गर्न पूजा-स्थानमा आउँदा त्यसलाई केही लाभ हुँदैन।
13मोआबको विषयमा परमप्रभुले पहिले नै भन्नुभएको वचन यही हो। 14तर अब परमप्रभु यसो भन्नुहुन्छ, “ठेक्कामा लिएको नोकरले गनेझैँ, तीन वर्ष भित्रमा मोआबको गौरव र त्यसका सबै मानिसहरू तुच्छ ठहराइनेछन्। त्यसका बाँचेकाहरूचाहिँ साह्रै थोरै र कमजोर हुनेछन्।”
ISAIAH - 17:1-14,
दमस्कसको विरुद्धमा ईश्वरवाणी
1दमस्कसको विषयमा ईश्वरवाणी: “हेर, दमस्कस अब सहरजस्तो रहनेछैन। त्यो भग्नावशेषको थुप्रो हुनेछ। 2अरोएरका सहरहरू त्यागिनेछन्, र ती भेड़ाका बगालका निम्ति हुनेछन्, जुनहरू लेट्नेछन्, र तिनीहरूलाई कसैले तर्साउनेछैन। 3एफ्राइमको किल्लाले घेरिएको सहर र दमस्कसको राजसी शक्ति लोप हुनेछ। अरामको बाँचेको भागचाहिँ इस्राएलीहरूको गौरवझैँ हुनेछ,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।
4“त्यो दिन याकूबको गौरव लोप हुनेछ, र त्यसको शरीरको बोसो घटेर जानेछ। 5यो कटनी गर्नेले पाकेको अन्न बटुलेझैँ, र आफ्नो पाखुराले फसलको अन्न काटेझैँ, रपाईहरूको बेँसीमा एउटा मानिसले शिला-बाला टिपेझैँ हुनेछ। 6तापनि जैतून झारेपछि अलि-अलि फलहरू रहेझैँ, त्यसमा केही शिला रहनेछ— माथिल्लो हाँगाको टुप्पामा दुई-तीन वटा फलहरू र फलदायक हाँगाहरूमा चार-पाँच वटा जैतूनका फल रहेझैँ,” परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ।
7त्यस दिन मानिसहरूले आफ्ना सृष्टिकर्तातिर हेर्नेछन्, र तिनीहरूका आँखा इस्राएलका परमपवित्रतिर लागिरहनेछन्। 8तिनीहरूले आफ्ना हातले बनाएका वेदीतिर हेर्नेछैनन्, न त तिनीहरूले आफ्ना औँलाले बनाएका वेदीहरू र अशेरा देवीका खम्बाहरूलाई आदर गर्नेछन्। 9त्यस दिन इस्राएलीहरूको कारणले तिनीहरूले त्यागेका शक्तिशाली सहरहरू झाड़ीहरू र बूटाबूटीझैँ हुनेछन्। सबै उजाड़ हुनेछन्। 10तैंले तेरो उद्धार गर्ने परमेश्वरलाई बिर्सेको छस्, र चट्टान, अर्थात् तेरो किल्लालाई तैंले सम्झिनस्। यसैकारण, यद्यपि तैंले अति सुन्दर बोटहरू रोपिस् र विदेशबाट ल्याएका दाखका बोटहरू लगाइस्, 11र ती रोपेको दिन तैंले ती बढ्न पनि लगाउँछस्, र बिहानसम्म तेरा बिरुवालाई कोपिला लाग्ने बनाउँछस्, तापनि रोगको दिन र निको नहुने पीडाको दिनमा फसल शून्य हुनेछ।
12अहो! धेरै जाति-जातिका खैलाबैला— तिनीहरू समुद्रको गर्जनझैँ गर्जन्छन्। अहो! जाति-जातिहरूको हल्ला— ठूला-ठूला पानीहरू गर्जेझैँ तिनीहरू गर्जन्छन्। 13यद्यपि हुर्रिएर आएको पानीको गर्जनझैँ जाति-जातिहरू गर्जन्छन्, जब उहाँले तिनीहरूलाई हप्काउनुहुन्छ, तिनीहरू टाढ़ा भागेर जान्छन्, र बतासले उड़ाएको डाँड़ाको भुस र आँधीबेहरीले उड़ाउने झारझैँ खेदिनेछन्। 14साँझमा, एक्कासि त्रास! बिहान हुनुभन्दा अघि ती रहँदैनन्। हामीहरूलाई लुट्नेहरूको भाग यस्तै हुनेछ, र हामीलाई लूटपीट गर्नेहरूको गति यही हुनेछ।
ISAIAH - 18:1-7,
कूश देशको विरुद्धमा अगमवाणी
1सलहहरूले भरिएको देशलाई धिक्कार, जुनचाहिँ कूश देशका नदीहरूको छेउमा छ, 2जसले समुद्रबाट कूशले बनाएका डुङ्गाहरूमा जलपथद्वारा राजदूतहरू पठाउँछ। हे फूर्तिला समाचारवाहक हो, अल्गा र चिल्ला छाला भएको जातिकहाँ जाओ, जससँग नजिक र टाढ़ाकाहरू डराउँछन्, जो बलियो र विजयी छ, अनौठो भाषा बोल्ने जाति जसको देश नदीहरूले भाग-भाग पारिएको छ। 3हे सारा संसारका मानिस हो, तिमीहरू जो पृथ्वीमा वास गर्छौ, जब एउटा झन्डा डाँड़ामा खड़ा गरिन्छ, तिमीहरूले त्यसलाई देख्नेछौ, र जब तुरही बजाइन्छ, तिमीहरूले त्यो सुन्नेछौ।
4परमप्रभुले मलाई यसो भन्नुहुन्छ, “घामको चर्को ताप र कटनीको गर्मीमा शीतको बादलझैँ म चूपचाप बस्नेछु, र मेरो बस्ने ठाउँदेखि हेर्नेछु।” 5किनभने कटनीको अघि जब फूल फुलेर झरिसकेको हुन्छ, र फूल पाकेको अङ्गूर हुन्छ, तब उहाँले हाँगाहरू हँसियाले छाँट्नुहुनेछ, र फैलिएका हाँगाहरू काट्नुहुनेछ। 6तिनीहरू सबै पहाड़का शिकारी पक्षी र वन-पशुहरूका निम्ति छोड़िनेछन्। तब पक्षीहरूले ग्रीष्मकालभरि र वन-पशुहरूले चाहिँ हिउँदभरि खान्छन्।
7त्यस समय सर्वशक्तिमान् परमप्रभुको अगि उपहार ल्याइनेछ। त्यो अल्गा र चिल्ला छाला भएको जातिले, जससँग नजिक र टाढ़ाकाहरू डराउँछन्, जो बलियो र विजयी छ, अनौठो भाषा बोल्ने जाति जसको देश नदीहरूले भाग-भाग पारिएको छ, सर्वशक्तिमान् परमप्रभुको नाउँ भएको ठाउँमा, सियोन पर्वतमा नै परमप्रभुकहाँ उपहार ल्याइनेछ।
ISAIAH - 19:1-25,
मिश्रदेशको विषयमा अगमवाणी
1मिश्रदेशको विषयमा ईश्वरवाणी: हेर, परमप्रभु तेजिलो बादलमा सवारी भएर मिश्रदेशमा आउँदैहुनुहुन्छ। मिश्रदेशका मूर्तिहरू उहाँको उपस्थितिमा थरथर काँप्दछन्, र मिश्रीहरूका हृदय भित्रभित्रै गलिजान्छन्।
2“म मिश्रीहरूलाई मिश्रीहरूकै विरुद्धमा सुर्याउनेछु। दाजुभाइको विरुद्धमा दाजुभाइ लड्नेछन्, छिमेकीको विरुद्धमा छिमेकी, सहरको विरुद्धमा सहर, र राज्यको विरुद्धमा राज्य। 3मिश्रीहरू हताश हुनेछन्, तिनीहरूका योजना म बेकार बनाउनेछु। तिनीहरूले देवताहरू, प्रेतहरू, मन्त्रतन्त्र गर्नेहरू र झाँक्रीहरूकहाँ गएर सोध्नेछन्। 4अनि म मिश्रीहरूलाई एउटा निष्ठुर मालिकको हातमा सुम्पिदिनेछु, र एउटा निर्दयी राजाले तिनीहरूमाथि राज्य गर्नेछ,” परमप्रभु, सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।
5नदीका पानी सुकिजानेछन्, र त्यो नदीको सतह खंग्रङ्ग सुक्खा हुनेछ। 6नहरहरू गन्हाउनेछन्। मिश्रदेशका खोलाहरू घटेर सुकिजानेछन्। निगालो र काँसहरू ओइलाउनेछन्। 7साथै नील नदीको किनारतिर र नील नदीको मुखैमा भएका बाली ओइलाउनेछन्। तिनलाई बतासले उड़ाएर लैजानेछ, र ती रहनेछैनन्। 8जालहारीहरूले सुस्केरा हाल्नेछन् र विलाप गर्नेछन्। नील नदीमा बल्छी हान्ने र पानीमा जाल हान्नेहरू सबै खिन्न हुनेछन्। 9बाटेका सनपाटको काम गर्नेहरू निराश हुनेछन्, र मलमलको कपड़ा बुन्नेहरू निराश हुनेछन्। 10लुगाका काम गर्नेहरू निरुत्साह हुनेछन्, र ज्यालामा काम गर्नेहरू सबैको हृदय अफसोसमा पर्नेछ।
11सोअनका अधिकृतहरू असाध्य मूर्ख छन्! फारोका बुद्धिमान् सल्लाहकारले विवेकहीन सल्लाह दिन्छन्। तिमीहरू कसरी फारोलाई भन्न सक्छौ, “म बुद्धिमान् मानिसहरूमध्ये एक हुँ, प्राचीन समयका राजाहरूको शिष्य”?
12तेरा बुद्धिमान् मानिसहरू अब कता गए? मिश्रदेशको विरुद्धमा सर्वशक्तिमान् परमप्रभुको अभिप्राय के छ भनी तिनीहरूले तँलाई देखाऊन् र बुझाऊन्। 13सोअनका अधिकृतहरू मूर्ख भएका छन्। नोपका नेताहरू धोकामा परेका छन्। तिनीहरू, जो त्यसका मानिसहरूका कुने-ढुङ्गाहरू हुन्, मिश्रदेशलाई बहकाएका छन्। 14परमप्रभुले तिनीहरूमा रिँगटा लाग्ने आत्मा हालिदिनुभएको छ, र मतवाला मानिस आफ्नै बान्तामा धरमरिँदै हिँड़ेझैँ तिनीहरूले मिश्रदेशलाई आफूले गरेका सबै काममा ढलमल गर्ने पारिदिएका छन्। 15मिश्रदेशले केही काम गर्न सक्नेछैन, चाहे टाउको कि पुच्छर, खजूरको हाँगा अथवा नर्कट।
16त्यस दिन मिश्रीहरू स्त्रीहरूजस्तै हुनेछन्। सर्वशक्तिमान् परमप्रभुले तिनीहरूका विरुद्धमा उठाउनुभएको हातबाट तिनीहरू डरले थरथर काम्नेछन्। 17अनि यहूदा देशले मिश्रीहरूमा त्रास ल्याउनेछ। यहूदाको नाउँ सुन्ने प्रत्येक डराउनेछ, किनभने सर्वशक्तिमान् परमप्रभुले तिनीहरूको विरुद्ध योजना गर्दैहुनुहुन्छ।
18त्यस दिन मिश्रदेशका पाँच सहरले कनान देशको भाषा बोल्नेछन्, र सर्वशक्तिमान् परमप्रभुप्रति भक्तिको शपथ खानेछन्। तीमध्ये एउटाको नाउँचाहिँ विनाशको सहर भनिनेछ।
19त्यस दिन मिश्रदेशको बीचमा परमप्रभुको निम्ति एउटा वेदी हुनेछ र त्यसको सिमानामा परमप्रभुको निम्ति एउटा स्मारक खड़ा गरिनेछ। 20मिश्रदेशमा सर्वशक्तिमान् परमप्रभुको निम्ति त्यो एउटा चिन्ह र साक्षी हुनेछ। अत्याचारीहरूको कारण तिनीहरूले परमप्रभुलाई पुकारा गर्दा, उहाँले तिनीहरूका निम्ति एक जना मुक्तिदाता र एक जना रक्षक पठाउनुहुनेछ, र उहाँले तिनीहरूलाई छुटाउनुहुनेछ। 21यसरी परमप्रभु मिश्रीहरूमा प्रकट हुनुहुनेछ, र त्यस दिन तिनीहरूले परमप्रभुलाई स्वीकार गर्नेछन्। तिनीहरूले बलिदानहरू र अन्नबलिहरूद्वारा उहाँलाई आराधना गर्नेछन्, र तिनीहरूले परमप्रभुको निम्ति भाकल गरेर त्यो पूरा गर्नेछन्। 22परमप्रभुले मिश्रदेशलाई महामारीद्वारा प्रहार गर्नुहुनेछ। उहाँले तिनीहरूलाई हिर्काउनुहुनेछ, र तिनीहरूलाई निको पनि पार्नुहुनेछ। तिनीहरू परमप्रभुतर्फ फर्कनेछन्। उहाँले तिनीहरूको बिन्ती सुन्नुहुनेछ, र उहाँले तिनीहरूलाई निको पार्नुहुनेछ।
23त्यस दिन मिश्रदेशदेखि अश्शूर देशसम्म एउटा मूलबाटो हुनेछ। अश्शूरीहरू मिश्रदेशमा र मिश्रीहरू अश्शूर देशमा आवतजावत गर्नेछन्। मिश्रीहरू र अश्शूरीहरूले एकैसाथ आराधना गर्नेछन्। 24त्यस दिन मिश्र र अश्शूरका साथ पृथ्वीमा आशिष्को निम्ति इस्राएलचाहिँ तेस्रो देश हुनेछ। 25सर्वशक्तिमान् परमप्रभुले तिनीहरूलाई यसो भनेर आशिष् दिनुहुनेछ, “मिश्र मेरो प्रजा, अश्शूर मेरो हातको काम र इस्राएल मेरो उत्तराधिकारी धन्यका होऊन्।”
ISAIAH - 20:1-6,
मिश्रदेश र कूश देशको विरुद्धमा अगमवाणी
1जुन साल अश्शूरका राजा सर्गानको हुकुमअनुसार उनका सर्वोच्च सेनापतिले अश्दोदमा आएर आक्रमण गरी त्यो कब्जा गरे, 2त्यस बेला परमप्रभुले आमोजका छोरा यशैयाद्वारा बोल्नुभयो। उहाँले तिनलाई यसो भन्नुभयो, “जा, तेरो शरीरबाट भाङ्ग्रा उतार् र तेरा खुट्टाबाट जुत्ता फुकाल्।” अनि तिनले त्यसै गरे, र तिनी नाङ्गै र खालि खुट्टा हिँड्न लागे।
3तब परमप्रभुले भन्नुभयो, “जसरी मेरो दास यशैया मिश्रदेश र कूश देशको निम्ति चिन्ह र शकून होस् भनेर तीन वर्षसम्म नाङ्गो र खालि खुट्टा हिँड़्यो, 4त्यसरी नै अश्शूरका राजाले मिश्रदेशलाई शर्ममा पार्न मिश्रदेशका कैदीहरू र कूश देशबाट निकालिएका जवान र बूढ़ा दुवैलाई नाङ्गो र खालि खुट्टा तथा नाङ्गो चाक भई कैदी बनाएर लानेछन्। 5कूश देशमाथि भरोसा गर्नेहरू र मिश्रदेशमा घमण्ड गर्नेहरू डराउनेछन् र लज्जित हुनेछन्। 6त्यस दिन समुद्रको यस किनारका बासिन्दाहरूले भन्नेछन्, ‘हेर, अश्शूरका राजाबाट बाँच्न जस-जसमाथि हामी भर परेका थियौं र जसकहाँ सहायताको निम्ति हामी भागेका थियौं, तिनीहरूकै हालत यस्तो भएको छ। तब हामी कसरी भाग्न सकौंला’?”
ISAIAH - 21:1-17,
बेबिलोनको विरुद्धमा अगमवाणी
1समुद्र-किनारको मरुभूमिको विषयमा ईश्वरवाणी: दक्षिण देशमा भुमरी जोडसित चलेझैँ, मरुभूमिबाट, त्रासको देशबाट एउटा आक्रमणकारी आउँछ। 2एउटा डरलाग्दो दर्शन मलाई देखाइयो: धोखाबाजी गर्नेले धोखाबाजी गर्छ, र लुट्नेले लुट्छ। ए एलाम, आक्रमण गर्, ए मादी, घेरा लगा। त्यसले गराएको सबै सुस्केरा म बन्द गरिदिनेछु।
3यसैले मेरो शरीर पीडाले भरिएको छ। प्रसववेदनामा परेकी स्त्रीझैँ तीक्ष्ण वेदनाले मलाई पक्रेको छ। म जे सुन्छु त्यसले म धरमराउँछु। म जे देख्छु त्यसले मलाई व्याकुल पार्छ। 4मेरो मुटु हतोत्साहित भएको छ। डरले म काँप्छु। मैले चाहना गरेको सन्ध्याको रिमझिम मेरो निम्ति त्रास भएको छ।
5तिनीहरूले टेबिल तयार गर्छन्, गलैँचा बिछ्याउँछन्, खान्छन् र पिउँछन्। हे अधिकृतहरू हो, उठ, ढालमा तेल लगाओ।
6परमप्रभु मलाई यसो भन्नुहुन्छ, “जा, पहरादार राख्। त्यसले के देख्छ त्यो बताओस्। 7जब त्यसले घोड़ाको टोली भएका रथहरू, र गधा र ऊँटका सवारहरू देख्छ, तब त्यो चनाखो, पूर्ण चनाखो होस्।’
8त्यो पहरादार यसो भनेर करायो, “हे प्रभु, म दिनहुँ पहरा बस्ने धरहरामा उभिरहन्छु, र प्रत्येक रातमा म पहरा चौकीमा बस्छु। 9हेर्नुहोस्, घोड़ाको टोली भएको रथमा एक जना मानिस आउँदैछ। अनि त्यसले जवाफ दिएर भन्छ, ‘बेबिलोनको पतन भयो, पतन भयो, र त्यसका कुँदेर बनाएका देवताका सबै मूर्तिहरू चकनाचूर पारिएर जमिनमा पड़िरहेका छन्’।”
10ए मेरो प्रजा, दाइँ गर्ने खलामा पेलिएकाहरू! सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वरबाट मैले जे सुनें, त्यो म तिमीहरूलाई भन्छु।
एदोमको विरुद्धमा अगमवाणी
11दुमाको विषयमा ईश्वरवाणी: “ए पहरादार, रात कति बाँकी छ? ए पहरादार, रात कति रहेको छ?” भनेर कसैले मलाई सेइरबाट भन्दैछ। 12पहरादारले जवाफ दिन्छ, “बिहान हुँदैछ, र रात पनि पर्दैछ। तिम्रो केही सोध्नु छ भने सोध, र फेरि फर्केर आऊ।”
अरब देशको विरुद्धमा अगमवाणी
13अरब देशको विषयमा ईश्वरवाणी: ए ददानीहरूका यात्री दल, जो अरब देशका झाड़ीहरूमा वास बस्छौ, 14तिर्खाएकाहरूका निम्ति पानी ल्याओ। तेमामा बस्नेहरूले शरणार्थीहरूका निम्ति खानेकुरा ल्याओ। 15तिनीहरू तरवारबाट, नाङ्गो तरवारबाट, नुहेका धनुबाट, र घोर लड़ाइँबाट भाग्छन्।
16परमप्रभु मलाई यसो भन्नुहुन्छ, “एक वर्षभरिलाई ज्यालामा काम गर्ने नोकरले वर्ष गनेअनुसार, एकै वर्षमा केदारको सबै शान अन्त हुनेछ। 17धनुर्धारीहरू, केदारका योद्धाहरूमध्ये बाँचेकाहरू थोरै मात्र हुनेछन्।” परमप्रभु इस्राएलका परमेश्वरले त्यसै भन्नुभएको छ।
ISAIAH - 22:1-25,
यरूशलेमको विषयमा अगमवाणी
1दर्शनको बेँसीको विषयमा ईश्वरवाणी: तिमीहरूलाई के भयो र तिमीहरू जम्मै घरका कौसीमा उक्लेर गयौ? 2ए होहल्ला र खैलाबैलाले भरिएको नगर, आमोदप्रमोदले भरिएको नगर। तेरा मरेकाहरू तरवारले मारिएका होइनन्, न त तिनीहरू लड़ाइँमा मारिएका हुन्। 3तेरा सबै शासकहरू एकैसाथ भागे, धनु नचलाएर नै तिनीहरू पक्राउमा परे। शत्रुहरू टाढ़ै छँदा पनि तिमीहरू भाग्यौ, र सबै जो समातियौ एकैसाथ कैदी बनाएर लगियौ। 4यसकारण मैले भनें, “मदेखि मुख फर्काओ। मलाई धुरुधुरु रुन देओ। मेरा प्रजाको विनाशको कारण मलाई सान्त्वना दिन कोशिश नगर।”
5दर्शनको बेँसीमा परमप्रभु, सर्वशक्तिमान् परमप्रभुबाट भएको यो कोलाहलको र कुल्चीमिल्ची गर्ने तथा त्रासको दिन हो— पर्खाल भत्काउने, र पर्वतलाई पुकार्ने दिन हो। 6एलामले रथीहरू र घोड़ाहरूसमेत धनु राख्ने ठोक्रो भिर्छ। कीरले ढालको खोल निकाल्छ। 7तेरा असल-असल बेँसीहरू रथहरूले भरिन्छन्, र घोड़चढ़ीहरूचाहिँ सहरको मूल ढोकामा उभिरहनलाई खटाइएका छन्। 8यहूदाका रक्षकहरूलाई हतियाररहित तुल्याइएका छन्।
त्यस दिन तिमीहरूले वनको महलमा भएका हतियारतिर हेर्यौ। 9तिमीहरूले दाऊदको सहरका सुरक्षित पर्खालहरूमा धेरै प्वालहरू रहेछन् भनी देख्यौ। तिमीहरूले तल्लो पोखरीमा पानी जम्मा गर्यौ। 10तिमीहरूले यरूशलेमका पक्का घरहरू गन्यौ, र पर्खाल बलियो पार्न घरहरू भत्कायौ। 11तिमीहरूले दुई पर्खालका बीचमा पुरानो पोखरीका पानीको निम्ति पानी राख्ने एउटा ठूलो जलाशय बनायौ। तर तिमीहरूले यो बनाउने जनलाई हेरेनौ, अथवा यो अघिदेखि नै योजना गर्नेलाई तिमीहरूले आदर गरेनौ। 12त्यस दिन परमप्रभु, सर्वशक्तिमान् परमप्रभुले तिमीहरूलाई रुन र विलाप गर्न, कपाल लुछ्न र भाङ्ग्रा लाउनलाई बोलाउनुभयो। 13तर हेर, आनन्द र मोजमज्जा मनाइँदैछ। पशुहरू संहार गर्ने र भेड़ाहरू मार्ने, मासु खाने र मद्य पिउने काम पो भइरहेछ। तिमीहरू भन्छौ, “लौ, खाऔं र पियौं, किनकि भोलि त हामी मर्छौं।”
14सर्वशक्तिमान् परमप्रभुले मेरो कानमा यो प्रकट गर्नुभयो: “यो पाप तिमीहरूको मर्ने दिनसम्म पनि प्रायश्चित गरिनेछैन,” परमप्रभु, सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।
शेब्ना खारिज भएर एल्याकीम नियुक्त भएको
15परमप्रभु, सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ: “यो भण्डारे शेब्नाकहाँ जा, जो राजदरबारको जिम्मेवार हो, र त्यसलाई भन्, 16तँ यहाँ के गर्दैछस्? र तैंले आफ्नो निम्ति यहाँ चिहान खोप्न कसले तँलाई अनुमति दियो? तँ यहाँ अल्गो ठाउँमा आफ्नो निम्ति चिहान बनाउन र चट्टानमा आफ्नो विश्रामस्थान बनाउन खोपिरहेछस्।
17ए पराक्रमी पुरुष, होशियार बस्, परमप्रभुले तँलाई खूब कसेर समात्नुहुनेछ र खूब जोडसित फ्याँक्नुहुनेछ। 18उहाँले तँलाई भकुन्डोजस्तै गोलो लपेटेर एउटा ठूलो देशमा फालिदिनुहुनेछ। त्यहीँ तँ मर्नेछस् र तेरा भव्य रथहरू पड़िरहनेछन्— तँ आफ्ना मालिकको घरलाई लज्जित पार्नेछस्। 19म तँलाई तेरो कामबाट निकालिदिनेछु, र आफ्नो स्थानबाट तँ खसालिनेछस्।
20“त्यो दिन हिल्कियाहको छोरो एल्याकीम मेरो दासलाई म बोलाउनेछु। 21म त्यसलाई तेरो पोशाक पहिर्याइदिनेछु र तेरो पटुका त्यसलाई बाँधिदिनेछु, र तेरो अधिकार म त्यसको हातमा सुम्पिदिनेछु। त्यो यरूशलेममा बस्नेहरू र यहूदाका घरानाको बुबा हुनेछ। 22दाऊदका घरानाको साँचो म त्यसको काँधमा राख्नेछु। त्यसले जे खोल्छ, त्यो कसैले बन्द गर्नेछैन, र त्यसले जे बन्द गर्छ, कसैले त्यो खोल्न सक्दैन। 23म त्यसलाई बलियो ठाउँमा कीलाझैँ गाड्नेछु। त्यो आफ्नो बुबाको घरको निम्ति एउटा सम्मानको आसन हुनेछ। 24आफ्नो परिवारको सम्पूर्ण महिमा— त्यसका सन्तान र शाखाहरू, त्यसका हरेक ससाना पात्रहरू— कचौरादेखि गाग्रोसम्मको महिमा त्यसमै निर्भर गर्नेछ।”
25सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ, “त्यस दिन त्यो बलियो ठाउँमा गाड़िएको कीला हट्नेछ। त्यो काटिनेछ र ढलेर जानेछ, र त्यसमा झुण्डिरहेको भार काटिनेछ।” परमप्रभुले भन्नुभएको छ।
ISAIAH - 23:1-18,
टुरोसको विषयमा अगमवाणी
1टुरोसको विषयमा ईश्वरवाणी: हे तर्शीशका जहाज हो, विलाप गर, किनकि टुरोस ध्वस्त पारिएको छ, र त्यहाँ कुनै घर अथवा कुनै बन्दरगाह छोड़िएको छैन। साइप्रसबाट एउटा कुरा तिनीहरूकहाँ आएको छ।
2हे टापूका मानिस हो, र हे सीदोनका व्यापारी हो! जसलाई सामुद्रिक व्यापारीहरूले धनी बनाएका छन्, तिमीहरू चूप लाग। 3ठूलो पानीमा शिहोरको अन्न आयो, नील नदीको कटनी टुरोसको कर थियो। र त्यो देश जाति-जातिहरूको बजार भयो।
4हे सीदोन र समुद्रनेरको किल्ला, लज्जित होओ, किनकि समुद्रले यसो भनेको छ, “म न त सुत्केरी वेदनामा परेकी छु, न मैले बालक जन्माएकी छु। मैले न त छोराहरू हुर्काएकी छु, न छोरीहरूलाई बढ़ाएकी छु।” 5जब समाचार मिश्रदेशमा पुग्छ, तब टुरोस सहरको समाचार सुनेर तिनीहरू साह्रै वेदनामा पर्नेछन्।
6तर्शीशमा तरेर जाओ, हे समुद्र किनारका मानिस हो, विलाप गर। 7के यो तिमीहरूको आमोदप्रमोदको सहर हो, त्यो अत्यन्तै पुरानो सहर, जसका खुट्टाले त्यसलाई प्रवास गर्न टाढ़ाका देशहरूमा पुर्याए?
8मुकुटहरू प्रदान गर्ने टुरोस सहर, जसका व्यापारीहरू राजकुमारहरू हुन्, जसका पैकारीहरू पृथ्वीमा प्रख्यात छन्। त्यसको विरुद्धमा कसले यस्तो युक्ति रच्यो? 9घमण्ड गर्ने त्यस सहरको सबै गौरवलाई तुच्छ पार्न, पृथ्वीका सारा प्रख्यातहरूलाई विनम्र तुल्याउन सर्वशक्तिमान् परमप्रभुले यो युक्ति रच्नुभएको हो।
10हे तर्शीशकी छोरी, नील नदीको किनारमा जस्तै जमिन जोत् किनकि अब तेरो कुनै बन्दरगाह रहेन। 11परमप्रभुले आफ्नो हात समुद्रमाथि फैलाउनुभएको छ र त्यसका राज्यहरूलाई काम्न लाउनुभएको छ। उहाँले फोनिकेका किल्लाहरू नष्ट पार्नलाई आज्ञा दिनुभएको छ। 12उहाँले भन्नुभयो, “हे चूर्ण पारिएका सीदोनकी कन्येछोरी, तेरो आमोदप्रमोद अब हुँदैन। उठ्, साइप्रस टापूतिर जा। तैंले त्यहाँ पनि केही विश्राम पाउनेछैनस्।” 13बेबिलोनीहरूको देशलाई हेर्। त्यस जातिको अब कुनै महत्त्व छैन। अश्शूरीहरूले त्यसलाई मरुभूमिका पशुहरूका निम्ति बनाएका छन्। तिनीहरूले आफ्ना घेरा-मचान खड़ा गरे, तिनीहरूले त्यसका किल्लाहरू उजाड़ पारी त्यसलाई भत्काइदिए र भग्नावशेष तुल्याइदिए। 14हे तर्शीशका जहाज हो, विलाप गर, तिमीहरूको किल्ला नष्ट पारिएको छ।
15त्यस समय टुरोस सत्तरी वर्षसम्म, अर्थात् एउटा राजाको जीवन अवधिसम्म बिर्सिनेछ। तर सत्तरी वर्ष बितेपछि टुरोसको दशा एउटी वेश्याको गीतजस्तै हुनेछ। 16“हे बिर्सिएकी वेश्या, वीणा लिएर सहरको बीचबाट जा। वीणाको सङ्गीत बजा, धेरै गीत गा, र फेरि तेरो सम्झना गरिनेछ।”
17सत्तरी वर्षको अन्तमा परमप्रभुले सोरमाथि निगाह गर्नुहुनेछ, र त्यो फेरि आफ्नो वेश्यावृत्तिको पेशातिर फर्कनेछ, र पृथ्वीभरिका सारा राज्यहरूसित त्यसले व्यापार गर्नेछ। 18तापनि त्यसको नाफा र त्यसको कमाइ परमप्रभुको निम्ति अलग्गै छुट्ट्याइनेछ। भण्डारमा ती सञ्चय गरिनेछैन। त्यसका व्यापारका नाफाहरू परमप्रभुका मानिसहरूका निम्ति प्रशस्त खानेकुरा र सुन्दर लुगाका निमित्त हुनेछन्।
ISAIAH - 24:1-23,
परमप्रभुद्वारा पृथ्वीको विनाश
1हेर, परमप्रभुले पृथ्वी उजाड़ गर्नुहुनेछ। उहाँले त्यसलाई विनाश पारेर त्यहाँका बासिन्दाहरूलाई छरपष्ट पार्नुहुनेछ। 2जस्तो मानिसहरूको दशा हुन्छ, त्यस्तै पूजाहारीको पनि हुन्छ, जस्तो दासको त्यस्तै मालिकको, जस्तो दासीको त्यस्तै मालिक्नीको, जस्तो किन्नेको त्यस्तै बेच्नेको, जस्तो उधारो लिनेको त्यस्तै उधारो दिनेको दशा हुनेछ। जस्तो ऋण लिनेको त्यस्तै ऋण दिनेको हुन्छ। 3पूरै पृथ्वी उजाड़ हुनेछ र पूर्ण रूपमा लूटपीट गरिनेछ, किनकि परमप्रभुले नै यो कुरा भन्नुभएको छ।
4पृथ्वी सुक्खा हुनेछ, र त्यो ओइलाउँछ। संसार दुर्बल हुन्छ, र त्यो ओइलाउँछ। पृथ्वीका उच्च दर्जाका मानिसहरू दुर्बल हुन्छन्। 5पृथ्वी त्यसमा रहने मानिसहरूद्वारा दूषित पारिएको छ। तिनीहरूले नियमहरू उल्लङ्घन गरेका छन्, कानूनहरू भङ्ग गरेका छन् र सदासर्वदाको करार तोड़ेका छन्। 6यसकारण एउटा सरापले पृथ्वीलाई भस्म गर्छ, र त्यसका मानिसहरूले दोषको दण्ड भोग्नैपर्छ। यसैकारण पृथ्वीका बासिन्दाहरू जलाइए, र थोरै मानिसहरू मात्र बाँकी रहेका छन्। 7नयाँ दाखमद्य सुक्छ, र दाखको बोट ओइलाउँछ। हर्ष मनाउनेहरू सबैले सुस्केरा हाल्छन्। 8खैँजड़ीको खुशीयाली बन्द भएको छ। रमाहट गर्नेहरूको सोर बन्द छ। वीणाको आनन्द बन्द छ। 9तिनीहरूले दाखमद्य पिउँदै गीत गाउँदैनन्। कड़ा मद्य पिउनेलाई त्यो तीतो लाग्छ। 10ध्वंस भएको सहर उजाड़ भएको छ। हरेक घरका ढोका थुनिएको छ। 11मद्यको निम्ति सड़कहरूमा तिनीहरू कराउँछन्। सबै रमाहट नैराश्यमा परिणत भएको छ। पृथ्वीबाट खुशीयाली नै धपाइएको छ। 12सहरमा विनाश मात्र रहेको छ, र मूल ढोका भत्काएर टुक्रै-टुक्रा पारिएको छ। 13जैतून रूख हल्लाएर फलहरू झारिएपछि अथवा अङ्गूर टिपिसकेपछि शिला छोड़िएझैँ त्यो पृथ्वीमा र जाति-जातिहरूमा हुनेछ।
14तिनीहरू आफ्ना सोर उचाल्छन्। तिनीहरू रमाहटले कराउँछन्। परमप्रभुको महान् महिमाको तिनीहरूले पश्चिमबाट जयजयकार गर्छन्। 15यसकारण पूर्वमा परमप्रभुको महिमा गर। समुद्रका टापूहरूमा परमप्रभु इस्राएलका परमेश्वरको नाउँ उच्च पार। 16पृथ्वीको पल्लो कुनादेखि हामी “धर्मी जनको महिमा” भनी गाइरहेको सुन्छौं।
तर मैले भनें, “म सुक्दैजाँदैछु, म सुक्दैजाँदैछु मलाई धिक्कार छ! धोखाबाजी गर्नेहरू धोखाबाजी गर्छन्! धोखाबाजी गरेर नै धोखाबाजी गर्नेहरू विश्वासघात गर्छन्!” 17हे पृथ्वीका मानिसहरू हो, त्रास, खाड़ल र पासोले तिमीहरूलाई पर्खिरहेछन्। 18त्रासको सोर सुनेर भाग्ने खाड़लमा पर्नेछ, र खाड़लबाट माथि निस्केर आउनेचाहिँ पासोमा पर्नेछ।
स्वर्गका झ्यालहरू खोलिएका छन्, र पृथ्वीका जगहरू हल्लन्छन्। 19पृथ्वी फाट्यो। पृथ्वी दुई भाग भएको छ। पृथ्वी जोडसित हल्लियो। 20पृथ्वी मतवाला मानिसझैँ धरमराउँछ। झुप्रोलाई बतासले हल्लाएझैँ त्यो यताउता हल्लिन्छ। आफ्नो बागीपनको दोष त्यसमाथि यति गह्रौँ भएको छ कि कहिल्यै नउठ्ने गरी त्यो ढल्छ।
21त्यस दिन परमप्रभुले माथि स्वर्गको शक्तिलाई र तल पृथ्वीका राजाहरूलाई दण्ड दिनुहुनेछ। 22कैदीहरू कैदखानाभित्र बाँधेर राखिएझैँ तिनीहरू एकसाथ जम्मा गरिनेछन्। तिनीहरू झ्यालखानमा बन्द गरिनेछन्, र धेरै दिनपछि तिनीहरूलाई सजाय दिइनेछ। 23तब चन्द्रमा शर्माउनेछ, र सूर्यको किरण लजाउनेछ। किनकि सर्वशक्तिमान् परमप्रभुले सियोन पर्वतमा र यरूशलेममा र त्यसका धर्म-गुरुहरूका सामुन्ने महिमासित राज्य गर्नुहुनेछ।
ISAIAH - 25:1-12,
परमप्रभुको प्रशंसा
1हे परमप्रभु, तपाईं मेरा परमेश्वर हुनुहुन्छ, म तपाईंको नाउँलाई उच्च पार्दछु र तपाईंका नाउँको प्रशंसा गर्दछु, किनकि सम्पूर्ण विश्वासमा तपाईंले आश्चर्यका कामहरू गर्नुभयो, ती कामहरू जो धेरै अघि तादिमा योजना गरिएका थिए। 2तपाईंले सहरलाई ढुङ्गाको थुप्रो बनाइदिनुभएको छ। सुरक्षित नगरलाई ध्वंस गर्नुभयो। विदेशीहरूको किल्लाहरूले भरिएको सहर अब सहर रहेन। त्यो फेरि कहिल्यै निर्माण गरिनेछैन। 3यसैकारण बलिया जातिहरूले तपाईंलाई मान दिनेछन्, र क्रूर जातिहरूका सहरहरूले तपाईंलाई सम्मान दिनेछन्। 4तपाईं गरीबहरूका निम्ति र दु:खमा परेका दरिद्रहरूका निम्ति एउटा शरण हुनुभएको छ, आँधीबेहरीमा शरण र घाममा छाया हुनुभएको छ। किनकि निष्ठुरहरूको झोँक पर्खालमा ठोकिएको आँधीझैँ हो, 5र मरुभूमिमा ताप परेझैँ हो। तपाईंले विदेशीहरूको हल्लालाई साम्य पार्नुहुन्छ। बादलले घामलाई छाया पारेझैँ निष्ठुरहरूको गीत तपाईंले बन्द गरिदिनुहुन्छ।
6सर्वशक्तिमान् परमप्रभुले यसै पर्वतमा सारा मानिसहरूका निम्ति मीठा-मीठा थोकहरू— छिप्पिएको मद्य, असल-असल स्वादिष्ट थोकहरू, सबैभन्दा असल मद्यको भोज लाउनुहुनेछ। 7उहाँले यही पर्वतमा सारा मानिसहरूलाई ढाक्ने वस्त्र र सारा जातिलाई छोप्ने तन्ना हटाइदिनुहुनेछ। 8उहाँले मृत्युलाई सदाको निम्ति निल्नुहुनेछ। परमप्रभु परमेश्वरले सबैका अनुहारबाट आँसु पुछिदिनुहुनेछ। उहाँले सारा पृथ्वीबाट आफ्नो प्रजाको निन्दा हटाइदिनुहुनेछ। परमप्रभुले भन्नुभएको छ।
9त्यस दिन तिनीहरूले यसो भन्नेछन्, “निश्चय उहाँ नै हाम्रा परमेश्वर हुनुहुन्छ, हामीले उहाँमाथि भरोसा गर्यौं र उहाँले नै हामीलाई बचाउनुभयो। उहाँ नै परमप्रभु हुनुहुन्छ, उहाँमाथि हामीले भरोसा गर्यौं। उहाँले गर्नुभएको उद्धारमा हामी खुशी होऔं र रमाऔं।”
10यस पर्वतमा परमप्रभुको हात रहनेछ, तर मोआब उहाँमुनि कुल्चीमिल्ची हुनेछ, जस्तो पराल मलमा कुल्चीमिल्ची हुन्छ। 11जसरी पौडनेले पौडँदा आफ्ना हात फैलाउँछ, त्यसरी नै तिनीहरूले त्यसमा आफ्ना हात फैलाउँछन्। तिनीहरूले आफ्ना हातको चलाकी देखाए तापनि परमेश्वरले तिनीहरूको घमण्ड तल झार्नुहुनेछ। 12तेरा अल्गा-अल्गा किल्ला भएका पर्खालहरू उहाँले भत्काइदिनुहुनेछ, र तिनीहरूलाई जमिनमा सोतर पारिदिनुहुनेछ, अर्थात् धूलोमा मिलाइदिनुहुनेछ।
ISAIAH - 26:1-21,
प्रशंसाको गीत
1त्यस दिन यहूदाको देशमा यो गीत गाइनेछ:
हाम्रो एउटा बलियो सहर छ। परमेश्वरले त्यसका भित्ता र पर्खाललाई उद्धार बनाउनुहुन्छ।
2मूल ढोकाहरू खोल र धार्मिक जाति, अर्थात् विश्वास कायम राख्ने जाति पस्न सकून्।
3जसको मन तपाईंमा अड़िएको छ, त्यसलाई तपाईंले पूरा शान्तिमा राख्नुहुन्छ, किनभने त्यसले तपाईंमाथि भरोसा राख्छ।
4सदासर्वदा परमप्रभुमा भरोसा राख, किनभने परमप्रभु, परमप्रभु नै सनातनका चट्टान हुनुहुन्छ।
5उच्चमा बस्नेहरूलाई उहाँले विनम्र तुल्याउनुहुन्छ। उच्च सहरलाई उहाँले होच्याउनुहुन्छ। उहाँले त्यसलाई जमिनको सतहसम्म झारिदिनुहुन्छ। उहाँले त्यसलाई धूलोमा फालिदिनुहुन्छ।
6खुट्टाले त्यसलाई कुल्चिन्छ, थिचोमिचोमा परेकाहरूका खुट्टा र दरिद्रका पाइलाले कुल्चिनेछ।
7धर्मीको बाटो सोझो हुन्छ। हे धर्मी जन हो, तपाईंले नै धर्मीको बाटो सोझ्याउनुहुन्छ।
8हे परमप्रभु, तपाईंका इन्साफको मार्गमा, हामी तपाईंलाई पर्खन्छौं। हाम्रा हृदयको इच्छा तपाईंकै नाउँ र तपाईंकै सम्झनामा छ।
9राती मेरो प्राणले तपाईंको लालसा गर्छ। बिहान मेरो आत्माले तपाईंको चाहना गर्दछ। जब तपाईंको न्याय पृथ्वीमा प्रकट हुन्छ, तब संसारका मानिसहरूले धार्मिकता सिक्छन्।
10दुष्टमाथि अनुग्रह देखाइए तापनि तिनीहरूले धार्मिकता सिक्नेछैनन्। सोझाहरूको देशमा पनि तिनीहरू दुष्ट्याइँ गरी नै रहन्छन्,
र परमप्रभुको महिमालाई ख्याल गर्दैनन्।
11हे परमप्रभु, तपाईंले आफ्नो हात माथि उठाउनुभएको छ, तर तिनीहरूले त्यो देख्दैनन्। आफ्नो प्रजाको निम्ति तपाईंको जोश तिनीहरूले देखून् र लज्जित होऊन्। तपाईंका विरोधीहरूका लागि अलग्गै राखेको आगोले तिनीहरूलाई भस्म पारोस्।
12हे परमप्रभु, तपाईंले हाम्रा निम्ति शान्ति स्थापित गर्नुहुन्छ। जो हामीले सफलतापूर्वक प्राप्त गर्यौं, ती सबै तपाईंले नै हाम्रा निम्ति गर्नुभएको हो।
13हे परमप्रभु, हाम्रा परमेश्वर, तपाईंबाहेक अरू मालिकहरूले हामीमाथि शासन गरे, तर तपाईंका नाउँको मात्र हामी सम्मान गर्छौं।
14तिनीहरू मरे, अब उप्रान्त तिनीहरू जिउनेछैनन्। बिदा भइसकेका ती आत्माहरू बिउँतनेछैनन्। तपाईंले तिनीहरूलाई सजाय दिनुभयो र नाश गर्नुभयो,
र तिनीहरूका सबै सम्झना मेटिदिनुभयो।
15तपाईंले जातिको वृद्धि गर्नुभएको छ, हे परमप्रभु, तपाईंले जातिको वृद्धि गर्नुभएको छ। तपाईंले स्वयम् महिमा प्राप्त गर्नुभएको छ। तपाईंले देशका सारा सिमाना बढ़ाउनुभएको छ।
16हे परमप्रभु, दु:खमा तिनीहरू तपाईंकहाँ आए। जब तपाईंले तिनीहरूलाई ताड़ना दिनुभयो, तिनीहरूले मुश्किलले प्रार्थना गुनगुनाउन सके।
17जन्म दिने बेला नजिक आउँदा जसरी एउटी गर्भवती स्त्री पीडामा पर्दछे,
र आफ्नो वेदनामा कराइउठ्छे, त्यसरी नै, हे परमप्रभु, हामी पनि तपाईंको सामुन्ने भएका थियौं।
18हामीले पनि गर्भधारण गर्यौं, हामी पनि पीडामा पर्यौं, तर हामीले त वायु मात्र जन्मायौं। हामीले पृथ्वीमा उद्धार ल्याउन सकेनौं। संसारका मानिसहरूलाई हामीले जन्म दिएका होइनौं।
19तर तपाईंका मरिगएका जनहरू जिउनेछन्। तिनीहरूका शरीरको पुनरुत्थान हुनेछ। हे माटोमा बस्ने हो, उठ र आनन्दले कराओ। तपाईंको शीत बिहानको शीतजस्तै छ, पृथ्वीले आफ्ना मरेकाहरूलाई जन्माउनेछ।
20हे मेरा मानिस हो, जाओ, तिमीहरू आफ्ना कोठाहरूमा पसेर ढोकाहरू थुन। उहाँको क्रोध शान्त नहोउञ्जेल, केही क्षणको निम्ति लुकिबस।
21हेर, पृथ्वीका मानिसहरूलाई तिनीहरूका पापका निम्ति सजाय दिन परमप्रभु आफ्नो वासस्थानबाट निस्की आउँदैहुनुहुन्छ। पृथ्वीले आफूमाथि पोखाइएको रगत प्रकट गर्नेछ,
र मारिएकाहरूलाई अब उप्रान्त पृथ्वीले छिपाउनेछैन।
ISAIAH - 27:1-13,
इस्राएलको छुटकारा
1त्यस दिन परमप्रभुले आफ्नो डरलाग्दो, शक्तिशाली र ठूलो तरवारले त्यो सुल्कने सर्प, लिव्यातन्, त्यो गुँडुली बस्ने सर्पलाई दण्ड दिनुहुनेछ। उहाँले समुद्रको विशाल अजिङ्गरलाई मार्नुहुनेछ।
2त्यस दिन, “फल दिने एउटा सुन्दर दाखबारीको विषयमा गीत गाओ। 3म, परमप्रभु, त्यसको हेरचाह गर्छु। म त्यसमा निरन्तर पानी हाल्छु। म रातदिन त्यसको रेखदेख गर्छु, नत्रता कसैले त्यसलाई नोक्सानी गर्ला। 4म रिसाएको छैनँ। सिउँड़ी र काँढ़ाहरूले मलाई रोक्न उम्रेका भए त म तिनीहरूका विरुद्धमा लड़ाइँ गर्न जाइलाग्नेथिएँ। म तिनीहरूलाई जलाउनेथिएँ। 5तिनीहरू शरण लिन मकहाँ आऊन्। तिनीहरू मसित मिलाप गरून्। हो, तिनीहरू मसित मिलाप गरून्।”
6आउने दिनहरूमा याकूबले जरा गाड्नेछ, इस्राएल फुल्ने र फल्नेछ, र समस्त पृथ्वीलाई फलले भर्नेछ।
7के त्यसलाई हिर्काउनेहरूलाई हिर्काउनुभएझैँ उहाँले त्यसलाई हिर्काउनुभयो? त्यसलाई मार्नेहरू मारिएझैँ के त्यो पनि मारियो? 8तपाईंले त्यससित झगड़ा तथा त्यसलाई देश निर्वासन गरेर त्यससित युद्ध गर्नुहुन्छ। पूर्वीय बतास चलेको दिनमा जस्तै उहाँले त्यसलाई भयङ्कर वायुको झोक्काले उड़ाइदिनुहुन्छ। 9यसैद्वारा याकूबको अधर्मको प्रायश्चित गरिनेछ, र त्यसको पाप दूर गरिएको सारा फल यही हुनेछ। जब त्यसले वेदीका सबै ढुङ्गाहरू खरी-ढुँगाझैँ चकनाचूर पार्छ, तब अशेरा देवीका खम्बा र धूप बाल्ने वेदीहरू फेरि खड़ा हुनेछैनन्।
10सुरक्षित सहर निर्जन भयो, निर्जन र त्यागिएका वासस्थान उजाड़ भूमिझैँ भयो। त्यहाँ बाछाहरू चर्छन्, त्यहाँ तिनीहरूले विश्राम गर्छन्, र तिनीहरूले त्यसका हाँगाहरू लुछेर नाङ्गै बनाउँछन्। 11जब त्यसका ससाना हाँगाहरू सुक्छन्, तब ती भाँचिन्छन् र स्त्रीहरू आएर ती आगोमा जलाउँछन्। किनकि समझै नभएको यो एक जाति हो। यसैकारण तिनीहरूलाई बनाउनुहुनेले तिनीहरूमाथि टिठ्याउनुहुन्न र तिनीहरूका सृष्टिकर्ताले तिनीहरूमाथि निगाह गर्नुहुन्न।
12त्यस दिन परमप्रभुले बगिरहने यूफ्रेटिस नदीदेखि मिश्रको खोलासम्मै आफ्नो अन्न छाँट्नुहुनेछ, र हे इस्राएली, तिमीहरूचाहिँ एक-एक गरी जम्मा गरिनेछौ। 13त्यस दिन एउटा ठूलो तुरही बज्नेछ। अश्शूरमा नष्ट हुनेहरू र मिश्रदेशमा निर्वासित भएकाहरू आएर यरूशलेमको पवित्र पर्वतमा परमप्रभुको आराधना गर्नेछन्।
ISAIAH - 28:1-29,
एफ्राइमलाई धिक्कार
1एफ्राइमका मतवालाहरूको अहङ्कारका शिरको फूलमालालाई र त्यसको महिमित शोभाको ओइलाउने फूललाई धिक्कार, जो मलिलो उपत्यकाको सिरानमा राखिएको छ। त्यो सहर जसको अहङ्कारलाई दाखमद्यले होच्याइएको छ। 2हेर, परमप्रभुको एक जना शक्तिशाली र बलियो जन छ। असिना र नाश गर्ने आँधीझैँ, भयङ्कर बाढ़ीको मुसलधार वर्षा र तूफानझैँ उहाँले जोडदार रूपमा त्यसलाई भूइँमा फालिदिनुहुनेछ। 3एफ्राइमका मतवालाहरूको अङ्ककारका शिरको माला खुट्टामुनि कुल्चीमिल्ची हुनेछ। 4त्यसको महिमित शोभाको ओइलाउने फूल, जो प्रशस्त उब्जनी हुने बेँसीको सिरानमा राखिएको छ, त्यो कटनीभन्दा पहिले पाकेको अञ्जीरजस्तो हुनेछ, जो कसैले देख्ने बित्तिकै हातमा लिएर निलिहाल्छ।
5त्यस दिन आफ्नो प्रजाका बाँचेकाहरूका निम्ति सर्वशक्तिमान् परमप्रभु आफै महिमाको मुकुट र सुन्दरताको माला हुनुहुनेछ। 6उहाँ इन्साफ गर्नलाई बस्नेको निम्ति न्यायको आत्मा र सहरको मूल ढोकामा युद्ध गर्नेहरूका निम्ति शक्तिको स्रोत हुनुहुनेछ।
7यिनीहरू पनि दाखमद्यले गर्दा धरमरिन्छन्, जाँड़ले गर्दा तिनीहरू लरबरिन्छन्: पूजाहारी र अगमवक्ता जाँड़ले धरमरिन्छन्। दाखमद्यले तिनीहरू लट्ठिएका छन्। तिनीहरू जाँड़ले गर्दा धरमरिएका छन्। दर्शन देख्दा तिनीहरू धरमरिन्छन्, निर्णय दिँदा तिनीहरू लरबराउँछन्। 8सबै टेबिलहरू बान्ताले भरिएका छन्। फोहोर नभएको ठाउँ एउटै पनि छैन।
9“त्यसले कसलाई सिकाउन चाहेको छ? कसलाई त्यसले समाचारको अर्थ बुझाउँदैछ? भर्खर दूध छोड़ेका बालकहरूलाई, भर्खर दूधबाट अलग गरिएकाहरूलाई? 10किनकि यस्तो छ— गरिबस, गरिबस, शासन गर, शासन गर, यहाँ अलिकति, त्यहाँ अलिकति।”
11त्यसो हो भने, अन्य भाषा र अरू नै बोलीद्वारा परमप्रभु यस प्रजासित बोल्नुहुनेछ, 12जसलाई उहाँले भन्नुभयो, “विश्राम गर्ने ठाउँ यही हो, थाकेकाहरूले यहीँ नै विश्राम गरून्। अनि आरामको ठाउँ यही हो।” तापनि तिनीहरूले सुन्ने मन गरेनन्। 13यसकारण परमप्रभुको वचन तिनीहरूलाई यस्तो हुनेछ: गरिबस्, गरिबस्, शासन गर्, शासन गर्, अलिकति यहाँ, अलिकति त्यहाँ। यसरी तिनीहरू अगि बढून्, लोटून्, घाइते होऊन् र पासोमा परून्।
14यसैकारण हे निन्दा गर्ने मानिस हो, जसले यरूशलेममा यस प्रजामाथि शासन गर्दछन्, परमप्रभुको वचन सुन। 15तिमीहरूले यो भनेर घमण्ड गर्दछौ, “हामीले मृत्युसित करार बाँधेका छौं, र पातालसित हामीले सम्झौता गरेका छौं। अत्यन्तै ठूलो विपत्ति हामीमाथि परे तापनि, त्यसले हामीलाई छुनेछैन। किनकि हामीले झूटको शरण लिएका छौं, र असत्यतालाई हाम्रो लुक्ने ठाउँ बनाएका छौं।”
16यसकारण सर्वोच्च परमप्रभु भन्नुहुन्छ, “हेर, मैले सियोनमा एउटा ढुङ्गो बसालेको छु, एउटा जाँचेको ढुङ्गो, दृढ़ जगको निम्ति एउटा बहुमूल्य कुने-ढुङ्गो। भरोसा गर्नेले कहिल्यै हरेस खानेछैन। 17म इन्साफलाई नाप्ने डोरी, र धार्मिकतालाई चाहिँ साहुल बनाउनेछु। असिनाले तिमीहरूको झूटको शरणस्थान बगाएर लैजानेछ, र पानीले तिमीहरूको लुक्ने ठाउँ डुबाइदिनेछ।” 18मृत्युसितको तिमीहरूको करार रद्द गरिनेछ, र पातालसित गरेको तिमीहरूको सम्झौता स्थिर रहनेछैन। जब विपत्तिको बाढ़ यताबाट जानेछ, तिमीहरूलाई त्यसले डुबाउनेछ। 19जहिले-जहिले त्यो उर्लेर आउँछ, त्यसले तिमीहरूलाई बगाएर लैजानेछ। बिहानैपिच्छे, दिनमा र रातमा त्यो उर्लेर आउनेछ।”
यो सन्देशको बुझाइले घोर त्रास मात्र ल्याउनेछ। 20लम्पसार पर्नलाई ओछ्यान साह्रै छोटो हुन्छ, आफूलाई ढाक्न कम्बल साह्रै सानो हुन्छ। 21पराजीम पर्वतमा उठ्नुभएझैँ परमप्रभु उठ्नुहुनेछ, गिबोनको बेँसीमा उहाँ जाग्नुभएझैँ जाग्नुहुनेछ— आफ्नो काम, आफ्नो अनौठो काम गर्न र आफ्नो कार्य, अर्थात् आफ्नो अर्कै कार्य पूरा गर्न। 22अब आफ्नो ठट्टा रोक, नत्रता तिमीहरूका साङ्ला अझ गह्रौँ हुनेछन्। परमप्रभु, सर्वशक्तिमान् परमप्रभुले सारा देश नै नष्ट हुने कुरा मलाई भन्नुभएको छ।
23सुन र मेरो सोर सुन, ध्यान देऊ, र मैले भनेको कुरा सुन। 24जब कुनै किसानले केही रोप्नलाई जमिन जोत्छ, त के उसले जोतिरहन्छ? के त्यसले निरन्तर माटो खनेर डल्ला फोर्दै रहन्छ? 25जब उसले जमिन खनेर सम्म बनाउँछ तब के उसले सूँप र जीरा छर्दैन? के उसले गहूँ त्यसकै स्थानमा रोप्दैन? र जौ त्यसको नियत स्थानमा रोप्दैन? र कठिया खेतमा रोप्दैन? 26उसका परमेश्वरले उसलाई ठीक शिक्षा दिनुहुन्छ र ठीक-ठीक तरीका सिकाउनुहुन्छ।
27कुनै घनले सूँप छाँटिँदैन, न त गाड़ाको पाङ्ग्राले जीरामाथि दाइँ गरिन्छ। तर सूँप लहुरोले र जीराचाहिँ एउटा लहुरोले चुटिन्छ। 28रोटी बनाउने अन्न पिँधिनैपर्छ, कसैले त्यसलाई चुटिरहँदैन। अनि त्यसले गाड़ाको पाङ्ग्रा त्यसमाथि गुड़ाए तापनि घोड़ाले त्यो पिँध्दैन। 29यी सबै पनि सर्वशक्तिमान् परमप्रभुबाटै हुन आउँछ, जो सल्लाह दिनमा उदेकका र बुद्धिमा सर्वोत्तम हुनुहुन्छ।
ISAIAH - 29:1-24,
दाऊदको सहरलाई धिक्कार
1तँलाई धिक्कार! अरीएल, अरीएल, सहर जहाँ दाऊदले बसोबास गर्थे। वर्षमाथि वर्ष थप्दै जाओ र चाड़हरू फेरो मार्दैआऊन्। 2तापनि म अरीएललाई घेरा हाल्नेछु र त्यो रुनेछ र त्यसले विलाप गर्नेछ, त्यो मेरो निम्ति वेदीको अगेनो हुनेछ। 3म तेरो चारैतिर छाउनी बनाउनेछु र धरहरा बनाएर तँलाई घेर्नेछु, र म तेरो विरुद्धमा घेरा हाल्ने काम गर्नेछु। 4तँ तल खसालिनेछस् र भूइँबाट बोल्नेछस्, तेरो अस्पष्ट शब्द धूलोभित्रबाट निस्कनेछ, तेरो सोर प्रेतको जस्तो पृथ्वीबाट निस्कनेछ, र तेरो बोलीले धूलोभित्रबाट कानेखुसी गर्नेछ।
5तर तेरा धेरै शत्रुहरूचाहिँ धूलोका मसिना कणजस्ता हुनेछन्, र निर्दयीहरूको भीड़चाहिँ उड़ाइएको भुसजस्तै हुनेछ। झट्टै पलभरिमा नै 6सर्वशक्तिमान् परमप्रभु गड्याङगुडुङ, भुइँचालो र ठूलो आवाज, भुमरी र आँधीबेहरी, भस्म गर्ने आगोको ज्वालासित आउनुहुनेछ। 7अरीएलको विरुद्धमा लड़ाइँ गर्न सारा जाति-जातिहरूका भीड़हरू, जसले त्यसको किल्लालाई आक्रमण गर्छन्, र त्यसलाई घेरा लगाउँछन्, ती सपनाझैँ, अर्थात् रातको दर्शनझैँ हुनेछन्। 8जसरी भोकाएको मानिसले सपनामा खाएको देख्छ, तर ब्यूझँदा त्यो भोकै हुन्छ, अथवा जसरी तिर्खाएको मानिसले सपनामा पानी पिइरहेको देख्छ, तर ब्यूझँदा घाँटी सुकिरहेको र तिर्खा नमेटिएको हुन्छ। सियोन पर्वतको विरुद्धमा लड्ने सबै जाति-जातिका भीड़हरूको दशा पनि त्यस्तै हुनेछ।
9आश्चर्यचकित, र छक्क पर, अन्धा भएर दृष्टिविहीन होओ। मतवाला त होओ तर दाखमद्यले होइन, धरमरिओ, तर जाँड़ले त होइन। 10परमप्रभुले तिमीहरूमा गहिरो निद्रा ल्याइदिनुभएको छ, र तिम्रा आँखा (अर्थात् अगमवक्ताहरू) बन्द गरिदिनुभएको छ, र तिम्रा शिर (अर्थात् दर्शन देख्नेहरू) ढाकिदिनुभएको छ।
11तिमीहरूका निम्ति यो सारा दर्शन छाप लगाएर बन्द गरिएको पुस्तकका मुट्ठाका शब्दहरू मात्र हुन्। अनि यदि तिमीहरूले पुस्तकको मुट्ठा कुनै पढ्न सक्ने मानिसलाई यसो भनेर दियौ भने, “दया गरी, यो पढ्नुहोस्,” त्यसले जवाफ दिएर भन्नेछ, “अँहँ, म पढ्न सक्दिनँ, त्यो छाप लगाएको बन्द पुस्तक हो।” 12अथवा यदि त्यो पुस्तकको मुट्ठा कुनै पढ्न नसक्ने मानिसलाई यसो भनेर दियौ भने, “दया गरी, यो पढ़िदिनुहोस्,” त्यसले भन्नेछ, “मलाई त पढ्नै आउँदैन।”
13परमप्रभुले यसो भन्नुहुन्छ, “यी मानिसहरू मुख देखाउन मेरो नजिक आउँछन् र ओठले मेरो आदर गर्छन्, तर तिनीहरूको हृदय भने मदेखि टाढ़ा छ। मप्रतिको तिनीहरूको आराधना केवल मानिसहरूले सिकाएका विधिहरू हुन्। 14यसकारण म एक पल्ट फेरि यस प्रजाको बीचमा उदेकमाथि उदेकको काम गरेर छक्क पार्नेछु, र तिनीहरूका बुद्धिमान् मानिसहरूको बुद्धि नष्ट हुनेछ, र तिनीहरूका सबैभन्दा चतुर मानिसहरूको चतुर्याइँ लोप हुनेछ।” 15धिक्कार तिनीहरूलाई, जसले आफ्नो युक्ति परमप्रभुबाट लुकाउने ठूलो प्रयत्न गर्दछन्, जसले आफ्ना काम अँध्यारोमा गर्दछन्, र सोच्छन्, “कसले हामीलाई देख्छ र? कसले जान्दछ?” 16कुमाले माटोजस्तै छ भनी सोचेजस्तै तिमीहरू कुरा उल्टापुल्टा पार्छौ! के बनाएको चीजले बनाउनेको विषयमा भन्छ, “त्यसले मलाई बनाएको होइन”? के बनाएको भाँड़ाले कुमालेको विषयमा यसो भन्न सक्छ, “त्यसले केही पनि जान्दैन”?
17छिट्टै नै के लेबनान एउटा मलिलो खेतमा परिवर्तन हुँदैन र? अनि मलिलो खेतचाहिँ वनजस्तो देखिँदैन र? 18त्यो दिन बहिराले पुस्तकको मुट्ठामा लेखिएका वचन सुन्नेछ, र घोर अँध्यारोबाट अन्धाको आँखाले देख्नेछ। 19नम्रहरूले फेरि परमप्रभुमा आनन्द मनाउनेछन्, र आवश्यकतामा परेकाहरूले इस्राएलका परमपवित्रमा रमाहट गर्नेछन्। 20निर्दयी मानिसहरूको केही नाउँनिशानै रहनेछैन। निन्दा गर्नेहरू लोप हुनेछन्, र दुष्ट काममा नजर लाउनेहरू संहार गरिनेछन्, 21जसले मानिसलाई कुरामा फसाएर दोषी ठहराउँछन्, र न्यायालयमा प्रतिवादीलाई पासोमा पार्छन्, र निर्दोषीलाई इन्साफ गर्दा झूटा गवाही दिएर न्यायबाट वञ्चित गर्दछन्।
22यसकारण अब्राहामलाई उद्धार गर्नुहुने परमप्रभुले याकूबको घरानालाई यसो भन्नुहुन्छ, “याकूब अब लज्जित हुनेछैन, न त तिनीहरूको अनुहार पहेँलो हुनेछ। 23जब तिनीहरूले आफ्ना बीचमा आफ्नै छोराछोरीहरू, मेरा हातको कामलाई देख्छन्, तिनीहरूले मेरो नाउँ पवित्र तुल्याउनेछन्। तिनीहरूले याकूबका परमपवित्रलाई पवित्र भनी स्वीकार गर्नेछन् र इस्राएलका परमेश्वरको भय मान्नेछन्। 24आत्मामा भ्रममा परेकाहरूले पनि समझ प्राप्त गर्नेछन्, र गनगनाउनेहरूले शिक्षा ग्रहण गर्नेछन्।”
ISAIAH - 30:1-33,
अटेरी जातिलाई धिक्कार
1परमप्रभु घोषणा गर्नुहुन्छ, “धिक्कार! ती अटेरी छोराछोरीहरूलाई, जसले योजनालाई सञ्चालन गर्छन् तर ती मेरा होइनन्, मित्रता गाँस्छन्, तर मेरो आत्माले होइन, र पापमाथि पाप बढ़ाएका छन्। 2तिनीहरू मेरो सल्लाह नलिई मिश्रमा जान्छन्, फारोका रक्षाको निम्ति सहायता लिन जान्छन्। मिश्रदेशको छत्रछायामा शरण लिन जान्छन्। 3तर फारोको रक्षाले तिमीहरूलाई लाजमा पार्नेछ, र मिश्रदेशको छत्रछायाले तिमीहरूमाथि शर्म ल्याउनेछ। 4यद्यपि तिनीहरूका अधिकृतहरू सोअनमा छन्, र तिनका राजदूतहरूचाहिँ हानेसमा आएका छन्, 5यस्तो जातिको कारण तिनीहरू सबै लाजमा पर्नेछन्, जो तिनीहरूका निम्ति निकम्मा छन्, जसले न त केही सहायता न केही लाभ ल्याउन सक्छन्, तर शर्म र गिल्ला मात्र ल्याउँछन्।”
6नेगेव देशका पशुहरूका विषयमा ईश्वरवाणी: सिंह र सिंहनी, नाग र अति विषालु उड्ने सर्प निस्कने, दु:ख र वेदना भएको देशबाट भएर राजदूतहरूले आफ्ना धन-सम्पत्ति गधाहरूका पिठिउँमा र आ-आफ्ना बहुमूल्य भण्डारहरू ऊँटहरूका जुरामा लदाएर त्यस जातिको निम्ति लैजान्छ, जसबाट तिनीहरूलाई केही लाभ हुँदैन, 7मिश्रदेशमा जसको सहायता एकदमै व्यर्थको छ। यसकारण मैले त्यसलाई केही नगर्ने राहाब भनेको छु।
8अब जा, आउँदो समयको निम्ति अनन्त साक्षी होस् भनेर तिनीहरूका निम्ति एउटा पाटीमा, एउटा पुस्तकको मुट्ठामा त्यो लेख। 9यो एउटा बागी प्रजा, धोका दिने छोराछोरीहरू हुन्, अर्थात् परमप्रभुको शिक्षा नसुन्ने छोराछोरी हुन्। 10दर्शन देख्नेहरूलाई तिनीहरू भन्दछन्, “अब उसो दर्शन नदेख!” तिनीहरू अगमवक्ताहरूलाई भन्दछन्, “हामीलाई ठीक कुराहरूको दर्शन नदेओ! हामीलाई मनपर्दा कुराहरू भन, भ्रमात्मक अगमवाणी कह। 11यो बाटो छोड़, यो मार्गबाट हट, र इस्राएलका परमपवित्रसित हाम्रो सामना गर्न बन्द गर।”
12यसकारण इस्राएलका परमपवित्र भन्नुहुन्छ, “तिमीहरूले यस समाचारलाई इन्कार गरेका छौ, र अत्याचारमाथि र छलका कुरामा भर परेका छौ। 13यसकारण यो पाप तिमीहरूका निम्ति पुट्ट निस्केर तुरुन्तै खस्न लागेको एउटा अल्गो पर्खालजस्तै हुनेछ, जो क्षणभरमा एक्कासि ढल्नेछ। 14कुमालेको भाँड़ा निर्दयतासित फुटाएझैँ, त्यो टुक्रा-टुक्रा भएर फुट्नेछ, कि त्यसका टुक्राहरूमा अगेनोबाट आगो झिक्ने अथवा इनारबाट पानी उघाउन एउटा सानो टुक्रासम्म पनि रहनेछैन।”
15परमप्रभु परमेश्वर, इस्राएलका परमपवित्र यही भन्नुहुन्छ, “पश्चात्ताप र विश्राममा तिमीहरूको उद्धार छ। मौनधारण र भरोसामा तिमीहरूलाई शक्ति मिल्छ। तर तिमीहरू यी कुनै पनि कुरा चाहन्नौ। 16तिमीहरूले भन्यौ, ‘होइन, हामी त घोड़ामा चढ़ेर भाग्नेछौं’। यसैकारण तिमीहरूलाई भाग्नैपर्छ! तिमीहरूले भन्यौ, ‘हामी चाँड़ो दगुर्ने घोड़ाहरू चढ़ेर जानेछौं’। यसैकारण तिमीहरूलाई खेद्नेहरू चाँड़ो हुनेछन्। 17एक जनाको धम्कीले एक हजार जना भाग्नेछन्, पाँच जनाको धम्कीले तिमीहरू सबै यसरी भाग्नेछौ, कि तिमीहरू पर्वतको टाकुरामा खड़ा रहेको एउटा झन्डाको खामो र डाँड़ाको एउटा झन्डाझैँ हुनेछौ।”
18तापनि तिमीहरूमाथि अनुग्रह गर्न परमप्रभु इच्छा गर्नुहुन्छ। तिमीहरूमाथि दया देखाउन उहाँ उठ्नुहुन्छ, किनकि परमप्रभु न्याय गर्नुहुने परमेश्वर हुनुहुन्छ। उहाँको प्रतीक्षा गर्ने सबै धन्यका हुन्!
19हे यरूशलेममा बस्ने सियोनका मानिस हो, तिमीहरू अब फेरि रुनेछैनौ। तिमीहरू सहायताको लागि रोएका सुनेर उहाँ कत्ति अनुग्रहमय हुनुहुनेछ! तिमीहरूको बिन्ती सुन्ने बित्तिकै उहाँले तिमीहरूलाई जवाफ दिनुहुनेछ। 20परमप्रभुले तिमीहरूलाई दु:खको रोटी र क्लेशको पानी दिनुभए तापनि तिमीहरूका शिक्षकहरू अझ लुकाइनेछैनन्। तिमीहरूका आफ्नै आँखाले तिमीहरूले तिनीहरूलाई देख्नेछौ। 21तिमीहरू दाहिने अथवा देब्रे लाग्दा तिमीहरूका कानले तिमीहरूका पछिल्तिर यसो भन्ने आवाज सुन्नेछौ, “बाटो यही हो, यसैमा हिँड़।” 22तब खोपेर चाँदीले मोहोरिएका तिमीहरूका देवताहरू र सुनका तिमीहरूका मूर्तिहरू तिमीहरूले दूषित तुल्याउनेछौ। तिमीहरूले तिनलाई महिनावारीको अशुद्ध कपड़ाझैँ फालिदिनेछौ, र तिनलाई यसो भन्नेछौ, “पर जाओ!”
23तिमीहरूले जमिनमा छर्ने बीउका निम्ति उहाँले पानी पठाइदिनुहुनेछ। भूमिबाट उब्जने अन्न सप्रिएका र प्रशस्त हुनेछन्। त्यस दिन गाई-गोरुहरू फराकिला चरनमा चर्नेछन्। 24तिमीहरूका खेतमा हलो जोत्ने गोरु र गधाहरूले काँटा र बेल्चाले फैलाइराखेको नुनिलो दाना र भुस खानेछन्। 25त्यो ठूलो हत्याको दिन जब धरहराहरू भत्कन्छन्, तब सबै अल्गा-अल्गा पर्वतहरू र सबै उच्च डाँड़ाहरूमा पानीका खोलाहरू बग्नेछन्। 26त्यसबाहेक जब परमप्रभुले आफ्नो प्रजाका घाउहरू बाँध्नुहुनेछ, र उहाँले लाउनुभएको तिनीहरूका चोट निको पार्नुहुनेछ, त्यस दिन जून घामजस्तै लाग्नेछ र सूर्यको प्रकाश सात दिनको ज्योतिझैँ सात गुणा बढ़ी चहकिलो हुनेछ।
27हेर, दन्केको क्रोध र उठिरहेको बाक्लो धूवाँमा टाढ़ाबाट परमप्रभु आउँदैहुनुहुन्छ। उहाँका ओठ क्रोधले पूर्ण र उहाँको जिब्रो भस्म गर्ने आगोजस्तै छन्। 28उहाँको सास घिच्रोसम्मै डुबाउने उर्लंदो नदीझैँ छ। उहाँले जाति-जातिहरूलाई नाश गर्ने नाङ्लोले निफन्नुहुन्छ र उहाँले मानिसहरूलाई कुबाटोतिर लैजाने लगाम तिनीहरूका मुखमा लगाइदिनुहुन्छ। 29अनि पवित्र चाड़ मनाएझैँ राती तिमीहरूले भजन गाउनेछौ। परमप्रभुको पर्वत, अर्थात् इस्राएलको चट्टानतिर उहाँसित भेट गर्नलाई बाँसुरी बजाउनेहरू रमाउँदै हिँड़ेझैँ तिमीहरूको मनमा पनि रमाहट हुनेछ। 30रीसको झोँक, भस्म गर्ने आगोको ज्वाला, र गड्याङगुडुङ र आँधीबेहरी र असिनासहित परमप्रभुले मानिसहरूलाई आफ्नो प्रतापको वाणी सुन्न र आफ्नो बाहुबलको चमक देख्न लगाउनुहुनेछ। 31अश्शूर परमप्रभुको सोरले थर्कमान हुनेछ। उहाँले आफ्नो राजदण्डले तिनीहरूलाई प्रहार गर्नुहुनेछ। 32दण्डको लहुरोको प्रत्येक प्रहार, जो परमप्रभुले तिनीहरूमाथि हान्नुहुनेछ, त्यो हातको खैँजड़ी र वीणाको सोरको साथ हुनेछ, र आफ्नो पाखुराको मुक्काले उहाँ तिनीहरूसित युद्धमा लड़ाइँ गर्नुहुनेछ। 33किनभने तोपेतलाई अघिदेखि एउटा राजाको निम्ति तयार पारिएको हो। प्रशस्त आगो र दाउरासहित आगो सल्काउने खाल्डो गहिरो र ठूलो बनाइएको छ। जलिरहेको गन्धकको खोलाले झैँ परमप्रभुको सासले त्यसलाई जलाउनेछ।
ISAIAH - 31:1-9,
मिश्रदेशमाथि भर पर्नेलाई धिक्कार
1धिक्कार तिनीहरूलाई, जो मिश्रदेशमा सहायताको निम्ति जान्छन्, र घोड़ाहरूमा भर पर्दछन्, र तिनीहरूका असंख्य रथहरू र घोड़चढ़ीहरूको ठूलो शक्तिमा भरोसा गर्दछन्, तर तिनीहरूले इस्राएलका परमपवित्रतिर हेर्दैनन् र परमप्रभुको सहायतालाई खोज्दैनन्। 2तापनि उहाँ पनि बुद्धिमान् हुनुहुन्छ र उहाँले नाश ल्याउन सक्नुहुन्छ, र आफ्नो वचन फिर्ता लिनुहुन्न। कुकर्म गर्नेहरूको घराना र अधर्म काम गर्नेलाई सहायता दिनेहरूका विरुद्धमा उहाँ उठ्नुहुनेछ। 3तर मिश्रीहरू त मानिसहरू हुन् र परमेश्वर होइनन्। तिनीहरूका घोड़ाहरू शरीर हुन्, आत्मा होइनन्। जब परमप्रभुले आफ्नो हात पसार्नुहुनेछ, तब सहायता गर्नेले ठोकर खानेछ, र सहायता पाउने लोट्नेछ, र ती दुवै एकैसाथ नष्ट हुनेछन्।
4परमप्रभुले मलाई यसो भन्नुहुन्छ, “जसरी सिंह अथवा ठूलो सिंह आफ्नो शिकारमाथि घुर्रघुर्र गर्छ— र त्यसको विरुद्धमा गोठालाहरूको सम्पूर्ण दल उठे तापनि तिनीहरूको कराइले त्यो डराउँदैन, न त तिनीहरूको हल्लाले त्यो विचलित हुन्छ— त्यसै गरी सर्वशक्तिमान् परमप्रभु सियोन पर्वत र त्यसका डाँड़ाहरूमा लड़ाइँ गर्नलाई ओर्लनुहुनेछ। 5चराहरूले आफ्ना गुँडलाई रक्षा गरेझैँ सर्वशक्तिमान् परमप्रभुले यरूशलेमको रक्षा गर्नुहुनेछ। उहाँले त्यसलाई रक्षा गर्नुहुनेछ, र त्यसलाई छुटाउनुहुनेछ। उहाँ त्यसबाट भएर जानुहुनेछ र त्यसलाई छुटाउनुहुनेछ।”
6हे इस्राएली हो, जसको विरुद्धमा तिमीहरूले ठूलो विद्रोह गरेका छौ, उहाँतर्फ फर्क। 7किनभने त्यस दिन तिमीहरू हरेकले आफ्ना सुनका र चाँदीका मूर्तिहरू, जो तिमीहरूले आफ्नै पापी हातले बनाएका छौ, तिनलाई इन्कार गर्नेछौ।
8“अश्शूरीहरू तरवारले ढालिनेछन्, जुन तरवार मानिसबाटको होइन। त्यसै तरवारले तिनीहरू नष्ट हुनेछन्, जो मरणशील मानिसको होइन। त्यस तरवारको अगाड़ि तिनीहरू भाग्नेछन्, र तिनीहरूका जवान मानिसहरूचाहिँ बेगारी काममा लगाइनेछन्। 9तिनीहरूको किल्ला त्रासले गर्दा ढल्नेछ र तिनीहरूका सेनापतिहरू लड़ाइँको झन्डा देखेर डरले आत्तिनेछन्। परमप्रभु, जसको अग्नि सियोनमा र भट्टी यरूशलेममा छ, उहाँले भन्नुभएको छ।
ISAIAH - 32:1-20,
धार्मिकताको राज्य
1हेर, एक जना राजाले धार्मिकतामा राज्य गर्नुहुनेछ, र शासकहरूले न्यायसित शासन गर्नेछन्। 2प्रत्येक मानिस बतासबाट शरणस्थान, र आँधीबेहरीबाट आश्रय लिने ठाउँ, मरुभूमिमा पानी भएका खोलाहरू, र सुक्खा भूमिमा ठूलो चट्टानको छायाजस्तै हुनेछ।
3त्यतिखेर हेर्नेहरूका आँखा फेरि बन्द हुनेछैनन्, र सुन्नेहरूका कानले सुन्नेछन्। 4अधीरहरूका मनले जान्नेछन्, र भकभके जिब्रो बुझिनेछ र सफासित बोल्नेछ। 5मूर्ख मानिस फेरि कहिल्यै भला मानिस भनिनेछैन, न त बदमाशलाई ठूलो आदर नै दिइनेछ। 6किनकि मूर्ख मानिसले मूर्खताकै कुरा गर्छ, र त्यसको मन दुष्ट काममा व्यस्त रहन्छ, त्यसले अधार्मिक काम गर्छ र परमप्रभुको विषयमा गलत कुरो फैलाउँछ। त्यसले भोकाएकाहरूलाई रित्तै पठाउँछ, र तिर्खाउनेहरूका निम्ति पानी नै दिँदैन। 7बदमाशहरूको चाल दुष्टै हुन्छ, दरिद्रहरूका माग न्यायसङ्गत भए तापनि गरीबहरूलाई झूटो कुराले नाश गर्नलाई त्यसले दुष्ट उपायहरू रच्दछ। 8तर भला मानिसले भला कामहरूको उपाय रच्दछ, र भला कार्यमा नै त्यो अड़िरहन्छ।
यरूशलेमका स्त्रीहरू
9हे आरामसित बस्ने स्त्री हो, उठ, र मेरो कुरा ध्यानसित सुन। हे निर्धक्क बस्ने छोरी हो, म जे भन्दछु सो सुन! 10अबको एक वर्षभन्दा केही बढ़ी समयमा तिमी निर्धक्क बस्नेहरू काँप्नेछौ। दाखको फसलै हुनेछैन, र फलहरूको फसल पनि हुनेछैन। 11हे निर्धक्क बस्ने महिला हो, काम। हे निश्चिन्त छोरीहरू हो, थरथराओ। आफ्ना वस्त्र उतारेर नाङ्गो होओ, र आ-आफ्नो कम्मरमा भाङ्ग्रा लगाओ। 12रहरलाग्दा खेतहरू र फल दिने दाखका बोटहरूका निम्ति, 13र काँढ़ा र सिउँड़ी उम्रेका मेरा मानिसहरूका जमिनको निम्ति छाती पिट्दै रोओ। हो, रमाहटका सबै घरहरूका निम्ति र आमोदप्रमोदको यस सहरको निम्ति विलाप गर। 14किल्ला त्यागिनेछ, गोलमाल भएको सहर सूनसान हुनेछ। किल्ला र बुर्जा सदाको निम्ति रूखो जमिन हुनेछ, वन-गधाको निम्ति हर्ष र गाईबस्तुको निम्ति चरन, 15माथिबाट हामीमाथि आत्मा नखन्याइञ्जेलसम्म र मरुभूमि मलिलो खेतबारी र मलिलो खेतबारी वनजस्तो नबनुञ्जेलसम्म। 16त्यस मरुभूमिमा न्यायले वास गर्नेछ, र मलिलो खेतबारीमा धार्मिकताले वास गर्नेछ। 17धार्मिकताको फल शान्ति हुनेछ, र धार्मिकताको फलको नतीजाचाहिँ सदाको निम्ति शान्ति र भरोसा हुनेछ। 18मेरो प्रजाचाहिँ शान्तिको वासस्थान, सुरक्षित घरहरू, र हल्ला नहुने विश्रामका ठाउँहरूमा बस्नेछन्। 19असिनाले वन सोतर पारे तापनि तथा सम्पूर्ण सहर समतल बनाइए तापनि, 20सबै पानी भएका ठाउँमा बीउ छर्ने र गाई-गोरु अनि गधाहरू चर्न दिने तिमीहरू कत्ति धन्यका हुनेछौ।
ISAIAH - 33:1-24,
संकष्ट र सहायता
1धिक्कार, तँ नाश गर्नेलाई, जो आफैचाहिँ नष्ट पारिएको छैनस्! तँ विश्वासघातीलाई, धिक्कार, जसलाई चाहिँ कसैले विश्वासघात गरेको छैन! जब तैंले नाश गर्न बन्द गर्छस्, तब तँ पनि नष्ट पारिनेछस्। जब तैंले विश्वासघात गर्न बन्द गर्छस्, तब तँलाई विश्वासघात गरिनेछ।
2हे परमप्रभु, हामीमाथि अनुग्रह गर्नुहोस्। हामी तपाईंको चाहना गर्दछौं। बिहानैपिच्छे तपाईं हाम्रा शक्ति र दु:खमा हाम्रो उद्धार हुनुहोस्। 3तपाईंका सोरको गर्जनमा मानिसहरू भाग्छन्। तपाईं उठ्नुहुँदा जाति-जातिहरू छरपष्ट हुन्छन्। 4हे जाति-जातिका मानिस हो, तिमीहरूका लूटको कटनी ससाना सलहहरूले खाएझैँ हुनेछ। सलहहरूझैँ मानिसहरू त्यसमा झम्टिनेछन्।
5परमप्रभु उच्च हुनुभएको छ, किनकि उहाँ उच्चमा विराजमान हुनुहुन्छ। उहाँले सियोनलाई न्याय र धार्मिकताले परिपूर्ण पार्नुहुनेछ। 6तिमीहरूका समयको लागि उहाँ पक्का जग र मुक्ति तथा ज्ञान र बुद्धिको बहुमूल्य भण्डार हुनुहुनेछ। परमप्रभुको भय मान्नु नै यस भण्डारको साँचो हो।
7हेर त, तिनीहरूका वीर मानिसहरू सड़कमा जोडसित रुँदैछन्। मिलाप ल्याउने राजदूतहरू धुरुधुरु रुँदैछन्। 8मूल सड़कहरू निर्जन भएका छन्, बाटोमा यात्रीहरू छैनन्। सन्धि भङ्ग भएको छ, गवाहीहरू अवहेलित भएका छन्। कोही पनि मानिसको आदर छैन। 9देशले विलाप गर्छ र उजाड़ हुन्छ। लेबनान शर्ममा पर्छ र ओइलिन्छ। शारोन अराबाझैँ हुन्छ। बाशान र कर्मेलले आफ्ना पातहरू झार्छन्।
10परमप्रभु भन्नुहुन्छ, “अब म उठ्नेछु। अब म उच्च पारिनेछु। अब म माथि उठाइनेछु। 11तिमीहरूले भुसलाई गर्भधारण गर्छौ, तिमीहरूले पराले ठोसाहरू जन्माउँछौ। तिमीहरूको सास तिमीहरूलाई नै भस्म गर्ने अग्नि हो। 12मानिसहरू चून जलेझैँ जल्नेछन्। काटेका काँढ़ाघारी आगोमा जलाएझैँ तिनीहरू जलाइनेछन्।”
13हे टाढ़ाका मानिस हो, मैले के गरेको छु सुन। हे नजिकका हो, मेरो शक्तिलाई स्वीकार गर! 14सियोनमा भएका पापीहरू डराएका छन्। ईश्वरहीनहरूलाई कम्पनले समातेको छ। “भस्म गर्ने आगोसँग हामीहरूमध्ये को बस्न सक्छ र? अनन्त जलनमा हामीहरूमध्ये को रहन सक्छ र?” 15त्यही, जो धार्मिकतासाथ हिँड्दछ, र ठीक कुरा गर्दछ, करकापसित लिएको नाफा इन्कार गर्छ, जसले घूस लिन आफ्नो हात बढ़ाउँदैन, जसले हत्याका षड्यन्त्रप्रति आफ्नो कान थुन्छ, दुष्ट्याइँको चिन्तन गर्नुभन्दा आफ्नो आँखा चिम्लन्छ। 16त्यही मानिस उच्चमा बस्नेछ, जसको शरणस्थान पहाड़को किल्ला हुनेछ। त्यसको भोजन त्यसलाई दिइनेछ र त्यसलाई पानीले धोका दिनेछैन।
17तिनीहरूका आँखाले राजालाई उहाँको सुन्दरतामा देख्नेछन्, र टाढ़ासम्म फैलिएको देशलाई देख्नेछन्। 18तिमीहरूका विचारमा तिमीहरूले पहिलेको त्रासलाई सम्झनेछौ। “ती मुख्य अधिकृत खोइ? कर लिने कता गए? धरहराहरूको जिम्मा लिने अधिकृत कता छन्?” 19तिमीहरूले ती हठी मानिसहरूलाई फेरि देख्नेछैनौ, अनौठो भाषा बोल्ने ती मानिसहरूलाई, जसको बोली बुझिँदैन।
20हाम्रा ठहराइएका चाड़हरूको सहर सियोनलाई हेर, तिमीहरूका आँखाले यरूशलेमलाई देख्नेछन्, एउटा शान्तिमय वासस्थान, एउटा पाल, जो कहिल्यै हटाइनेछैन, जसका कीलाहरू कहिल्यै उखेलिनेछैनन्, न त त्यसका डोरीहरू चुँड़ाइनेछन्। 21त्यहाँ परमप्रभु हाम्रा शक्तिशाली जन हुनुहुनेछ। त्यो ठूला-ठूला नदीहरू र खोलाहरूको ठाउँ हुनेछ। पतवारले चलाइने डुङ्गाहरू त्यहाँ चल्नेछैनन्। ठूलो जहाज पनि त्यहाँ जानेछैन। 22किनभने परमप्रभु हाम्रा न्यायाधीश हुनुहुन्छ। परमप्रभु हामीलाई व्यवस्था दिने हुनुहुन्छ। परमप्रभु हाम्रा राजा हुनुहुन्छ। उहाँले नै हामीलाई बचाउनुहुनेछ।
23तिमीहरूका जहाजका डोरीहरू खुकुला भएका छन्। मानिसहरूले त्यसको मस्तूलको जग बलियो पार्न सकेनन्। तिनीहरूले तिनका पाल टाँग्न सकेनन्। तब एउटा प्रशस्त लूटको माल बाँड़िनेछ। लङ्गड़ाहरूसमेतले लूटका मालका भाग लिनेछन्। 24सियोनमा बस्ने कसैले पनि “म बिरामी छु” भन्नेछैनन् अनि त्यहाँ बस्ने मानिसहरूका पाप क्षमा गरिनेछन्।
ISAIAH - 34:1-17,
जाति-जातिहरूका विरुद्धमा न्याय
1हे जाति-जातिका मानिस हो, नजिक आओ र ध्यानसित सुन। हे मानिस हो, ध्यान लगाएर सुन! पृथ्वी र त्यसमा भएका जम्मैले सुनून्, संसार र त्यसबाट उत्पन्न भएका सारा थोकले सुनून्! 2परमप्रभुको रीस सारा जातिहरूमाथि उठेको छ, उहाँको क्रोध तिनका सारा सेनामाथि परेको छ। उहाँले तिनीहरूलाई बिलकुलै नाश गर्नुहुनेछ, हत्या गर्नेको हातमा उहाँले तिनीहरूलाई सुम्पनुहुनेछ। 3तिनीहरूका मारिएकाहरू बाहिर फालिनेछन्, र तिनीहरूका लाशबाट दुर्गन्ध निस्कनेछ, र पर्वतहरू तिनीहरूका रगतले भिज्नेछ। 4आकाशका सबै ताराहरू विलीन हुनेछन्। र आकाशचाहिँ चर्मपत्रको मुट्ठोझैँ बेह्रिनेछ, दाखको बोटबाट ओइलिएका पातहरू र अञ्जीरको बोटबाट चाउरी परेका फलहरू झरेझैँ आकाशका तारानक्षत्रहरू झर्नेछन्।
5मेरो तरवारले स्वर्गमा अघाउञ्जेल पिएको छ। हेर, इन्साफको लागि एदोममाथि त्यसको प्रहार पर्नेछ, त्यस जातिमाथि जसलाई मैले सर्वनाश गरेको छु। 6परमप्रभुको तरवार रगतमा चोपिएको छ। त्यो बोसोले भरिएको छ— भेड़ा-बाख्राहरूको रगतले, भेड़ाबाख्राका मिर्गौलाको बोसोले त्यो लतपत भएको छ। किनभने बोज्रामा परमप्रभुको एउटा बलि छ, र एदोममा एक ठूलो संहार। 7अर्नाहरू तिनीहरूसित, र बाछाहरू र ठूला-ठूला साँढ़ेहरू सोतर हुन्छन्। तिनीहरूका देश रगतले निथ्रुक्क हुनेछन् र तिनीहरूको बोसोले सम्पूर्ण माटो भरिनेछ।
8किनभने सियोनको पक्षमा परमप्रभुको बदला लिने एक दिन छ, साटो लिने एक वर्ष छ। 9एदोमका खोलाहरू अलकत्रामा, त्यसको धूलो जलिरहेको गन्धकमा, र त्यसको देशचाहिँ बल्दो अलकत्रामा परिवर्तन हुनेछ। 10त्यो रातदिन निभ्नेछैन। त्यसको धूवाँ निरन्तर उठिरहनेछ। पुस्तादेखि पुस्तासम्म त्यो उजाड़ भएर रहनेछ, त्यसबाट भएर कोही पनि फेरि कहिल्यै जानेछैन। 11तर मरुभूमिको लाटोकोसेरो र कराउने लाटोकोसेराको त्यो वासस्थान हुनेछ, भुल्का र कागहरूले त्यसमा गुँड़ बनाउनेछन्। परमेश्वरले एदोममाथि खैलाबैलाको नाप्ने डोरी र शून्यताको साहुल तान्नुहुनेछ। 12त्यसका भारदारहरूसित त्यसलाई राज्य भनिने केही पनि रहनेछैन, र त्यसका राजकुमारहरू लोप हुनेछन्। 13त्यसका किल्लाका बुर्जाहरूमा काँढ़ा, र त्यसका किल्लाहरूमा सिस्नु र सिउँड़ीहरू उम्रनेछन्। त्यो स्यालहरूको बस्ने अखड़ा र लाटोकोसेराहरूको घर हुनेछ। 14मरुभूमिका जनावरहरू हुँड़ारहरूसित मिलेर त्यहाँ बस्नेछन्, जङ्गली बाख्राहरूले आफ्नो साथीलाई डाक्नेछन्, रातका जन्तुहरूले पनि विश्राम गर्ने ठाउँ पाएर त्यहाँ विश्राम गर्नेछन्। 15त्यहाँ लाटोकोसेराले आफ्नो गुँड़ बनाएर फुल पार्नेछ, र ओथ्रनेछ, र आफ्नो पखेटाको छायामुनि बचेराहरूलाई हेरचाह गर्नेछ। त्यहाँ भालेपोथी बाजहरू आ-आफ्ना जोड़ीसित जम्मा हुनेछन्।
16परमप्रभुको पत्रको मुट्ठामा हेर र पढ़। यिनमा एउटै पनि हराउनेछैन, कसैलाई आफ्नो जोड़ीको अभाव हुँदैन, किनकि उहाँको मुखले यो हुकुम दिनुभएको हो, र उहाँका आत्माले तिनीहरूलाई एकसाथ जम्मा गर्नुहुनेछ। 17उहाँले तिनीहरूका भाग छुट्ट्याइदिनुहुन्छ। उहाँकै हातले नापेर तिनीहरूलाई बाँड़िदिनुभएको छ। तिनीहरूले सदासर्वदा त्यो अधिकार गर्नेछन्, र पुस्तादेखि पुस्तासम्म तिनीहरू त्यहाँ वास गर्नेछन्।
ISAIAH - 35:1-10,
छुटकारा पाएकाहरूको आनन्द
1मरुभूमि र निर्जल-भूमि हर्षित हुनेछन्। उजाड़-स्थान रमाउनेछ र फुल्नेछ केशरझैँ 2त्यो फुलेर फक्रनेछ। यो अत्यन्त प्रफुल्लित हुनेछ, र हर्षले गाउँदै रमाहट गर्नेछ। लेबनानको गौरव, कर्मेल र शारोनको शोभा त्यसलाई दिइनेछ। तिनीहरूले परमप्रभुको महिमा र हाम्रा परमेश्वरको ऐश्वर्य देख्नेछन्।
3कमजोर हातहरू बलिया बनाओ, र दुर्बल घुँड़ाहरू दह्रा पार। 4डरले हृदय भरिएकाहरूलाई भन, “साहस गर, नडराओ। तिमीहरूका परमेश्वर बदला दिनलाई आउनुहुनेछ, ईश्वरीय प्रतिफलसहित तिमीहरूलाई बचाउनलाई उहाँ आउनुहुनेछ।”
5तब अन्धाहरूका आँखा खोलिनेछन्, र बहिराहरूका कान उघारिनेछन्। 6तब लङ्गड़ाहरू मृगझैँ उफ्रनेछन्, र गूँगाहरूको जिब्रोले स्तुति गर्नेछ। उजाड़-स्थानमा पानी फुटेर निस्कनेछ र मरुभूमिमा खोलाहरू बग्नेछन्। 7गर्मीले डढ़ेको बालुवा दह हुनेछ, र सुक्खा भूमिमा पानीका मूल फुट्नेछन्। स्यालहरू बस्ने ठाउँमा घाँस, काँस र कुश उम्रनेछन्।
8त्यहाँ एउटा मूलबाटो हुनेछ, त्योचाहिँ पवित्रताको बाटो भनिनेछ। कोही अशुद्ध जन त्यसबाट भएर जानेछैन। तर त्यस मार्गमा हिँड्नेहरूका निम्ति मात्र त्यो हुनेछ। दुष्ट मूर्खहरू त्यसबाट जान पाउनेछैनन्। 9त्यहाँ कुनै सिंह हुनेछैन, न त कुनै हिंसक पशु त्यहाँबाट भएर जानेछ। ती त्यहाँ पाइनेछैनन्। तर उद्धार पाएकाहरू मात्र त्यहाँ हिँड्नेछन्, 10अनि परमप्रभुले मोल तिरेर छुटकारा दिनुभएकाहरू फर्केर आउनेछन्। तिनीहरू सियोनमा गाउँदै पस्नेछन्। सदासर्वदाको आनन्द तिनीहरूका शिरको मुकुट हुनेछ। तिनीहरूले रमाहट र आनन्द प्राप्त गर्नेछन्, र शोक र सुस्केरा दूर हुनेछन्।
ISAIAH - 36:1-22,
यरूशलेमलाई सनहेरीबको आक्रमणको धम्की
1हिजकिया राजाको चौधौँ वर्षमा अश्शूरका राजा सनहेरीबले यहूदाको सारा पर्खाल लगाएका सहरहरूलाई आक्रमण गरेर तिनलाई कब्जा गरे। 2अनि अश्शूरका राजाले युद्धका एक जना सेनापतिलाई ठूलो सेनासमेत लाकीशबाट यरूशलेममा हिजकिया राजाकहाँ पठाए। जब उनी धोबीको खेतको मूल बाटोमा भएको माथिल्लो पोखरीको कुलोनेर उभिए, 3तब राजदरबारका प्रशासक हिल्कियाहका छोरा एल्याकीम, सचिव शेब्ना, र आसापका छोरा लेखापाल योआ बाहिर निस्केर उनीकहाँ आए।
4युद्धका सेनापतिले तिनीहरूलाई भने, “हिजकियालाई भन, ‘महाराजाधिराज, अश्शूरका राजा यसो भन्नुहुन्छ, तिमी के आशामा भरोसा गरिरहेछौ? 5तिमीसित लड़ाइँको योजना र सैनिक बल छ भनी तिमी भन्छौ, तर तिमी त केवल फोस्रा कुरा गर्दछौ। तिमी कसमाथि भरोसा गरिरहेका छौ र मेरो विरुद्धमा बागी भएका छौ? 6हेर, तिमी अब भाँचिएको निगालोको लहुरोमा भरोसा राख्छौ, अर्थात् मिश्रदेशमा, जसमा कोही मानिस भर पर्यो भने, त्यसले त्यसको हातमा चोट पार्नेछ। मिश्रदेशका राजा फारोमाथि भर पर्ने सबैका निम्ति उनी यस्तै छन्। 7अनि “हामी आफ्ना परमप्रभु परमेश्वरमाथि भर पर्दछौं” भनी यदि तिमी मलाई भन्छौ भने, के उहाँ उही हुनुहुन्न, जसका अल्गा-अल्गा ठाउँहरू र जसका वेदीहरू हिजकियाले यहूदा र यरूशलेमलाई यसो भन्दै हटाए, “तिमीहरूले यस वेदीको सामुन्ने आराधना गर्नुपर्छ?” 8“‘यसकारण आओ, मेरा मालिक अश्शूरका राजासित सौदा गर। म तिमीलाई दुई हजार घोड़ा दिनेछु। हेरौं, तीमाथि तिमी सवार चढ़ाउन सक्छौ कि सक्दैनौ? 9रथहरू र घोड़ाहरूका निम्ति मिश्रदेशमाथि भर परे तापनि कसरी तिमी मेरा मालिकका अधिकृतहरूमध्येका एक जना साना अधिकृतलाई पनि धपाउन सक्छौ? 10यसबाहेक के म यस देशलाई आक्रमण गरी नष्ट पार्न परमप्रभुविना आएको छु? परमप्रभुले नै मलाई “त्यस देशमा गएर त्यसलाई नष्ट गर्” भनी भन्नुभएको छ’।”
11तब एल्याकीम, शेब्ना र योआले युद्धका सेनापतिलाई भने, “बिन्ती छ, तपाईंका दासहरूसित आरमेइक भाषामा बोल्नुहोस्, किनकि हामी त्यो भाषा बुझ्छौं। पर्खालमा भएका मानिसहरूले सुन्ने गरी हिब्रू भाषामा हामीसित नबोल्नुहोस्।”
12तर युद्धका सेनापतिले भने, “के मेरा मालिकले तिमीहरू र तिमीहरूका मालिककहाँ मात्र यी कुरा भन्न मलाई पठाउनुभएको हो र? के उहाँले मलाई पर्खालमा बस्ने मानिसहरूकहाँ पनि पठाउनुभएको होइन र— जसले तिमीहरूले जस्तै आफ्नै दिसा खानुपर्छ र आफ्नै पिसाब पिउनुपर्नेछ?”
13तब युद्धका सेनापति खड़ा भए, र ठूलो सोरमा हिब्रू भाषामा यसो भने, “महाराजाधिराज अश्शूरका राजाका कुरा सुन! 14महाराजा यसो भन्नुहुन्छ, हिजकियाले तिमीहरूलाई धोका नदेओस्, किनकि त्यसले तिमीहरूलाई छुटाउन सक्नेछैन! 15हिजकियाले तिमीहरूलाई यसो भनेर परमप्रभुमाथि भरोसा गर्न पनि नलाओस्, ‘परमप्रभुले निश्चय नै हामीलाई छुटकारा दिनुहुनेछ। उहाँले यो सहर अश्शूरका राजाको हातमा सुम्पिदिनुहुनेछैन’।
16“हिजकियाको कुरा नसुन। अश्शूरका महाराजा यसो भन्नुहुन्छ: तिमीहरू मसित मिलाप गर, र निस्केर मकहाँ आओ। तब तिमीहरू हरेकले आ-आफ्नो दाखको फलबाट र नेभाराको फलबाट खाऔला, र आ-आफ्नो पानीको कुण्डबाट पानी पिऔला, 17जबसम्म म आएर तिमीहरूकै जस्तो अन्न र नयाँ दाखमद्य अनि रोटी र दाखबारीले भरिएको देशमा तिमीहरूलाई लैजाँदिनँ।
18“हिजकियाले तिमीहरूलाई यसो भनेर भ्रममा नपारोस्, ‘परमप्रभुले हामीलाई छुटकारा दिनुहुनेछ’। के जाति-जातिका कुनै देवताले आफ्नो देशलाई अश्शूरका राजाको हातबाट कहिल्यै बचाउन सकेको छ र? 19हमात र अर्पादका देवताहरू कहाँ छन्? सपर्बेम देवताहरू कहाँ छन्? के तिनीहरूले सामरियालाई मेरो हातबाट छुटाएका छन्? 20यी देशहरूका देवताहरूमध्ये कसले आफ्नो देशलाई मेरो हातबाट बचाउन सकेको छ र? तब परमप्रभुले यरूशलेमलाई मेरो हातबाट कसरी बचाउन सक्नुहोला त?”
21तर मानिसहरू चूप लागिबसे, र उनलाई जवाफमा एउटै कुरा पनि भनेनन्। किनकि उनलाई केही जवाफ नदिनू भन्ने राजाको हुकुम थियो। 22तब राजदरबारका प्रशासक हिल्कियाहका छोरा एल्याकीम, सचिव शेब्ना र आसापका छोरा लेखापाल योआले आफ्ना लुगा च्याते, र हिजकियाकहाँ आएर युद्धका सेनापतिका कुरा तिनलाई सुनाए।
ISAIAH - 37:1-38,
यरूशलेमका छुटकाराको पूर्वसूचना
1जब हिजकिया राजाले यो कुरा सुने, तब तिनले आफ्नो लुगा च्याते, र भाङ्ग्रा लगाएर परमप्रभुको मन्दिरमा पसे। 2तिनले राजदरबारका प्रशासक एल्याकीम, सचिव शेब्ना र पूजाहारीमध्येका प्रमुखहरूलाई भाङ्ग्रा लगाएर आमोजका छोरा यशैयाकहाँ पठाए। 3तिनीहरूले तिनलाई भने, “हिजकिया राजा यसो भन्नुहुन्छ: आजको दिन दु:ख, गाली खाने र अपमानको दिन छ, बालकहरू जन्मन लाग्दा जन्माउने ताकत नभएजस्तो भएको छ। 4शायद परमप्रभु तपाईंका परमेश्वरले युद्धका सेनापतिको कुरा सुन्नुहुनेछ, जसलाई त्यसका मालिक अश्शूरका राजाले जीवित परमेश्वरको निन्दा गर्न पठाएका छन्, र परमप्रभु तपाईंका परमेश्वरले सुन्नुभएको त्यस वचनको कारण उहाँले उनलाई हप्काउनुहुनेछ। यसकारण बाँचेकाहरूका निम्ति तपाईंले प्रार्थना गरिदिनुहोस्।”
5जब हिजकियाका अधिकृतहरू यशैयाकहाँ आए, 6यशैयाले तिनीहरूलाई भने, “तिमीहरूले आफ्ना मालिकलाई यसो भन, ‘परमप्रभु भन्नुहुन्छ: अश्शूरका राजाका सेवकहरूले मलाई निन्दा गरेका तैंले सुनेको कुरादेखि तँ नडरा। 7सुन्, म त्यसभित्र एउटा यस्तो आत्मा हालिदिनेछु, कि कुनै हल्ला सुनेर त्यो आफ्नो देशमा फर्केर जानेछ र म त्यहाँ त्यसलाई तरवारले मार्न लाउनेछु’।”
8जब युद्धका सेनापतिले अश्शूरका राजाले लाकीश छोड़े भनी सुने, उनी पछि हटे र उनले राजालाई लिब्नासित युद्ध गरिरहेका भेट्टाए।
9अब मिश्रदेशका राजा कूशी तिर्हाकाह उनीसित लड्न आइरहेका छन् भन्ने कुरा सनहेरीबले सुने। जब उनले यो कुरा सुने, तब उनले हिजकियाकहाँ यसो भनेर दूतहरू पठाए: 10“यहूदाका राजा हिजकियालाई भन: जुन ईश्वरमाथि तिमी भर परेका छौ, तिनले ‘यरूशलेमलाई अश्शूरका राजाको हातमा दिनेछैनन्’ भनी तिमीलाई धोका नदेऊन्। 11सारा देशलाई बिलकुलै नाश गरेर अश्शूरका राजाले के गरेका छन् सो त तिमीले सुनेकै छौ। अनि के तिमीले चाहिँ छुटकारा पाउँछौ र? 12के मेरा पुर्खाहरूले नाश गरेका जातिहरूलाई तिनीहरूका ईश्वरहरूले छुटाउन सके— अर्थात् गोजान, हारान, रेसेप र तेल-अस्सारमा भएका अदन वंशीहरूका देवताहरूले तिनीहरूलाई बचाए? 13हमातका राजा, अर्पादका राजा, सपर्बेम सहरका राजा, हेना अथवा इव्वाका राजाहरू कहाँ गए?”
हिजकियाको प्रार्थना
14हिजकियाले दूतहरूका हातबाट पत्र पाएर पढ़े। तब परमप्रभुको मन्दिरमा गएर हिजकियाले परमप्रभुको सामुन्ने त्यो पत्र खोलेर राखिदिए। 15अनि हिजकियाले परमप्रभुलाई प्रार्थना गरे, 16“हे सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर, करूबहरूका बीचमा विराजमान हुनुहुने, पृथ्वीका सारा राज्यहरूका तपाईं मात्र परमेश्वर हुनुहुन्छ। स्वर्ग र पृथ्वी तपाईंले नै सृष्टि गर्नुभएको हो। 17हे परमप्रभु, आफ्नो कान थापेर सुन्नुहोस्। हे परमप्रभु, आफ्ना आँखा खोलेर हेर्नुहोस्। सनहेरीबले जीवित परमेश्वरको निन्दा गर्नलाई पठाएका सबै कुरा ध्यानसित सुन्नुहोस्।
18“हे परमप्रभु, यो साँचो हो, अश्शूरका राजाहरूले सबै जातिहरू र तिनीहरूका देशहरूलाई समेत उजाड़ परेका छन्, 19उनीहरूले तिनीहरूका देवताहरूलाई आगोमा फालेका छन् र सर्वनाश गरेका छन्, किनकि तिनीहरू ईश्वर नै होइनन्, तर मानिसका हातले बनाएका काम, काठ र ढुङ्गा मात्र हुन्। 20अब हे परमप्रभु हाम्रा परमेश्वर, हामीलाई उनका हातबाट छुटाउनुहोस्, र पृथ्वीका सारा राज्यहरूले थाहा पाऊन् कि तपाईं मात्र परमप्रभु परमेश्वर हुनुहुन्छ।”
सनहेरीबको पतन
21तब आमोजका छोरा यशैयाले हिजकियाकहाँ यसो भनी समाचार पठाए, “परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: तैंले अश्शूरको राजा सनहेरीबको विषयमा मसँग प्रार्थना गरिस्, 22यसकारण त्यसको विरुद्धमा परमप्रभुले भन्नुभएको वचन यही हो, “सियोनकी कन्येछोरीले तँलाई ठट्टा र खिसी गरेकी छ। यरूशलेमकी छोरीले तेरो पछि शिर हल्लाउनेछे। 23तैंले कसको ठट्टा र निन्दा गरेको छस्? कसको विरुद्धमा तँ ठूलो सोरले कराएको छस्, र तैंले घमण्डले हेरेको छस्? के इस्राएलका परमपवित्रको विरुद्धमा होइन? 24तेरा समाचारवाहकद्वारा तैंले परमप्रभुको थुप्रै निन्दा गरेको छस्। र तैंले भनेको छस्, ‘मेरा धेरै रथहरूको दलसमेत म पहाड़हरूका टाकुरामा चढें, लेबनानका टाकुरासम्मै। त्यसका अल्गा-अल्गा देवदारुहरू र त्यसका असल-असल सल्लाका रूखहरू ढालेको छु। म त्यसका सबैभन्दा टाढ़ाका टाकुरामा र सुन्दर वनसम्मै पुगेको छु। 25मैले विदेशहरूमा इनार खनेको छु र त्यहाँ पानी पिएको छु। मेरा खुट्टाका पैतालाले मिश्रदेशका सबै नदीहरू सुकाएको छु’।
26“के तैंले सुनेको छैनस्? मैले त्यो उहिले नै निश्चय गरेको थिएँ। प्राचीन समयमा नै मैले योजना बनाएको थिएँ। त्यो कुरो मैले अब पूरा गरें कि तैंले किल्ला भएका सहरहरूलाई ढुङ्गाको थुप्रो बनाइस्। 27तिनका बासिन्दाहरूको शक्ति घटेर गएकोले तिनीहरू आत्तिए र लज्जित भए, तिनीहरू मैदानका घाँसझैँ, कमला र हरिया बिरुवाझैँ, छतमा उम्रिरहेका र बढ्न अघि नै सुकिहालेको घाँसझैँ भए।
28“तर तँ कहाँ बस्छस् अनि तँ कहिले आउँछस् र जान्छस् अनि मेरो विरुद्धमा तँ रिसाएको छस् भनी म जान्दछु। 29तँ मेरो विरुद्धमा रिसाएको हुनाले, र तेरो शेखी मेरो कानमा परेको हुनाले, म मेरो बल्छी तेरो नाकमा र मेरो लगाम तेरो मुखमा लगाएर तँलाई तँ आएकै बाटोतिर फर्काउनेछु।”
30“हे हिजकिया, तेरो निम्ति चिन्ह यही हुनेछ: “यो वर्षचाहिँ आफै उम्रेको कुरो तिमीहरूले खानेछौ, र दोस्रो वर्षचाहिँ त्यहीँबाट उम्रेको, तर तेस्रो वर्षचाहिँ तिमीहरू छर, कटनी गर, दाखबारी लगाओ र तिनका फल फलाओ।
31“यहूदाका घरानाबाट बाँचेकाहरूले फेरि तलतिर जरा हाल्नेछन्, र माथितिर फल फलाउनेछन्। 32किनभने यरूशलेमबाट एउटा बाँचेको भाग र सियोन पर्वतबाट जीवितहरूको एक दल निस्कनेछ। सर्वशक्तिमान् परमप्रभुको जोशले यो गर्नेछ।
33“यसकारण अश्शूरका राजाको विषयमा परमप्रभु यो भन्नुहुन्छ: त्यो यस सहरमा आउनेछैन अथवा त्यसले एउटै काँड़ हान्नेछैन। त्यो यसको सामुन्ने ढाल लिएर आउनेछैन, न त यसको विरुद्धमा कुनै घेरा-मचान बनाउनेछ। 34जुन बाटो भएर त्यो आयो, त्यही बाटो भएर त्यो फर्कनेछ, र त्यो यस सहरमा पस्नेछैन,” परमप्रभु भन्नुहुन्छ। 35“मेरो आफ्नै खातिर र मेरो दास दाऊदको खातिर म यो सहर रक्षा गर्नेछु र बचाउनेछु!”
36तब परमप्रभुका दूत गएर अश्शूरीहरूको छाउनीमा एक लाख पचासी हजार मानिसहरूलाई मारे। मानिसहरू बिहान उठ्दा उनीहरूले ती सबै लाशहरू देखे। 37यसैले अश्शूरीहरूका राजा सनहेरीब निनवेमा फर्केर गए, र त्यहीँ बस्न लागे।
38एक दिन जब उनी आफ्नो देवता निस्रोकको मन्दिरमा पूजा गर्दैथिए तब उनका छोराहरू अद्रम्मलेक र शरेसेरले उनलाई तरवारले मारे, अनि उनीहरू भागेर आरारात देशमा गए। त्यसपछि उनको सट्टामा उनका छोरा एसरहदोनले राजा भएर शासन गर्न लागे।
ISAIAH - 38:1-22,
हिजकिया बिरामी परेका
1त्यस बेला हिजकिया राजा बिरामी परेर मर्नै लागेका थिए। तब आमोजका छोरा यशैया अगमवक्ताले तिनीकहाँ आएर भने, “परमप्रभु यसो भन्नुहुन्छ: तेरो घर ठीकठाक गर्, किनकि तँ मर्नेछस्, तँ निको हुनेछैनस्।”
2तब हिजकियाले आफ्नो मुख भित्तातिर फर्काएर परमप्रभुसित यसो भनेर प्रार्थना गरे, 3“हे परमप्रभु, तपाईंको सामुन्ने म कस्तो विश्वासयोग्य भई सारा हृदयको भक्तिसाथ हिँड़ेको छु, र तपाईंको दृष्टिमा जे असल छ त्यही गरेको छु, त्यसको सम्झना होस्।” अनि हिजकिया धुरुधुरु रोए।
4तब परमप्रभुको वचन यशैयाकहाँ यसो भनेर आयो, 5“गएर हिजकियालाई भन्, ‘तेरा पिता दाऊदका परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: मैले तेरो प्रार्थना सुनें र मैले तेरो आँसु देखें। म तेरो आयु अरू पन्ध्र वर्ष बढ़ाइदिनेछु। 6म तँलाई र यस सहरलाई अश्शूरका राजाको हातबाट छुटकारा दिनेछु। म यस सहरको रक्षा गर्नेछु।
7“‘परमप्रभु आफैले प्रतिज्ञा गर्नुभएको कुरो गर्नुहुनेछ भन्ने परमप्रभुको चिन्ह तँलाई यो हुनेछ: 8आहाजको सिँढ़ीमा घामको छाया, जो तल गइसकेको छ, म दश खुट्किला पछि सार्नेछु’।” यसैले घामको छाया तलतिर गएको भए तापनि दश खुट्किला पछि सर्यो।
9बिरामी परेर निको भएपछि यहूदाका राजा हिजकियाले लेखेका कुरा: 10मैले भनें, “के मेरो आयुको मस्त जवानीमा नै मृत्युको ढोकाभित्र जानुपर्ने र मेरो आयुको शेष भाग हरण हुने?” 11मैले भनें, “म परमप्रभुलाई फेरि देख्नेछैनँ, जीवितहरूको देशमा परमप्रभुलाई म देख्नेछैनँ। मानव-जातिलाई म अब देख्नेछैनँ, न त संसारमा अहिले बस्नेहरूसँग म हुनेछु। 12गोठालाको पालझैँ मेरो घर भत्काएर मबाट खोसी लगियो। जुलाहाले लुगा बेहेरेझैँ मैले मेरो जीवन बेहेरेको छु, र उहाँले मलाई तानबाट काटिदिनुभएको छ। दिन र रातभरिमा नै तपाईंले मेरो अन्त गराइदिनुभयो। 13बिहानसम्म म धैर्यसाथ पर्खिबसें। तर सिंहले झैँ उहाँले मेरा सबै हड्डी भाँच्नुभयो। दिन र रातभरिमा नै तपाईंले मेरो अन्त गराइदिनुभयो। 14गौँथलीझैँ वा सारिका चराझैँ म चिरबिर गर्थें। ढुकुरझैँ विलाप गर्थें, माथितिर हेर्दा-हेर्दा मेरा आँखा टट्टाइसके। हे परमप्रभु, म दु:खमा परेको छु। तपाईं मलाई सहायता गर्नुहोस्।”
15तर म अब के भन्न सक्छु र? उहाँ मसित बोल्नुभयो, र उहाँले नै यो गर्नुभयो। मेरो प्राणको यो सुर्ताको कारण म मेरो सारा जीवनभरि नै नम्र भएर हिँड्नेछु। 16हे परमप्रभु, यी नै कुराद्वारा मानिसहरू जिउँछन्, र मेरो आत्माले पनि तिनमा नै जीवन पाउँछ। तपाईंले मलाई स्वस्थ पार्नुभयो, र मलाई बाँच्न दिनुभयो। 17निश्चय नै मेरो भलाइको निम्ति मैले यस्तो वेदना सहनुपर्यो। तपाईंले मलाई प्रेम गरेर विनाशको खाड़लबाट जोगाउनुभयो। तपाईंले मेरा सबै पाप आफ्नै पछिल्तिर राख्नुभयो। 18पातालले तपाईंको प्रशंसा गर्न सक्दैन। मृत्युले तपाईंको प्रशंसा गर्न सक्दैन। खाड़लमा जानेहरूले तपाईंका विश्वस्तताको आशा गर्न सक्दैनन्। 19जीवित, जीवितले मात्र तपाईंको प्रशंसा गर्छ, जसरी आज म गरिरहेछु। बुबाहरूले आफ्ना छोराछोरीहरूलाई तपाईंको विश्वस्तताको विषयमा वर्णन गर्छन्।
20परमप्रभुले मलाई उद्धार गर्नुहुनेछ, र हामी आफ्ना जीवनभरि परमप्रभुको मन्दिरमा तार-बाजाहरूसित भजन गाउनेछौं।
21यशैयाले यसो भनेका थिए, “नेभाराको लेप बनाएर हिजकियाको पिलोमा लगाइदेओ, र तिनी निको हुनेछन्।”
22हिजकियाले यसो भनेर सोधेका थिए, “म परमप्रभुको मन्दिरमा जानेछु भन्ने चिन्ह के हुनेछ?”
ISAIAH - 39:1-8,
बेबिलोनका राजदूतहरू
1त्यस बेला बेबिलोनका राजा बलदानका छोरा मरोदकबलदानले हिजकियाकहाँ चिट्ठी र सौगातका साथमा राजदूतहरू पठाए। उनले तिनी बिरामी भएर फेरि निको भएका छन् भन्ने सुनेका थिए। 2हिजकियाले ती राजदूतहरूलाई सहर्ष स्वागत गरे, र उनीहरूलाई आफ्नो भण्डारका सुन, चाँदी, मसलाहरू, सुगन्धित तेलहरू, आफ्ना सारा हतियार-गृह र आफ्नो कोषमा भएका सबै सामानहरू देखाइदिए। आफ्नो महल र आफ्नो राज्यमा तिनले उनीहरूलाई नदेखाएको कुनै पनि थोक थिएन।
3तब यशैया अगमवक्ता हिजकिया राजाकहाँ आएर भने, “ती मानिसहरूले के भने, र उनीहरू कहाँबाट आएका थिए?”
हिजकियाले भने, “उनीहरू टाढ़ा देश बेबिलोनबाट मकहाँ आएका थिए।”
4अगमवक्ताले सोधे, “उनीहरूले तपाईंको दरबारमा के-के देखे?”
हिजकियाले भने, “उनीहरूले मेरो दरबारमा भएका सारा चीजहरू देखे। मेरो भण्डारमा मैले उनीहरूलाई नदेखाएको कुरा केही छैन।”
5तब यशैयाले हिजकियालाई भने, “सर्वशक्तिमान् परमप्रभुको वचन सुन्नुहोस्: 6त्यो समय निश्चय नै आउनेछ, जब तेरो दरबारमा भएका तेरा पुर्खाहरूले आजको दिनसम्म सञ्चय गरेका सबै थोक बेबिलोनमा लगिनेछन्, केही पनि छोड़िनेछैन, परमप्रभु भन्नुहुन्छ। 7तेरा कतिपय सन्तान, जन्मिएका तेरा रगत र मासु त्यहाँ कैदमा लगिनेछन्, र तिनीहरू बेबिलोनका राजाको महलमा नपुंसक बन्नेछन्।”
8हिजकियाले जवाफ दिए, “तपाईंले भन्नुभएको परमप्रभुको वचन असलै छ।” किनकि तिनले विचार गरे, “मेरो जीवनकालभरि त शान्ति र सुरक्षा हुनेछ।”
ISAIAH - 40:1-31,
परमेश्वरको प्रजालाई सान्त्वना
1तिमीहरूका परमेश्वर भन्नुहुन्छ, मेरो प्रजालाई सान्त्वना, सान्त्वना। 2विनम्र भएर यरूशलेमलाई भन। त्यसका दासत्वको सेवा पूरा भएको छ, त्यसका पापहरू क्षमा गरिएको छ अनि त्यसले परमप्रभुको हातबाट आफ्ना सबै पापका निम्ति दोबर पाएको छ भनी त्यसलाई घोषणा गर।
3कसैले बोलाइरहेको एउटा आवाज सुनिन्छ: “मरुभूमिमा परमप्रभुको निम्ति बाटो तयार गर। उजाड़-स्थानमा हाम्रा परमेश्वरको निम्ति मूलबाटो समतल बनाऊ। 4हरेक उपत्यका अल्गो बनाइनेछ, हरेक पर्वत र डाँड़ा होच्याइनेछ। बाङ्गो-टेढ़ो जग्गा सीधा बनाइनेछ, र खाल्टाखुल्टी समतल बनाइनेछ। 5अनि परमप्रभुको महिमा प्रकट गरिनेछ, र सारा मानव-जातिले त्यो एकैसाथ देख्नेछन्, किनकि परमप्रभुको मुखले नै भनेको छ।”
6एउटा आवाजले भन्छ, “करा।”
अनि मैले भने, “म के भनेर कराऊँ?” “सबै प्राणी घाँसजस्तै हुन्,
र तिनका सबै गौरव घाँसको फूलजस्ता।
7घाँस ओइलाउँछ, फूल झरिहाल्छ, किनभने परमप्रभुको सास तीमाथि फुकिन्छ। निश्चय नै मानिसहरू घाँस नै हुन्।
8घाँस ओइलाउँछ, फूलहरू झरिहाल्छ, तर हाम्रा परमेश्वरको वचन सधैँभरि अटल रहनेछ।”
9सियोनलाई शुभ समाचार सुनाउने हो, तिमी अग्लो पर्वतमा जाऊ। यरूशलेमलाई शुभ समाचार सुनाउने हो, जोडसँग तिम्रो सोर उचाल, सोर उचाल, नडराऊ। यहूदाका नगरहरूलाई भन, “हेर, तिमीहरूका परमेश्वर यहीँ हुनुहुन्छ!” 10हेर, परमप्रभु परमेश्वर पराक्रमसाथ आउँदैहुनुहुन्छ, र उहाँको हातले शासन गर्नुहुन्छ। हेर, उहाँको इनाम उहाँसितै छ, र उहाँको प्रतिफल उहाँकै साथमा छ। 11उहाँले आफ्नो बगाललाई गोठालाले झैँ चराउनुहुन्छ। उहाँले थुमाहरूलाई आफ्नै अँगालोमा लिनुहुन्छ, र तिनीहरूलाई आफ्नै हृदयको नजिक बोक्नुहुन्छ। उहाँले ससाना बच्चा भएकालाई चाहिँ बिस्तार-बिस्तार डोर्याउनुहुन्छ।
12कसले पानीलाई आफ्नो अँजुलीमा अथवा आफ्नो बित्ताले आकाशलाई नापेको छ? कसले पृथ्वीको माटो डालोमा भरेको छ अथवा पर्वतहरू तराजूमा र डाँड़ाहरूलाई काँटामा जोखेको छ? 13कसले परमप्रभुको मन बुझेको छ, अथवा उहाँको सल्लाहकार भएर उहाँलाई शिक्षा दिएको छ? 14बुद्धिको प्रकाशको निम्ति परमप्रभुले कससित सल्लाह लिनुभयो र कसले उहाँलाई ठीक बाटो सिकायो? कसले उहाँलाई ज्ञान सिकायो, अथवा समझको मार्ग देखायो?
15जाति-जाति त बाल्टीको एक थोपो पानीजस्तै छन्। तिनीहरू तराजूमा टाँसिएका धूलोजस्तै छन्। उहाँले त टापूहरूलाई मसिनो धूलोजस्तै जोख्नुहुन्छ। 16वेदीका दाउराको निम्ति लेबनान प्रशस्त हुँदैन, न त त्यसमा भएका पशुहरू होमबलिको निम्ति प्रशस्त हुन्छन्। 17सारा जातिहरू उहाँको सामुन्ने केही पनि होइनन्। उहाँले तिनीहरूलाई बेकामका र केही न केहीका ठान्नुहुन्छ।
18तब तिमीहरू परमेश्वरलाई कससित तुलना गर्नेछौ? अथवा केको प्रतिरूपसित उहाँको तुलना गर्नेछौ? 19मूर्ति त कारीगरले ढालेर बनाउँछ। सुनारले त्यसमा सुनको जलप लगाउँछ र त्यसको निम्ति चाँदीका सिक्रीहरू बनाउँछ। 20यस्तो भेटी चढ़ाउन नसक्ने साह्रै गरीबले चाहिँ नकुहुने काठ छान्छ। उसले आफ्नो निम्ति खोपेको मूर्ति नहल्लिने गरी बसाल्नलाई कुनै एक निपुण कारीगरलाई खोज्छ।
21के तिमीहरूले जानेका छैनौ? के तिमीहरूले सुनेका छैनौ? के यो कुरो तिमीहरूलाई सुरुदेखि नै भनिएको छैन? के पृथ्वीको जग बसालेको बेलादेखि नै तिमीहरूले बुझेका छैनौ? 22उहाँ पृथ्वीको परिधिभन्दा माथि विराजमान हुनुहुन्छ, र पृथ्वीका मानिसहरूचाहिँ फटेङ्ग्राजस्तै छन्। उहाँले आकाशलाई पर्दाझैँ फिँजाउनुहुन्छ, अनि त्यसमा वास गर्नलाई पालझैँ त्यो फैलाउनुहुन्छ। 23उहाँले राजकुमारहरूलाई बेकामका बनाइदिनुहुन्छ, र पृथ्वीका शासकहरूलाई रद्द तुल्याउनुहुन्छ। 24तिनीहरू रोपिनासाथै, छरिनासाथै, तिनीहरूले जमिनमा जरा हाल्नासाथै, उहाँले तिनीहरूलाई फुकिदिनुहुन्छ र तिनीहरू ओइलाइहाल्छन्, र आँधीले तिनीहरूलाई भुसजस्तै उड़ाएर लैजान्छ।
25“तिमीहरू मलाई कोसित तुलना गर्नेछौ? अथवा को मसमान छ?” परमपवित्र भन्नुहुन्छ। 26तिमीहरूका आँखा माथि उठाएर आकाशलाई हेर, यी सबै कसले बनाएका हुन्? उहाँले नै होइन र, जसले पुञ्जलाई एक-एक गरी ल्याउनुहुन्छ र प्रत्येकलाई नाउँ काढ़ी बोलाउनुहुन्छ। उहाँको ठूलो शक्ति र शक्तिशाली सामर्थ्यको कारण तिनीहरूमध्ये एउटै पनि हराउँदैन।
27हे याकूब, तँ किन भन्छस्? हे इस्राएल, तँ किन यस्तो गुनासो पोखाउँछस्? “मेरो बाटो परमप्रभुदेखि लुकेको छ, परमेश्वरले मेरो वास्ता गर्नुभएको छैन।” 28के तँलाई थाहा छैन? के तैंले सुनेको छैनस्? परमप्रभु सदासर्वदा परमेश्वर हुनुहुन्छ, पृथ्वीको पल्लो छेउसम्मका सृष्टिकर्ता हुनुहुन्छ। उहाँ न त थकित न हैरान हुनुहुन्छ, र कसैले पनि उहाँको समझलाई नाप्न सक्दैन? 29उहाँले थकितहरूलाई बल दिनुहुन्छ, र कमजोरहरूको शक्ति बढ़ाइदिनुहुन्छ। 30युवक पनि दुर्बल र थकित हुन्छन्, र जवान मानिसहरू थाकेर लोट्छन्। 31तर परमप्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरुडझैँ माथि-माथि उड्नेछन्, र दगुरेर पनि तिनीहरू थाक्नेछैनन्। तिनीहरू हिँड्नेछन् तापनि मूर्च्छा पर्नेछैनन्।
ISAIAH - 41:1-29,
इस्राएलको सहायक
1“हे टापू हो, मेरो सामुन्ने चूपचाप बस। जाति-जातिले नयाँ बल प्राप्त गरून्! तिनीहरू नजिक आऊन् र बोलून्। हामी एकसाथ न्यायालयमा जम्मा होऔं।
2उहाँको सेवा गर्न धार्मिकतामा बोलाउँदै कसले पूर्व दिशाबाट एक जनालाई उत्तेजित गरेको छ? उहाँले जाति-जातिहरूलाई तिनको अधीनमा पारिदिनुहुन्छ, र राजाहरूलाई तिनको सामुन्ने आफ्नो अधिकारमा ल्याउनुहुन्छ। तिनले उनीहरूलाई आफ्नो तरवारले धूलोजस्तै र आफ्नो धनुले उड़ाएको भुसजस्तै पारिदिन्छन्। 3तिनले उनीहरूलाई खेद्छन्, अघि कहिल्यै यात्रा नगरेका बाटाहरू भएर तिनी विनाक्षति बढ्दैजान्छन्। 4प्रारम्भदेखि पुस्ताहरूलाई बोलाएर यो काम पूरा गर्ने को हो? के म नै होइन र? म, परमप्रभु, तिनीहरूका पहिलो र पछिल्लोसित रहने म उही नै हुँ।”
5टापूहरूले यो देखे र डराए। पृथ्वीका पल्लो छेउसम्मका देशहरू कामे। तिनीहरू नजिक गई अगाड़ि आउँछन्। 6एउटाले अर्कोलाई सहायता गर्छ, र आफ्नो भाइलाई भन्छ, “ढाड़स गर।” 7निपुण कारीगरले सुनारलाई साहस दिन्छ र लिहीमाथि चुट्नेलाई घनले सम्म्याउनेले प्रोत्साहन दिन्छ। त्यसले रसायनको विषयमा भन्छ, “यो असलै छ,” र त्यो नहल्लिओस् भनेर मूर्तिलाई कीला ठोकेर बलियो बनाउँछ।
8“तर तँ, ए इस्राएल मेरो दास, याकूब, जसलाई मैले छानेको छु। मेरो मित्र अब्राहामको वंश, 9तँलाई मैले पृथ्वीको अन्तदेखि समातेर ल्याएँ, र पृथ्वीको पल्लो छेउदेखि तँलाई बोलाएँ। मैले भनें, ‘तँ मेरो दास होस्।’ मैले तँलाई छानेको छु, र तँलाई इन्कार गरेको छैनँ। 10यसैले नडरा, किनकि म तँसित छु। निरुत्साहित नहो, किनकि म तेरा परमेश्वर हुँ। म तँलाई बलियो पार्नेछु। म तँलाई सहायता गर्नेछु। मेरो धार्मिकताको दाहिने हातले म तँलाई सम्हाल्नेछु।
11“तँदेखि रिसाउनेहरू सबै निश्चय नै लज्जित हुनेछन्, र शर्ममा पर्नेछन्। तेरो विरोध गर्नेहरू केही न केहीका हुनेछन् र नष्ट हुनेछन्। 12तेरा शत्रुहरूलाई तैंले खोजे पनि उनीहरूलाई भेट्टाउनेछैनस्। तेरो विरोधमा युद्ध गर्नेहरू पनि बिलकुल निरर्थक हुनेछन्, र नष्ट हुनेछन्। 13किनकि म, परमप्रभु तेरा परमेश्वर हुँ, म तेरो दाहिने हात समात्छु, र तँलाई यसो भन्छु, ‘नडरा, म तँलाई सहायता गर्नेछु’। 14ए कीरा याकूब, ए सानो इस्राएल, नडरा! किनकि म नै तेरो सहायता गर्नेछु,” तँलाई उद्धार गर्नुहुने इस्राएलका परमपवित्र परमप्रभु घोषणा गर्नुहुन्छ। 15“हेर्, म तँलाई नयाँ र तीखा दाँत भएको अन्न कुट्ने हतियार बनाउनेछु। तैंले पर्वतहरूलाई छाँट्नेछस्, र कुटी-कुटी धूलोपीठो बनाउनेछस्, र डाँड़ाहरूलाई भुस पार्नेछस्। 16तैंले तिनीहरूलाई निफन्नेछस्, र बतासले तिनलाई उठाएर लैजानेछ, र आँधीले तिनीहरूलाई उड़ाएर लैजानेछ। तर तँचाहिँ परमप्रभुमा रमाहट गर्नेछस्। तैंले इस्राएलका परमपवित्रको महिमा गर्नेछस्।
17“गरीब र दरिद्रहरूले पानी खोज्छन्, तर केही पनि हुँदैन, तिनीहरूको जिब्रो प्यासले सुक्नेछ। तर म परमप्रभुले तिनीहरूलाई जवाफ दिनेछु। म इस्राएलका परमेश्वरले तिनीहरूलाई त्याग्नेछैनँ। 18नाङ्गो टाकुराहरूबाट म नदीहरू बगाउनेछु, र बेँसीमा पानीका मूलहरू निकाल्नेछु। म मरुभूमिलाई पानीको दह, र सुक्खा जमिनलाई पानीका मूलमा परिवर्तन गर्नेछु। 19मरुभूमिमा म देवदारुहरू र बबुल, असारे-फूल र जैतूनका रूखहरू उमार्नेछु। म रूखो जमिनमा सल्लाहरू र धूपीका रूखहरू एकसाथ उमार्नेछु, 20ताकि मानिसहरूले देखेर जानून् र विचार गरून् र पूरा रीतिले बुझून् कि यो परमप्रभुका हातको काम हो, अर्थात् इस्राएलका परमपवित्रले गर्नुभएको हो।
परमप्रभु र अन्यजातिहरूका देवताको भिन्नता
21“आफ्नो मुद्दा-मामिला पेश गर,” परमप्रभु भन्नुहुन्छ। “आफ्नो तर्क ल्याओ,” याकूबका महाराजाधिराज भन्नुहुन्छ। 22“जे हुन आउनेछ सो बताइदिन तिमीहरूका मूर्तिहरूलाई ल्याओ। यसरी भइसकेका कुरा हामीलाई बताइदेओ, र हामी तिनको विचार गरौं, र तिनको आखिरी नतीजा के हुन्छ भनी हामी जान्न सकौं। अथवा हुन आउने कुरा हामीलाई बताइदेओ। 23अब आउने कुराहरू हामीलाई प्रकट गर, र तिमीहरू ईश्वर हौ भनी हामी जान्न सकौंला। असल वा खराब केही गर, कि हामी हरेस खाऔं अनि डरमा परौं। 24तर तिमीहरू त कामै नलाग्ने हौ, र तिमीहरूका काम बिलकुलै व्यर्थका छन्। जसले तिमीहरूलाई चुन्छ त्यो घृणित हुन्छ।
25“मैले कसैलाई उत्तर दिशादेखि उक्साएको छु, र तिनी आउँछन्। सूर्य उदय हुने दिशाबाट आएर तिनले मेरो नाउँ लिन्छन्। तिनले हिलोलाई कुल्चेझैँ शासकहरूलाई कुल्चनेछन्, कुमालेले माटो कुल्चेझैँ। 26सुरुदेखि कसले यो प्रकट गरेको छ र हामीले जान्न सक्थ्यौं? अथवा अघिदेखि कसले यो प्रकट गर्यो र उहाँ ठीकै हुनुहुन्थ्यो भनी हामी भन्न सक्थ्यौं? यो कुरा कसैले हामीलाई बताएन, पहिले कसैले एक वचन पनि भनेन। तिमीहरूका वचन सुन्ने कोही थिएन। 27सियोनलाई ‘हेर, तिनीहरू त यहाँ छन्’ भन्ने सबैभन्दा पहिले म नै थिएँ। यरूशलेमलाई शुभ समाचार दिन एक जना समाचारवाहक पठाउने म नै थिएँ। 28म खोज्छु, तर त्यहाँ कोही पनि छैन। सल्लाह दिनका लागि तिनीहरूका बीचमा कोही पनि छैन। तिनीहरूलाई सोध्दा कसैले जवाफ दिँदैन। 29हेर, ती सबै झूटा हुन्! तिनीहरूका काम केही मोलका छैनन्। तिनीहरूका मूर्तिहरू हावा र अलमल मात्र हुन्।
ISAIAH - 42:1-25,
परमप्रभुको दास
1“मेरा दास यहाँ छन्, जसलाई म समर्थन गर्दछु,
मेरो चुनिएका जन, जसमा म प्रसन्न हुन्छु। तिनमा म मेरो आत्मा राखिदिनेछु। तिनले जाति-जातिहरूमा न्याय ल्याउनेछन्।
2तिनी चिच्च्याउनेछैनन्, वा कराउनेछैनन् अथवा तिनले आफ्नो सोर सड़कमा सुनाउनेछैनन्।
3फुटेको निगालो तिनले भाँच्नेछैनन्,
र धिपधिप भइरहेको सलेदो तिनले निभाउनेछैनन्। तिनले विश्वस्ततामा न्याय गर्नेछन्।
4जबसम्म तिनले पृथ्वीमा इन्साफ स्थापित गरिसक्दैनन् तबसम्म न त तिनी दुर्बल हुनेछन्, न निरुत्साहित हुनेछन्। तिनको व्यवस्थामा टापूहरूले आफ्नो आशा राख्नेछन्।”
5परमेश्वर परमप्रभु यसो भन्नुहुन्छ— आकाश सृष्टि गरेर त्यो फैलाउनुहुने, अनि पृथ्वी र त्यसबाट उत्पन्न हुने सबैलाई फैलाउनुहुने, र त्यसमा भएका मानिसहरूलाई सास अनि त्यसमा हिँड्डुल गर्नेहरूलाई आत्मा दिनुहुने: 6“म, परमप्रभुले तिमीलाई मेरो धार्मिकताअनुसार बोलाएको छु। म तिम्रो हात समात्नेछु, र तिम्रो रक्षा गर्नेछु। तिमीलाई नै म जाति-जातिहरूका निम्ति करार र अन्यजातिहरूका निम्ति ज्योति बनाउनेछु, 7अन्धाहरूका आँखा खोल्नलाई, कैदीहरूलाई कारागारबाट र अन्धकारमा बस्नेहरूलाई कैदी राख्ने तहखानाबाट निकाल्नलाई।
8“म परमप्रभु हुँ, मेरो नाउँ त्यही हो! मेरो महिमा म अरूलाई दिनेछैनँ, अथवा मेरो प्रशंसा मूर्तिहरूलाई दिनेछैनँ। 9हेर, पहिलेका कुराहरू भइसके, र नयाँ कुराहरू म बताउँछु। ती हुनभन्दा अघि नै म तिनका विषयमा तिमीहरूलाई प्रकाशित गर्नेछु।
परमप्रभुलाई प्रशंसा
10परमप्रभुको निम्ति एउटा नयाँ भजन गाओ, उहाँको प्रशंसा पृथ्वीको पल्लो छेउदेखि गर, हे तिमी समुद्रमा यात्रा गर्ने र त्यसमा भएका सारा थोक हो, हे टापूहरू र तिनका सबै बासिन्दा हो! 11मरुभूमि र त्यसमा भएका नगरहरूले आ-आफ्ना सोर उचालून्। केदार बसेका बस्तीहरूसमेतले गाऊन्, सेलाका मानिसहरू आनन्दले गाऊन्। तिनीहरू पर्वतका टाकुराबाट कराऊन्। 12तिनीहरूले परमप्रभुलाई महिमा देऊन्, र टापूहरूमा उहाँका प्रशंसाको घोषणा गरून्। 13परमप्रभु शक्तिशाली पुरुषझैँ निस्कनुहुनेछ। एक जना योद्धालेझैँ उहाँले आफ्नो जोश देखाउनुहुनेछ। उहाँ कराउनुहुनेछ, र ठूलो सोरले युद्ध-ध्वनि उठाउनुहुनेछ। उहाँ आफ्ना शत्रुहरूमाथि विजयी हुनुहुनेछ।
14“धेरै समयसम्म म चूपचाप बसें। म शान्त बसें, र आफैलाई रोकिराखें। तर बच्चा पाउन लागेकी स्त्रीझैँ अब म कराउँछु, मलाई स्वाँ-स्वाँ हुन्छ र सास फेर्छु। 15म पहाड़ र डाँड़ाहरूलाई उजाड़ पार्नेछु, र तिनका सारा वनस्पतिलाई सुकाइदिनेछु। नदीहरूलाई म टापूमा परिवर्तन गरिदिनेछु, र दहहरूलाई सुकाइदिनेछु। 16म अन्धाहरूलाई तिनीहरूले नचिनेको बाटोमा डोर्याउनेछु। तिनीहरूले नजानेको बाटोमा म तिनीहरूलाई बाटो देखाउँदै लानेछु। म तिनीहरूका अगि अँध्यारोलाई उज्यालो र खाल्टाखुल्टी ठाउँलाई सम्म बनाउनेछु। यी कामहरू म गर्नेछु। म तिनीहरूलाई त्याग्नेछैनँ। 17तर देवताहरूमा भरोसा राख्नेहरू, र मूर्तिहरूलाई ‘तपाईंहरू नै हाम्रा ईश्वर हुनुहुन्छ’ भन्नेहरू ठूलो लाजमा पर्नेछन्।
18“हे बहिरा हो, सुन! हे अन्धा हो, हेर र देख! 19मेरो दासबाहेक अन्धो अरू को छ? अथवा मैले पठाउने समाचारवाहकजस्तो अरू को बहिरा छ? ममा समर्पित हुनेझैँ अन्धा को छ? परमप्रभुको दासजस्तो अन्धा को छ? 20तैंले धेरै कुराहरू देखेको छस्, तर ध्यान दिएको छैनस्। तेरा कान त खुल्लै छन्, तर तैंले केही सुन्दैनस्। 21आफ्नो धार्मिकताको खातिर आफ्नो व्यवस्थालाई महान् र महिमित पार्न परमप्रभुलाई खुशी लाग्यो। 22तर यो एउटा यस्तो जाति हो, जो ठगिएका र लुटिएका छन्। तिनीहरू सबै खाल्डामा जाकिएका छन् अथवा तिनीहरू झ्यालखानमा लुकाइएका छन्। तिनीहरू लुटिएका छन्, तिनीहरूलाई छुटाउने कोही छैन। तिनीहरू लूट बनाइएका छन्, र तिनीहरूलाई फर्काई पठाइदेओ भन्ने कोही छैन।
23तिमीहरूमध्ये को छ, जसले यस कुरालाई सुन्छ। वा आउने समयमा ध्यान दिन्छ? 24याकूबलाई लूट बन्न, र इस्राएललाई डाँकूहरूका वशमा पर्न कसले सुम्पिदियो? के परमप्रभुले होइन र, जसको विरुद्धमा हामीले पाप गरेका छौं? किनकि तिनीहरू उहाँको बाटोमा हिँड़ेनन्, तिनीहरूले उहाँको व्यवस्था पालन गरेनन्। 25यसैकारण उहाँले तिनीहरूमाथि आफ्नो बलिरहेको रीस र लड़ाइँको हिंसा पोखाउनुभयो। त्यसैले तिनीहरूका चारैतिर आगो सल्कियो, तापनि तिनीहरूले बुझेनन्। त्यसले तिनीहरूलाई भस्म पार्यो, तापनि तिनीहरूले त्यो कुरा मनमा राखेनन्।
ISAIAH - 43:1-28,
इस्राएलका एक मात्र उद्धारक
1तर अब हे याकूब, तिमीलाई रच्नुहुने, हे इस्राएल, तिमीलाई सृष्टि गर्नुहुने परमप्रभु भन्नुहुन्छ: “नडरा, किनकि मैले तँलाई मोल तिरेर छुटाएको छु। मैले तँलाई तेरो नाउँ काढ़ेर बोलाएको छु, तँ मेरै होस्। 2तँ पानीबाट भएर जाँदा म तेरो साथमा हुनेछु। तँ नदीहरूबाट भएर जाँदा तिनले तँलाई डुबाउनेछैनन्। तँ आगोबाट हिँड़ेर जाँदा डढ्नेछैनस्। त्यसको ज्वालाले तँलाई भस्म पार्नेछैन।
3किनभने म परमप्रभु, तेरा परमेश्वर हुँ, इस्राएलका परमपवित्र, तेरा उद्धारक। तँलाई छुटाउनका निम्ति मिश्रदेश, र तेरो सट्टामा कूश र सेबा म दिन्छु। 4तँ मेरो दृष्टिमा बहुमूल्य र आदरणीय भएकाले, र मैले तँलाई प्रेम गरेको कारणले म मानिसहरूलाई तेरो सट्टामा, र जाति-जातिहरूलाई तेरो जीवनको सट्टामा दिनेछु। 5नडरा, किनकि म तँसित छु। म तेरा छोराछोरीहरूलाई पूर्वदेखि ल्याउनेछु, र पश्चिमदेखि तिमीहरूलाई भेला गर्नेछु। 6म उत्तर दिशालाई भन्नेछु, ‘तिनीहरूलाई दिइहाल्।’ र दक्षिण दिशालाई भन्नेछु, ‘तिनीहरूलाई नथुन्।’ मेरा छोराहरूलाई टाढ़ादेखि र मेरा छोरीहरूलाई पृथ्वीको पल्लो छेउदेखि ल्याओ, 7हरेक जो मेरो नाउँद्वारा बोलाइएको छ, जसलाई मैले मेरो महिमाको निम्ति सृष्टि गरेको छु, जसको आकार मैले नै रचें र बनाएँ।”
8आँखा भएर पनि अन्धा र कान भएर पनि बहिरा हुनेहरूलाई बाहिर डोर्याओ। 9सबै जाति-जातिहरू एकैसाथ जम्मा होऊन् र मानिसहरू भेला होऊन्। तिनीहरूमध्ये कसले हामीलाई यो कुरा बतायो, र पहिलेका कुराहरू घोषणा गर्यो? तिनीहरू सच्चा ठहरिनलाई आ-आफ्ना साक्षी ल्याऊन्, र अरूहरूले सुनेर भनून्, “यो सत्य हो।” 10परमप्रभु भन्नुहुन्छ, “तिमीहरू मेरा साक्षी र मैले चुनेका दास हौ, र तिमीहरूले मलाई चिन्न र विश्वास गर्न सक, अनि म उही हुँ भनी बुझ्न सक। मभन्दा अघि कोही ईश्वर नै बनिएको थिएन, न त म पछि कोही हुनेछ। 11म हुँ, म नै परमप्रभु हुँ। मबाहेक अरू कोही मुक्तिदाता छैन। 12मैले प्रकट गरेको छु, बचाएको छु र घोषणा गरेको छु— तिमीहरूका बीचमा मैले यो गरेको हुँ, अन्य ईश्वरले होइन। तिमीहरू मेरा साक्षी हौ, कि म नै परमेश्वर हुँ,” परमप्रभु भन्नुहुन्छ। 13“हो, प्राचीन समयदेखि नै म उही हुँ। मेरो हातबाट कसैले छुटाउन सक्दैन। जब म काम गर्छु, त्यसलाई कसले उल्टाउन सक्छ?”
परमेश्वरको कृपा र इस्राएलीहरूको अविश्वास
14परमप्रभु तिमीहरूका उद्धारक, इस्राएलका परमपवित्र यसो भन्नुहुन्छ: “तिमीहरूका खातिर म बेबिलोनमा मानिसहरू पठाउनेछु। म सबै बेबिलोनीहरूलाई उनीहरूले गर्व गरेका जहाजहरूमा शरणार्थीहरूलाई झैँ ल्याउनेछु। 15म परमप्रभु, तिमीहरूका परमपवित्र, इस्राएलका सृष्टिकर्ता, तिमीहरूका राजा हुँ।”
16परमप्रभु यही भन्नुहुन्छ— “समुद्रमा बाटो बनाउनुहुने, शक्तिशाली सागरमा मार्ग बनाउनुहुने, 17रथहरू र घोड़ाहरू, सेना र थप सेनालाई एकैसाथ निकाल्नुहुने, तिनीहरू जो फेरि उठ्न नसक्ने गरी पड़िरहेका थिए, सलेदो निभाएझैँ निभाएका थिए: 18“बितेका कुराहरूलाई भूल, उहिलेका कुराहरूलाई विचार नगर। 19हेर, म एउटा नयाँ कुरो गर्दैछु! त्यो अब हुन आउँछ। के तिमीहरू त्यो देख्दैनौ? म मरुभूमिमा एउटा बाटो र रूखो जमिनमा खोलाहरू बनाउँदैछु। 20जङ्गली जनावरहरू, स्यालहरू र लाटोकोसेराहरूले मेरो इज्जत गर्छन्, किनभने म मेरा मानिसहरू, मेरा चुनिएकाहरूलाई पिउनका निम्ति मरुभूमिमा पानी अनि रूखो जमिनमा खोलाहरू दिन्छु, 21त्यस जातिलाई, जसलाई मेरो प्रशंसाको घोषणा गरून् भनेर मेरो निम्ति मैले बनाएँ।
22“तापनि हे याकूब, तैंले मलाई पुकारा गरेको छैनस्। हे इस्राएल, तँ मेरो निम्ति थकित भएको छैनस्। 23तैंले होमबलिको लागि भेड़ा ल्याएको छैनस्, न त आफ्ना बलिदानले तैंले मलाई मेरो इज्जत गरेको छस्। अन्नबलि चढ़ाएर मेरो सेवा गर्नलाई मैले तँलाई भार लगाएको छैनँ, न त धूप मागेर तँलाई थकाएको छु। 24तैंले मेरो निम्ति बास्ना आउने बोझो किनेर ल्याएको छैनस्, तेरा बलिदानहरूको बोसोले मलाई तृप्त पारेको छैनस्। तर तैंले मलाई तेरा पापले भार लगाएको छस्। तेरा अधर्मले गर्दा मलाई तैंले थकाएको छस्।
25“म उही हुँ, जसले तेरा अपराधहरू मेरो आफ्नै खातिर मेटिदिन्छ, र तेरा पापहरूलाई सम्झँदैन। 26मेरो निम्ति बितेको कुराको पुनर्विलोकन गर। हामी आपसमा यी कुरा छलफल गरौं। तँ निर्दोष ठहरिनलाई आफ्नो कुरा पेश गर्। 27पहिलेको तेरो पिताले पाप गर्यो, र तेरा प्रवक्ताहरू मेरो विरुद्धमा बागी भए। 28यसैले तेरो मन्दिरका उच्च पदाधिकारीहरूलाई म शर्ममा पार्नेछु, र याकूबलाई नष्ट र इस्राएललाई निन्दित हुनलाई म सुम्पिदिनेछु।
ISAIAH - 44:1-28,
चुनिएको इस्राएल
1“तर अब हे मेरो दास याकूब, मैले चुनेको इस्राएल, ध्यान लाएर सुन्, 2तँलाई बनाउने, तँलाई गर्भमा रच्ने र तँलाई गोहार गर्ने परमप्रभु यसो भन्नुहुन्छ: हे मेरो दास याकूब, मैले चुनेको यशूरून, तँ नडरा। 3किनकि म सुकेको जमिनमा पानी र सुक्खा भूमिमा खोलाहरू खन्याइदिनेछु। म तेरो वंशमाथि मेरो आत्मा खन्याउनेछु, र तेरो सन्तानलाई आशिष् दिनेछु। 4तिनीहरू चौरमा उम्रेका घाँसजस्ता, बग्ने खोलाको नजिक उम्रेका लहरे-पीपलजस्ता हुनेछन्। 5कसैले भन्नेछ, ‘म परमप्रभुको हुँ’। अर्काले आफ्नो नाउँ याकूब राख्नेछ, अझै अर्काले आफ्नो हातमा ‘परमप्रभुको’ भनी लेख्नेछ, र आफ्नो नाउँ इस्राएल राख्नेछ।
मूर्तिहरू होइनन्, तर परमप्रभु
6“इस्राएलका महाराजा र उद्धारक र सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ: पहिलो र पछिल्लो म नै हुँ। मबाहेक अरू परमेश्वर छैन। 7मजस्तै को छ र? त्यसले त्यो घोषणा गरोस्। त्यसले बताओस् र मेरो अगि राखोस्, मेरा प्राचीन प्रजालाई स्थापित गरेकोदेखि यसो के भएको छ? अझ जे हुन आउँछ त्यसले हामीलाई अघिबाटै बताओस्। 8तिमीहरू नडराओ, न त थरहरी होओ। के मैले तिमीहरूलाई धेरै अघि नै घोषणा गरेर यो देखाएको होइनँ र? तिमीहरू मेरा साक्षी हौ। के मबाहेक अरू परमेश्वर छ र? अँहँ, कोही चट्टान छैन, म यस्तो कसैलाई चिन्दिनँ।”
9मूर्तिहरू बनाउने सबै व्यर्थ हुन्, र तिनीहरूले मूल्यवान् सम्झेका वस्तुहरू मूल्यहीन छन्। तिनीहरूको पक्षमा बोल्नेहरू अन्धा छन्, तथा तिनीहरू अबोध भएर आफू शर्ममा परेका छन्। 10कसले देवता बनाउँछ, अथवा खोपेको मूर्तिलाई ढालेर बनाउँछ, जसबाट त्यसलाई केही लाभ हुँदैन। 11त्यो र त्योजस्ता सबै लाजमा पर्नेछन्। कारीगरहरू केवल मानिसहरू मात्र हुन्। तिनीहरू एकसाथ भेला भएर खड़ा होऊन्। तिनीहरू तर्सिनेछन् र लज्जित हुनेछन्।
12लोहारले एउटा औजार लिन्छ र भुङ्ग्रामा काम गर्छ, त्यसले घनले हिर्काएर मूर्तिको आकार निकाल्दछ। त्यसले आफ्नो बलियो पाखुराले त्यो काम गर्दछ। त्यो भोकाउँछ, र त्यसको बल घट्छ। त्यसले पानी पिउँदैन र त्यसलाई भाउन्न छुट्छ। 13सिकर्मीले सूत तानेर सीसाकलमले चिन्ह लाउँछ। त्यसले रामोले चिल्लो पारेर त्यसको आकार निकाल्छ, र परकालले त्यसमा चिन्ह लगाएर पूजा कोठामा राख्नलाई मानिसको सबै सुन्दरताको रूपमा त्यसको आकार निकाल्छ। 14त्यसले देवदारु काठ अथवा धूपी वा फलाँटको रूख चुन्यो, र वनका अरू रूखहरूसँग त्यसलाई बढ्न दियो। अथवा त्यसले सल्लाको रूख लगायो र वर्षाको पानीले त्यसलाई बढ़ायो। 15तब त्यो मानिसलाई जलाउनका निम्ति दाउरा हुन्छ, र त्यसले त्यसबाट केही लिएर आफै त्यसको आगो ताप्छ। त्यसले त्यो जलाएर रोटी पकाउँछ। तर त्यसले एउटा देवता पनि बनाएर त्यसलाई पुज्छ। त्यसले त्यसबाट मूर्ति बनाउँछ, र त्यसको अगाड़ि घोप्टो पर्छ। 16त्यस काठको आधा भाग त्यसले आगोमा जलाउँछ, त्यसमाथि त्यसले आफ्नो खानेकुरा पकाउँछ, त्यसैबाट त्यसले मासु भुट्छ र खान्छ। त्यसले आगो पनि तापेर भन्छ, “अहा! म तातिएँ, मैले आगो देख्न पाएँ।” 17त्यसको बाँकी भागबाट त्यसले एउटा ईश्वर बनाउँछ, त्यसको मूर्ति। त्यसको सामुन्ने त्यो घोप्टो परेर त्यसलाई पुज्छ, र त्यसलाई प्रार्थना गर्छ र भन्छ, “मलाई बचाउनुहोस्, किनकि तपाईं मेरा ईश्वर हुनुहुन्छ।”
18तिनीहरू केही जान्दैनन्, तिनीहरूले केही बुझ्दैनन्। तिनीहरूका आँखामा लेप लाइएको छ, यसैले तिनीहरूले देख्न सक्दैनन्, तिनीहरूका मन बन्द गरिएका छन्, र तिनीहरूले बुझ्न सक्दैनन्। 19कसैले बसेर विचार गर्दैनन्, यसो भन्नलाई कसैसित ज्ञान अथवा समझ छैन, “मैले त्यसको आधा भाग दाउराको रूपमा प्रयोग गरें। त्यसैको आगोमा मैले रोटी पनि पोलें। मैले मासु भुटेर खाएँ। के त्यसको बचेको भागबाट मैले घिनलाग्दा थोक बनाउने? के मैले नै रूखको ठुटाको सामुन्ने घोप्टो पर्ने?” 20त्यसले खरानी बुकाउँछ, धोकेबाज हृदयले त्यसलाई भ्रममा पार्छ। त्यसले आफ्नो प्राणलाई बचाउन सक्दैन, न त भन्न सक्छ, “के मेरो दाहिने हातमा भएको चीज झूटा होइन र?”
21“हे याकूब, यी कुरालाई याद राख्, किनकि हे इस्राएल, तँ मेरो दास होस्। मैले तँलाई बनाएको हुँ। तँ मेरो दास होस्। हे इस्राएल, तँलाई म बिर्सनेछैनँ। 22मैले तेरा अपराधहरू बादलझैँ र तेरा पापहरू बिहानको कुइरोझैँ हटाइदिएँ। फर्केर आइज, किनकि मैले तँलाई मोल तिरेर छुटकारा दिएको छु।”
23हे आकाश, आनन्दले गा, किनकि परमप्रभुले त्यसो गर्नुभएको छ। हे भूगर्भ, चर्को सोरले करा। हे पर्वतहरू, वन र त्यहाँका सबै रूख हो, उच्च सोरले गाओ, किनकि परमप्रभुले मोल तिरेर याकूबलाई छुटाउनुभएको छ, उहाँ आफैले इस्राएलमा आफ्नो महिमा देखाउनुहुन्छ।
यरूशलेममा आबादी
24“परमप्रभु यसो भन्नुहुन्छ— तेरा उद्धारक, जसले तँलाई गर्भमा रच्नुभयो: म परमप्रभु हुँ, जसले सारा थोकलाई बनाउनुभयो, जसले एकलै आकाशलाई फैलाउनुभयो, जसले आफै पृथ्वीलाई फिँजाउनुभयो, 25जसले झूटा अगमवक्ताहरूका चिन्ह निष्फल तुल्याउँनुहुन्छ, र जोखना हेर्नेहरूलाई मूर्ख तुल्याउँनुहुन्छ, जसले ज्ञानी मानिसहरूको ज्ञान भ्रष्ट पार्नुहुन्छ, र त्यसलाई मूर्खतामा परिणत गर्नुहुन्छ, 26जसले आफ्ना दासहरूका वचनलाई पक्का गराउँनुहुन्छ, र आफ्ना समाचारवाहकहरूका भविष्यवाणी पूरा गर्नुहुन्छ, जसले यरूशलेमको बारेमा भन्नुहुन्छ, ‘त्यसमा मानिसहरूको आबादी हुनेछ,’ जसले यहूदाका सहरहरूका बारेमा भन्नुहुन्छ, ‘ती बनाइनेछन्,’ जसले त्यसका भत्काइएका ठाउँहरूका बारेमा भन्नुहुन्छ, ‘म पुनर्स्थापित गर्नेछु,’ 27जसले गहिरा पानीलाई भन्नुहुन्छ, ‘सुकिजा, म तेरा खोलाहरूलाई सुकाउनेछु,’ 28जसले कोरेसका बारेमा भन्नुहुन्छ, ‘त्यो मेरो गोठाला हो, र मेरो सबै इच्छा त्यसले पूरा गर्नेछ। यरूशलेमको बारेमा त्यसले यसो भन्नेछ, “त्यो फेरि बनाइओस्,” र मन्दिरको बारेमा चाहिँ, “यसको जग बसालिओस्’।”
ISAIAH - 45:1-25,
1“परमप्रभुले आफ्नो अभिषिक्त कोरेसलाई यही भन्नुहुन्छ, जाति-जातिहरूलाई पराजित गर्न, राजाहरूलाई हातहतियाररहित तुल्याउन, त्यसको सामुन्ने ढोकाहरू खोल्न, र मूल ढोकाहरू बन्द हुन नदिन म त्यसको दाहिने हात समात्छु: 2म तेरो अगिअगि जानेछु, र पर्वतहरूलाई समतल पार्नेछु। काँसाका ढोकाहरू म टुक्रा-टुक्रा पार्नेछु, र फलामका बारहरू काट्नेछु। 3म परमप्रभु हुँ, म नै इस्राएलका परमेश्वर हुँ, मैले नै तँलाई तेरो नाउँ काढ़ेर बोलाएको छु भनेर तैंले थाहा पाउनलाई म तँलाई अँध्यारो ठाउँमा भएको भण्डार र गुप्त स्थानमा जम्मा गरेको धन दिनेछु। 4मेरो दास याकूब, मेरो चुनिएको इस्राएलको खातिर मैले तँलाई तेरो नाउँ काढ़ेर बोलाएको हुँ। तैंले मलाई स्वीकार नगरेको भए तापनि मैले तँलाई सम्मानको पद दिएको छु। 5म परमप्रभु हुँ, अनि मबाहेक अरू कोही छैन। मबाहेक अरू कोही परमेश्वर छैन। तैंले मलाई स्वीकार नगरेको भए तापनि म तँलाई बलियो पार्नेछु, 6ताकि सूर्योदयदेखि लिएर सूर्यास्तसम्म मानिसहरूले जानून् कि मबाहेक अरू कोही छैन। म परमप्रभु हुँ, र मबाहेक अरू कोही छैन। 7मैले उज्यालो बनाएँ, र अँध्यारोलाई सृष्टि गरें। म उन्नति ल्याउँछु, र संहार सृष्टि गर्छु। म, परमप्रभुले नै यी सारा काम गर्छु।
8“हे माथिको आकाश, धार्मिकताको वृष्टि खन्या। बादलले त्यो बर्साओस्। पृथ्वी विस्तृत रूपमा खोलिओस्, मुक्ति उत्पन्न होस्, धार्मिकता साथसाथै बढ्न पाओस्। म, परमप्रभुले नै यो सृष्टि गरेको हुँ।
9“धिक्कार त्यसलाई, जसले आफ्ना सृष्टिकर्तासित झगड़ा गर्छ, त्यो जो जमिनमा भएका खपटाहरूमध्ये एउटा खपटो मात्र हो। के माटोले कुमालेलाई ‘तैंले के बनाइरहेछस्?’ भनी सोध्छ? के तेरो कामले ‘उसको हातै छैन’ भनी भन्छ? 10धिक्कार त्यसलाई, जसले बुबालाई भन्छ, ‘तपाईंले केलाई जन्माउनुभयो? अथवा आमालाई भन्छ, ‘तपाईंले के जन्माउनुभयो?”
11“इस्राएलका परमपवित्र र यसका सृष्टिकर्ता परमप्रभु भन्नुहुन्छ: आउने कुराहरूका विषयमा, के तिमीहरू मेरा छोराछोरीहरूका बारेमा प्रश्न सोध्छौ, अथवा मेरा हातका कामका बारेमा तिमीहरू मलाई हुकुम दिन्छौ? 12पृथ्वी मैले नै बनाएको हुँ, र त्यसमा मानिसहरूलाई मैले सृष्टि गरेको हुँ। मेरै हातले आकाशलाई फिँजाएको हो, र त्यसका सारा तारामण्डललाई मैले नै ठीक गरी मिलाएको छु। 13कोरेसलाई मेरो धार्मिकतामा खड़ा गर्नेछु। म त्यसका सबै बाटो सीधा पार्नेछु। त्यसले मेरो सहर पुनर्निर्माण गर्नेछ, र बन्धनमा परेका मेरा सबैलाई मुक्त गर्नेछ, तर दाम लिएर होइन, न त इनाम लिएर, सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।”
14परमप्रभु यसो भन्नुहुन्छ: “मिश्रदेशको उब्जनी र कूश देशको व्यापार र ती ठूला कदका शेबाका मानिस जातिहरू तँकहाँ आउनेछन्, र ती तेरा हुनेछन्। तिनीहरू तेरो पछिपछि आउनेछन्। साङ्लाले बाँधिएका भएर तिनीहरू तँपट्टि आउनेछन्। तिनीहरू तेरो सामुन्ने झुक्नेछन्, र यसो भनेर तिनीहरूले तँलाई बिन्ती गर्नेछन्, ‘निश्चय नै परमेश्वर तपाईंसँग हुनुहुन्छ। अरू कोही छैन, उहाँबाहेक अरू कोही ईश्वर छैन’।”
15साँच्चै तपाईं परमेश्वर हुनुहुन्छ, जसले आफूलाई लुकाउनुहुन्छ, हे परमेश्वर, इस्राएलका उद्धारक। 16मूर्ति बनाउनेहरू सबै शर्ममा पर्नेछन् र तिनीहरूको बेइज्जत हुनेछ। तिनीहरू सबैको एकसाथ बेइज्जत हुनेछ। 17तर इस्राएलचाहिँ परमप्रभुद्वारा उहाँको सदासर्वदाको उद्धारद्वारा नै बचाइनेछ। अनन्त कालसम्म तिमीहरू कहिल्यै लज्जित हुनेछैनौ, अथवा तिमीहरूको बेइज्जत हुनेछैन।
18किनकि परमप्रभु यसो भन्नुहुन्छ— उहाँ, जसले आकाश सृष्टि गर्नुभयो, उहाँ नै परमेश्वर हुनुहुन्छ, जसले पृथ्वीको रूप रच्नुभयो र बनाउनुभयो, र त्यो बसाल्नुभयो, उहाँले त्यो खाली हुनलाई सृष्टि गर्नुभएन तर उहाँले त्यो आबाद गर्नलाई बनाउनुभयो— उहाँ भन्नुहुन्छ: “म परमप्रभु हुँ, मबाहेक अरू कोही छैन। 19अन्धकारको देशमा कहीँबाट मैले गुप्तमा बोलेको छैनँ, ‘तिमीहरू मलाई व्यर्थमा खोज’ भनी मैले याकूबका सन्तानलाई भनिनँ। म, परमप्रभु सत्य बोल्दछु, म ठीक-ठीक कुरा घोषणा गर्दछु।
20“तिमीहरू जम्मा भएर आओ, एकसाथ नजिक आओ, तिमीहरू जाति-जातिका शरणार्थी हो! काठका मूर्तिहरू बोकिहिँड्नेहरू, र बचाउन नसक्ने देवताहरूलाई प्रार्थना गर्नेहरू अबोध छन्। 21हुन लागेका कुरा बताओ, त्यसलाई प्रस्तुत गर। तिनीहरूले आपसमा सल्लाह गरून्। यो कुरा कसले धेरै वर्षअघि बतायो? उहिलेदेखि यो कसले बतायो? के म, परमप्रभुले होइन र? मबाहेक अरू कोही परमेश्वर छैन। धर्मी परमेश्वर र उद्धारक, मबाहेक अरू कोही छैन।
22“मतिर फर्क, र उद्धार पाओ, हे पृथ्वीका सबै पल्लो छेउका हो, किनकि म परमेश्वर हुँ र अरू कोही छैन। 23मैले आफ्नो जीवनको शपथ खाएको छु, सारा ईमानदारीमा मेरो मुखबाट एउटा वचन उच्चारण गरिएको छ, जो फेरि फिर्ता लिइनेछैन। हरेक घुँड़ा मेरै अगि टेकिनुपर्नेछ। हरेक जिब्रोले मेरै नाउँ लिएर शपथ खानेछ। 24मेरो विषयमा तिनीहरूले भन्नेछन्, ‘परमप्रभुमा मात्र धार्मिकता र शक्ति छ’।” उहाँको विरुद्धमा रीस गर्नेहरू सबै उहाँकहाँ नै आउनेछन्, र लज्जित हुनेछन्। 25तर परमप्रभुमा नै इस्राएलका सबै वंश धर्मी पाइनेछन्, र तिनीहरू आनन्दले मग्न हुनेछन्।
ISAIAH - 46:1-13,
बेबिलोनका देवताहरू
1बेल देवता झुक्छ, नेबो देवता निहुरिन्छ। भारी बोक्ने पशुहरूले तिनीहरूका मूर्तिहरू बोक्छन्। तिनीहरूले लिएर हिँड़ेका मूर्तिहरू थाकेकाहरूका लागि गह्रौँ बोझजस्तै छन्। 2ती निहुरिन्छन्, र सँगसँगै झुक्छन्। तिनीहरूले भारी छुटाउन नसक्दा तिनीहरू आफै कैदमा पर्छन्।
3“हे याकूबका घराना, ध्यानसित सुन, इस्राएलका घरानाका बाँचेका सबै, जसलाई मैले गर्भदेखि नै थामेको छु र तँलाई जन्मैदेखि बोकेको छु। 4तिमीहरूको बुढ़ेसकालसम्म र कपाल फुलेको अवस्थासम्म म त्यही हुँ, म त्यही हुँ जसले तँलाई थाम्नेछ। मैले तँलाई बनाएको हुँ, र म तँलाई बोकेर हिँड्नेछु, र तँलाई बचाउनेछु र छुटाउनेछु।
5“तिमीहरू मलाई कोसँग तुलना गर्नेछौ, अथवा कसको बराबरी गन्नेछौ? मलाई कोसित दाँज्छौ र हामी तुलना गरिनेछौं। 6कसै-कसैले थैलाबाट सुन खन्याउँछन् र चाँदी तराजूमा जोख्छन् र एउटा सुनारलाई ज्यालामा लगाएर त्यसबाट तिनीहरू देवता बनाउँछन् र तिनीहरू त्यसको सामुन्ने घोप्टो पर्छन् र त्यसलाई पुज्छन्। 7तिनीहरू त्यसलाई काँधमा हाली बोकेर लैजान्छन्, र त्यसलाई त्यसको स्थानमा राख्छन्, र त्यो त्यहाँ खड़ा रहन्छ। त्यस ठाउँबाट त्यो आफै सर्न सक्दैन। कसैले त्यसको सामुन्ने पुकारा गरे तापनि त्यसले जवाफ दिँदैन, त्यसले त्यसको दु:खदेखि बचाउन सक्दैन।
8“हे बागी हो, यस कुरालाई सम्झ, र मनमा दृढ़ पार र हृदयमा राख। 9अघि-अघिका पुराना कुराहरूलाई सम्झ। म परमेश्वर हुँ, र अरू कोही छैनँ। म परमेश्वर हुँ, मजस्तै अरू कोही छैन। 10आदिदेखि अन्तसम्मको, र प्राचीन समयदेखि हुन आउनेसम्मको जानकारी म दिन्छु। म भन्छु: मेरो अभिप्राय ठहर्नेछ, र मैले चाहेको सबै पूरा गर्नेछु। 11पूर्वबाट म शिकारी पक्षी बोलाउँछु, र टाढ़ा देशबाट मेरो अभिप्राय पूरा गर्न म एक जना मानिसलाई बोलाउँछु। मैले जे भनेको छु, त्यो म गर्नेछु। मैले जे योजना बनाएको छु, म त्यो गर्ने नै छु।
12हे हठी हृदयका र धार्मिकताबाट टाढ़ा रहेका हो, मेरो कुरा ध्यानसित सुन। 13म आफ्नो धार्मिकता नजिक ल्याइरहेछु, त्यो टाढ़ा छैन, र मेरो उद्धारले बियाँलो गर्नेछैन। म सियोनलाई उद्धार प्रदान गर्नेछु। मेरो ऐश्वर्य इस्राएललाई प्रदान गर्नेछु।
ISAIAH - 47:1-15,
बेबिलोनको पतन
1“हे बेबिलोनकी कन्ये-छोरी, तल जा, धूलोमा बस्। हे बेबिलोनीहरूकी छोरी, सिंहासनविनै भूइँमा बस्। अब उप्रान्त तँ कोमल र सुकुमारी भनिनेछैनस्। 2जाँतो लिएर पीठो पिँध्। घुम्टो हटा, फरिया माथि सार्, नाङ्गो जाँघ देखाएर नदी तर्। 3तेरो नग्नता उघारिनेछ। तेरो शर्म प्रकट हुनेछ। म बदला लिनेछु, म कसैलाई छोड्नेछैनँ।”
4हाम्रा उद्धारक सर्वशक्तिमान् परमप्रभु उहाँको नाउँ हो। उहाँ इस्राएलका परमपवित्र हुनुहुन्छ।
5“हे बेबिलोनीहरूकी छोरी, तँ चूप लागेर बस्, अँध्यारोमा जा, अब उप्रान्त तँ राज्य-राज्यकी रानी भनिनेछैनस्। 6म मेरो प्रजादेखि रिसाएको थिएँ र मैले मेरो निज भागलाई अपवित्र गरें। मैले तिनीहरूलाई तेरो हातमा दिएँ, तर तैंले तिनीहरूलाई दया देखाइनस्। बुढापाकाहरूलाई पनि तैंले आफ्नो साह्रै गह्रौँ जुवा बोकाइस्। 7तैंले भनिस्, ‘म सदासर्वदाको निम्ति अनन्तकी रानी भइरहनेछु!’ तर तैंले यी कुरा विचार गरिनस्, अथवा पछि के हुन्छ, त्यसको आखिरी नतीजा सम्झिनस्।
8“यसकारण ‘हे विलासी, आफ्नो सुरक्षामा वेपरवाहसित बस्ने, हृदयमा ‘म नै हुँ र मबाहेक अरू कोही छैन, म कहिल्यै विधवा हुनेछैनँ, अथवा छोराछोरीहरूको वियोग जान्नेछैनँ’ भन्ने अब यो कुरा ध्यानसित सुन्। 9‘यी दुई कुरा तँमाथि एकै क्षणमा एकै दिनमा आइपर्नेछन्: छोराछोरीहरूका वियोग र विधवापना। तेरो ज्यादै टुनामुना र तेरो शक्तिशाली तन्त्रमन्त्र भए तापनि ती पूर्ण रूपमा तँमाथि आउनेछन्। 10तैंले आफ्नो खराबीमाथि भरोसा राखेकी छस्, र ‘कसैले मलाई देख्दैन’ भनेकी छस्। तेरो ज्ञान र तेरो बुद्धिले तँलाई भ्रममा पारेको छ, जब तैंले आफ्नो मनमा भन्छेस्, ‘म नै हुँ, मबाहेक अरू कोही छैन’। 11विपत्ति तँमाथि आइपर्नेछ, त्यो तैंले कुन जादूले हटाउने। हानि-नोक्सानी तँमाथि आइलाग्नेछ, जसलाई तैंले मोल तिरे तापनि टार्न सक्दिँनस्। तैंले पहिलेबाट थाहा नपाएको सर्वनाश अचानक तँमाथि आइपर्नेछ।
12“यसर्थ अब तैंले आफ्नो बालककालदेखि नै परिश्रमसाथ गरिल्याएको तेरो मन्त्रतन्त्र र थुप्रै टुनामुनामा लागिबस्। शायद तँ सफल हुनेछेस्, सायद तैंले डर उत्पन्न गर्नेछस्। 13तैंले पाएका सबै सल्लाहबाट तँ थकित भएकी छस्! ज्योतिषीहरू, ग्रह हेरेर महिना-महिनामा भविष्य बताउनेहरू आऊन्, र तँमाथि आइपर्ने कुराहरूबाट तँलाई बचाऊन्। 14निश्चय नै तिनीहरू ठुटाजस्तै छन्। आगोले तिनीहरूलाई जलाउनेछ। आगोका ज्वालाको शक्तिबाट तिनीहरू आफैलाई बचाउन सक्दैनन्। यहाँ कसैलाई आगो ताप्ने भुङ्ग्रो हुँदैन, न यहाँ बसेर ताप्नलाई आगो हुनेछ। 15तिनीहरूले तेरो निम्ति त्यति मात्र गर्न सक्नेछन्— यी जोसँग तैंले परिश्रम गरेकी थिइस्, र बालककालदेखि व्यापार गर्दैआएकी थिइस्। तिनीहरू हरेक आफ्नै भूलतिर लाग्छन्। तँलाई कसैले बचाउन सक्दैन।”
ISAIAH - 48:1-22,
हठी इस्राएल
1“हे याकूबका घराना हो, तिमीहरू, जो इस्राएल नाउँले बोलाइएका छौ, र यहूदाको वंशबाट आएका हौ, यी कुरा सुन। तिमीहरू, जसले परमप्रभुको नाउँमा शपथ खान्छौ र इस्राएलका परमेश्वरको नाउँमा पुकारा गर्छौ, तर सत्यता र धार्मिकतामा होइन— 2तिमीहरू, जसले पवित्र सहरका नागरिक हौं भनी भन्छौ र इस्राएलका परमेश्वरमा भर पर्छौ— सर्वशक्तिमान् परमप्रभु नै उहाँको नाउँ हो: 3मैले पहिलेका कुराहरू धेरै अघि नै बताइदिएँ। ती मेरा मुखबाट निस्के, र मैले ती देखाइदिएँ। मैले झट्टै ती गरें, र ती हुन आए। 4किनभने म जान्दथें, कि तिमीहरू कस्ता अटेरी थियौ, र तिमीहरूका गर्दनका नसाहरूचाहिँ फलामका जस्तै थिए, तिमीहरूको निधार काँसाको जस्तो थियो। 5यसैकारण मैले यी कुरा तँलाई उहिले नै बताइदिएँ। यी हुन आउन अघि नै मैले यी तँलाई भनिदिएँ, ताकि तैंले यसो भन्न नपाओस्, ‘मेरा मूर्तिहरूले यी गरेका हुन्, मेरो काठको प्रतिमा र धातुको देवताले यी निर्दिष्ट गरेका हुन्।’ 6तैंले यी कुरा सुनेका छस्, यी कुरा सबैलाई हेर्। के तँ यी स्वीकार गर्दैनस्?
“अब उसो म तँलाई नयाँ कुराहरू बताउनेछु, तैंले नजानेका गुप्त कुराहरू। 7ती अहिले सृष्टि गरिएका हुन्, आजभन्दा अघि तैंले तिनका विषयमा सुनेको थिइनस्। यसैले तैंले भन्न सक्दैनस्, ‘हो, मैले ती जानेको थिएँ’। 8तैंले न त सुनेको थिइस्, न जानेको थिइस्। प्राचीन समयदेखि तेरो कान खुलेको थिएन। म जान्दछु, कि तँ कस्तो धोकेबाज छस्। जन्मिएको दिनदेखि नै तँ बागी भनिएको थिइस्। 9मेरो आफ्नै नाउँको खातिर मैले मेरो क्रोधलाई पोखाउन ढिलो गरें, र मेरो महिमाको खातिर तँलाई बहिष्कार नगर्न मैले नै त्यो रोकिराखें। 10हेर्, मैले तँलाई खारेको छु, तर चाँदीलाई जस्तो त होइन। मैले तँलाई कष्टको भट्टीमा जाँचेको छु। 11मेरो आफ्नै खातिर, मेरो आफ्नै खातिर म त्यो गर्दछु। म कसरी आफै बदनाम हुन दिन सक्छु? मेरो महिमा म अरू कसैलाई दिनेछैनँ।
इस्राएलको छुटकारा
12“हे याकूब, हे मैले बोलाएको इस्राएल, मेरो कुरा सुन्: म त्यही हुँ। म आदि हुँ, र म अन्त हुँ। 13मेरो आफ्नै हातले पृथ्वीका जगहरू बसालेको हो, र मेरो दाहिने हातले आकाश फिँजाएको हो। जब म तिनीहरूलाई बोलाउँछु, ती एकसाथ खड़ा हुन्छन्।
14“तिमीहरू सबै जम्मा भएर सुन। देवताहरूमध्ये कसले यी कुरा अघिबाटै बतायो? परमप्रभुको चुनेको मित्रले बेबिलोनको विरुद्धमा उहाँको अभिप्राय पूरा गर्नेछ, र उहाँको बाहुबल बेबिलोनीहरूका विरुद्धमा हुनेछ। 15मैले, मैले नै यो भनेको छु। हो, मैले त्यसलाई बोलाएको छु। म त्यसलाई ल्याउनेछु, र त्यो आफ्नो लक्षित कार्यमा सफल हुनेछ।
16“मेरो नजिक आओ, र तिमीहरू यो सुन: पहिलो घोषणा गरेदेखि नै मैले गुप्तमा भनेको छैनँ। त्यो घट्ने समयमा म त्यहाँ छु।”
अनि अब परमप्रभु परमेश्वरले मलाई उहाँका आत्मासित पठाउनुभएको छ। 17परमप्रभु, तेरा उद्धारक र इस्राएलका परमपवित्र भन्नुहुन्छ: “म परमप्रभु तेरा परमेश्वर हुँ, जसले तेरो भलाइको निम्ति तँलाई सिकाउँछ, जसले तँ जानुपर्ने बाटोमा तँलाई डोर्याउँछ। 18यदि तैंले मेरा आज्ञाहरू ध्यानसित पालन गरेको भए तेरो शान्ति नदीझैँ र तेरो धार्मिकता समुद्रका छालहरूझैँ हुनेथियो। 19तेरो वंश बालुवासरह हुनेथियो, र तेरा छोराछोरीहरू त्यसका कणसरह हुनेथिए। तिनीहरूका नाउँ मबाट कहिल्यै काटिनेथिएनन्, र ती मेरो सामुन्ने नाश हुनेथिएनन्।”
20बेबिलोनबाट निस्केर जाओ। बेबिलोनीहरूबाट भाग। आनन्दको सोरले कराउँदै यस कुराको घोषणा गर। पृथ्वीको पल्लो छेउसम्म यो कुरा सुनाओ। तिमीहरू भन, “परमप्रभुले आफ्नो दास याकूबलाई मोल तिरेर छुटकारा गर्नुभएको छ!” 21उहाँले तिनीहरूलाई मरुभूमिबाट भएर लैजानुहुँदा तिनीहरू तिर्खाएनन्। उहाँले तिनीहरूका निम्ति चट्टानबाट पानी निकालिदिनुभयो। उहाँले चट्टानलाई दुई भाग पार्नुभयो, र पानी बगेर निस्क्यो। 22“दुष्टहरूलाई शान्ति हुँदैन,” परमप्रभु भन्नुहुन्छ।
ISAIAH - 49:1-26,
परमप्रभुको दास
1हे टापूहरू हो, मेरो कुरा सुन। हे टाढ़ाका जातिहरू हो, यो कुरा सुन। जन्मनुभन्दा अघि परमप्रभुले मलाई बोलाउनुभयो। मेरो जन्मदेखि नै उहाँले मेरो नाउँको चर्चा गर्नुभएको छ। 2उहाँले मेरो मुख लाग्ने तरवारजस्तै बनाउनुभयो। उहाँले मलाई आफ्नो हातको छहारीमुनि लुकाउनुभयो। उहाँले मलाई चिल्लो र टल्कने काँड़ बनाउनुभयो, र मलाई आफ्नो ठोक्रोमा लुकाइराख्नुभयो। 3उहाँले मलाई भन्नुभयो, “तँ मेरो दास इस्राएल होस्। तँमा नै मेरो ऐश्वर्य म प्रकट गर्नेछु।”
4तर मैले भनें, “मैले केही अभिप्राय नराखी परिश्रम गरें। मैले व्यर्थमा र शून्यताको लागि मेरो बल खर्च गरें। तापनि जे मैले पाउनुपर्छ, त्यो परमेश्वरको हातमा छ, र मेरो प्रतिफल मेरा परमेश्वरसित छ।”
5अब परमप्रभु भन्नुहुन्छ— जसले मलाई उहाँको दास हुन, याकूबलाई फेरि उहाँकहाँ ल्याउन, र इस्राएललाई उहाँकहाँ जम्मा गर्न गर्भदेखि नै रच्नुभयो, किनकि परमप्रभुको दृष्टिमा म मानको गनिएको छु, र मेरा परमेश्वर मेरो बल हुनुभएको छ— 6उहाँ भन्नुहुन्छ: “याकूबका कुलहरूलाई फेरि पुनर्स्थापन गर्न र इस्राएलको बाँकी भागलाई फेरि फर्काई ल्याउन तँ मेरो दास हुने कुरो तेरो लागि अति सानो कुरो छ। पृथ्वीको पल्लो छेउसम्म तैंले मेरो उद्धार पुर्याओस् भनी अन्यजातिहरूकहाँ एउटा ज्योति पनि म तँलाई बनाउनेछु।”
7शासकहरूका दास, जसलाई जाति-जातिहरूले तुच्छ ठाने र घृणा गरे, त्यसलाई परमप्रभु, उद्धारक र इस्राएलका परमपवित्र भन्नुहुन्छ: “राजाहरूले तँलाई देख्नेछन् र खड़ा हुनेछन्। राजकुमारहरूले देख्नेछन् र तेरो अघि घोप्टो पर्नेछन्। किनभने विश्वासयोग्य परमप्रभु, इस्राएलका परमपवित्रले तँलाई चुन्नुभएको छ।”
इस्राएलको पुनर्स्थापना
8परमप्रभु यसो भन्नुहुन्छ: “निगाहको समयमा म तँलाई जवाफ दिनेछु, र उद्धारको दिनमा तँलाई म सहायता दिनेछु। देश पुनर्स्थापित गर्न र त्यसको नष्ट भएका जायजातहरू फेरि अधिकारको निम्ति दिन म तँलाई जोगाइराख्छु र मानिसहरूका निम्ति तँलाई करार बनाउँछु, 9कैदीहरूलाई ‘निस्केर आओ,’ र अन्धकारमा हुनेहरूलाई ‘मुक्त होओ’ भन्न। तिनीहरूले बाटोको छेउमा खानेछन्, र सबै रूखा डाँड़ाहरूमा तिनीहरूले खर्क पाउनेछन्। 10तिनीहरू न त भोकाउनेछन् न तिर्खाउनेछन्, न मरुभूमि वा सूर्यको रापले तिनीहरूलाई पोल्नेछ, किनकि तिनीहरूमाथि कृपा गर्नेले तिनीहरूलाई डोर्याउनुहुनेछ र पानीको धारानेर तिनीहरूलाई अगुवाइ गर्नुहुनेछ। 11म मेरा सबै पर्वतहरू बाटो बनाइदिनेछु, र मेरा मूलबाटाहरू उच्च पारिनेछन्। 12हेर, तिनीहरू टाढ़ादेखि आउनेछन्— कोही उत्तरदेखि, कोही पश्चिमदेखि र कोही आश्वानको देशदेखि आउनेछन्।”
13हे आकाश, आनन्दले चिच्च्याएर गा। हे पृथ्वी, आनन्दित हो। हे पर्वतहरू हो, गला खोलेर गाओ! किनकि परमप्रभुले आफ्नो प्रजालाई सान्त्वना दिनुभएको छ, र कष्ट पाएको उहाँको प्रजामाथि उहाँले टिठ्याउनुहुनेछ।
14तर सियोनले भन्यो, “परमप्रभुले मलाई त्याग्नुभएको छ। मेरा परमप्रभुले मलाई बिर्सनुभएको छ।”
15“के कुनै आमाले आफ्नो दूधेबालकलाई बिर्सन सक्छे र? आफूले जन्माएको बालकलाई के त्यसले टिठ्याउँदिनँ र? त्यसले बिर्सन पनि सक्छे, तर म त तँलाई बिर्सन सक्दिनँ। 16हेर्, मैले तँलाई मेरो हत्केलामा खोपेको छु। तेरा पर्खालहरू निरन्तर मेरै सामुन्ने छन्। 17तेरा छोराहरू हतार-हतार गरी फर्किआउँछन्, र तँलाई उजाड़ पार्नेहरू तेरो सामुन्नेबाट निस्केर जान्छन्। 18तेरा आँखा उचालेर चारैतिर हेर्। तेरा छोराहरू सबै जम्मा भएर तँकहाँ आउँछन्। परमप्रभु घोषणा गर्नुहुन्छ, “जस्तो म जीवित छु, तँ गहनाले सिँगारिएझैँ यी सबले सिँगारिनेछस्, र दुलहीले झैँ तैंले यी सबै लगाउनेछस्।
19“यद्यपि तँ पतित र नष्ट भइस् र तेरो देश रूखो पारियो, तापनि अब तेरा मानिसहरूका लागि तँ साह्रै सानो हुनेछस्, र तँलाई निल्नेहरूचाहिँ धेरै टाढ़ा हुनेछन्। 20बिछोड़को समयमा जन्मेका तेरा छोराछोरीहरूले तैंले सुन्ने गरी यसो भन्नेछन्, ‘यो जग्गा हाम्रा निम्ति साह्रै सानो भयो। हामीलाई बस्न अझै अरू ठाउँ दिनुहोस्।’ 21तब तैंले तेरो मनमा भन्नेछस्, ‘यिनीहरूलाई मेरो लागि कसले जन्माए? म बिछोड़मा परेकी, बाँझी, निर्वासित भएकी र त्यागिएकी थिएँ। यिनीहरूलाई मेरो निम्ति कसले पालनपोषण गर्यो? म त एकलै छोड़िएकी थिएँ। तर यिनीहरूचाहिँ कताबाट आए’?”
22परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: “हेर, म अन्यजातिहरूलाई हातको इशाराले बोलाउनेछु र मेरो झन्डा जाति-जातिहरूका सामुन्ने खड़ा गर्नेछु। तिनीहरूले तेरा छोराहरूलाई आफ्ना हातमा बोकेर ल्याइदिनेछन्, र तेरा छोरीहरूचाहिँ तिनीहरूका काँधमा बोकेर ल्याउनेछन्। 23राजाहरू तेरा धर्म-बुबा र तिनीहरूका रानीहरू तेरा स्याहार गर्ने आमा हुनेछन्। तिनीहरूले भूइँमा घोप्टो परेर तँलाई दण्डवत् गर्नेछन्, र तेरा खुट्टाको सामुको धूलो चाट्नेछन्। तब तैंले जान्नेछस् कि म परमप्रभु हुँ, मेरो आशा गर्नेहरू निराश हुनेछैनन्।”
24के योद्धाहरूबाट लूटको माल खोस्न सकिन्छ? अथवा निष्ठुरहरूका हातबाट कैदीहरूलाई छुटाउन सकिन्छ? 25तर परमप्रभु यो भन्नुहुन्छ: “हो, योद्धाहरूबाट कैदीहरू र निष्ठुरहरूबाट लूटको माल खोस्न सकिन्छ। तँसित झगड़ा गर्नेसँग म झगड़ा गर्नेछु, र तेरा छोराछोरीहरूलाई म बचाउनेछु। 26तँलाई अत्याचार गर्नेहरूलाई म तिनीहरूको आफ्नै मासु खान लगाउनेछु। दाखमद्यले मातेझैँ तिनीहरू आफ्नै रगतले मात्नेछन्। तब सारा मानिस-जातिले यो कुरा थाहा पाउनेछन्, कि म, परमप्रभु तेरा उद्धारक, मोल तिरेर तँलाई छुटाउने याकूबको शक्तिशाली जन हुँ।”
ISAIAH - 50:1-11,
इस्राएलको पाप र दासको आज्ञाकारिता
1परमप्रभु यसो भन्नुहुन्छ, “मैले त्यसलाई त्यागेपछि दिएको तेरी आमाको त्यागपत्र कहाँ छ? अथवा मैले तिमीहरूलाई कुन साहूकारको हातमा बेचें? तिमीहरूकै पापहरूले गर्दा तिमीहरू बेचियौ, र तिमीहरूकै अपराधहरूको कारण तिमीहरूकी आमा त्यागिएकी हो। 2म त्यहाँ आउँदा किन कोही मानिस थिएन? मैले बोलाउँदा मलाई जवाफ दिने किन त्यहाँ कोही थिएन? के मेरो हात तिमीहरूलाई छुटाउन नसक्ने गरी छोटो भएको थियो? के तिमीहरूको उद्धार गर्नलाई मसित शक्तिको अभाव छ? मेरो मामूली हप्काइले समुद्रलाई म सुकाउँछु। नदीहरूलाई मरुभूमि पारिदिन्छु। पानीको कमीले गर्दा त्यहाँका माछाहरू सड्छन् र तिर्खाले मर्छन्। 3म आकाशलाई अन्धकारले ढाक्छु, र त्यसलाई भाङ्ग्रा ओढ़ाइदिन्छु।”
4थाकेकोलाई सम्हाल्ने वचन जान्न सकून् भनेर परमप्रभु परमेश्वरले मलाई सिकाइको बोली दिनुभएको छ। उहाँले मलाई बिहानैपिच्छे जगाउनुहुन्छ। सिक्नेलाई झैँ ध्यानसित सुन्न उहाँले मेरो कान खोलिदिनुहुन्छ। 5परमप्रभु परमेश्वरले मेरो कान खोलिदिनुभएको छ, र म बागी भइनँ। म पछि हटिनँ। 6मैले मेरो पीठ मलाई पिट्नेहरूलाई, र दाह्री लुछ्नेहरूलाई मेरो गाला फर्काइदिएँ। ठट्टा र थुकाइबाट मैले मेरो मुख लुकाइनँ। 7म शर्ममा पर्नेछैनँ, किनकि परमप्रभु परमेश्वरले मलाई सहायता गर्नुहुन्छ। यसर्थ मैले मेरो मोहड़ा दर्शन चकमकजस्तै स्थिर पारेको छु, र म जान्दछु, कि म लाजमा पर्नेछैनँ। 8मलाई निर्दोष ठहराउनुहुने मेरो नजिकै हुनुहुन्छ। यसर्थ कसले मेरो विरुद्धमा दोष लगाउँछ? हामी मुखामुख परौं! मेरो विरोधी को छ? त्यसले मेरो सामना गरोस्! 9परमप्रभु परमेश्वरले मलाई सहायता गर्नुहुन्छ। त्यो को हो, जसले मलाई दोषी ठहराउँछ? तिनीहरू सबै लुगाझैँ थोत्रा हुनेछन्। कीराले तिनीहरूलाई खाइहाल्नेछन्।
10तिमीहरूमध्ये कसले परमप्रभुको डर मान्छ र उहाँको दासका कुरा पालन गर्छ? ज्योतिविना अन्धकारमा हिँड्नेले परमप्रभुको नाउँमा भरोसा गरोस् र आफ्ना परमेश्वरमा भर परोस्। 11तर अब तिमीहरू सबै जसले आगो बाल्छौ र जलिरहेको राँको लिन्छौ, तिमीहरू जाओ, तिमीहरूका आगोको र तिमीहरूले सल्काएका राँकाको प्रकाशमा हिँड़। तिमीहरूले मेरो हातबाट यही पाउनेछौ: तिमीहरू यातना भोग्नेछौ।
ISAIAH - 51:1-23,
सियोनको निम्ति अनन्तको उद्धार
1“हे धार्मिकताको पछि लाग्ने र परमप्रभुलाई खोज्ने हो, मेरो कुरा सुन। जुन चट्टानबाट तिमीहरू कुँदियौ, र जुन खानीबाट तिमीहरू निकालियौ, त्यसलाई हेर। 2तिमीहरूका पुर्खा अब्राहाम र तिमीहरूलाई जन्माउने सारालाई हेर। मैले बोलाउँदा अब्राहाम एक मात्र थियो, र मैले त्यसलाई आशिष् दिएँ र त्यसलाई धेरै बनाएँ। 3परमप्रभुले निश्चय नै सियोनलाई सान्त्वना दिनुहुनेछ, र उहाँले त्यसका सब भग्नावशेषहरूलाई दयाको दृष्टिले हेर्नुहुनेछ। अनि त्यसको मरुभूमिलाई अदनझैँ, र त्यसको रूखो जमिनलाई परमप्रभुको बगैँचाझैँ बनाउनुहुनेछ। हर्ष र आनन्द, धन्यवाद र गीतको सोर त्यसमा पाइनेछ।
4“हे मेरो प्रजा हो, मेरो कुरा सुन। हे मेरो जाति हो, मेरो कुरामा कान थाप। मबाट व्यवस्था निस्कनेछ, र मेरो न्याय जाति-जातिहरूका निम्ति ज्योति हुनेछ। 5मेरो धार्मिकता चाँड़ै नजिक आउँछ, मेरो उद्धार बाटैमा आउँदैछ, र मेरो बाहुबलले जातिहरूकहाँ न्याय ल्याउनेछु। टापूहरूले मलाई हेर्नेछन्, र मेरो बाहुबलमा तिनीहरूले आशा राख्नेछन्। 6तिमीहरू आफ्ना आँखा माथि आकाशतिर उठाओ, र तल पृथ्वीलाई हेर। आकाश धूवाँझैँ लोप हुनेछ, र पृथ्वी लुगाझैँ झुत्रो हुनेछ, र त्यसमा बस्नेहरू झीँगाजस्तै मर्नेछन्। तर मेरो उद्धार सदासर्वदै रहनेछ, र मेरो धार्मिकता कहिल्यै खतम हुनेछैन।
7“जे असल छ त्यो जान्नेहरू, र तिमीहरू जसको हृदयमा मेरो व्यवस्था छ, मेरो कुरा सुन। मानिसहरूको निन्दादेखि नडराओ, न त तिनीहरूको गिल्लादेखि भयभीत होओ। 8किनकि लुगा खाएझैँ कीराले तिनीहरूलाई खानेछन्। ऊन खाएझैँ कीराले तिनीहरूलाई खानेछन्। तर मेरो धार्मिकता सदाको निम्ति रहनेछ, मेरो उद्धार पुस्तादेखि पुस्तासम्मै।”
9जाग्, जाग्! हे परमप्रभुको बाहु, शक्ति धारण गर्, र प्राचीनकालमा झैँ, उहिलेका पुस्ताहरूको समयमा झैँ जाग्। के तपाईं त्यही हुनुहुन्न, जसले राहाबलाई टुक्रा-टुक्रा पार्नुभयो, र त्यस अजिङ्गरलाई वारपार छेड्नुभयो? 10के तपाईं त्यही हुनुहुन्न, जसले समुद्र सुकाउनुभयो, अथाह समुद्रको पानी सुकाउनुभयो, र आफूले उद्धार गर्नुभएकाहरू पार गर्नका निम्ति समुद्रको गहिराइमा बाटो बनाइदिनुभयो? 11परमप्रभुले मोल तिरेर छुटाउनुभएकाहरू फर्केर आउनेछन्। तिनीहरू सियोनमा गीत गाउँदै पस्नेछन्, र तिनीहरूका शिरको मुकुट सदासर्वदाको आनन्द हुनेछ। तिनीहरूले आनन्द र हर्ष प्राप्त गर्नेछन्। अनि शोक र सुस्केरा दूर हुनेछ।
12“तिमीहरूलाई सान्त्वना दिने म नै हुँ। मरणशील मानिसदेखि, घाँसजस्तै ओइलाउने मानिसका सन्तानदेखि डराउने तँ को होस्? 13आकाशलाई फैलाउनुहुने र पृथ्वीको जग बसाल्नुहुने आफ्ना सृष्टिकर्तालाई भुलेर अत्याचारीका क्रोधको कारण, जसले तँलाई नाश गर्न खोज्छ, तँ किन दिनदिनै त्रासमा जीवन बिताउँछस्? 14झुकेर लत्रक्क परेका कैदीहरू चाँड़ै मुक्त हुनेछन्। तिनीहरू झ्यालखानको खोरभित्र मर्नेछैनन्, न त तिनीहरूलाई खानेकुराको कमी हुनेछ। 15किनकि म परमप्रभु तेरा परमेश्वर हुँ, जसले समुद्रलाई घोल्छ, र छालहरू गर्जन्छन्। उहाँको नाउँ सर्वशक्तिमान् परमप्रभु हो। 16मैले मेरो वचन तेरो मुखमा हालिदिएको छु र मेरो हातको छायाले तँलाई ढाकेको छु— मैले आकाशलाई त्यसको ठाउँमा राखेको छु, र पृथ्वीको जग बसालेको छु, र सियोनलाई ‘तँ मेरो प्रजा होस्’ भनेको छु।”
परमप्रभुको क्रोधको कचौरा
17ए यरूशलेम, तँ जसले परमप्रभुको हातबाट उहाँको क्रोधको कचौरा पिएको छस्, र धरमराइदिने कचौराबाट पिएर त्यो रित्त्याएको छस्, तँ जाग्, तँ जाग्। 18त्यसले जन्माएका सबै छोराहरूमध्ये त्यसलाई डोर्याउने कोही पनि थिएन। त्यसले हुर्काएका छोराहरूमध्ये त्यसलाई हातमा समातेर लैजाने कोही थिएन। 19यी दुई विपत्ति तँमाथि आइलागेका छन्— तँलाई कसले सान्त्वना दिन सक्छ? उजाड़ र नाश, अनिकाल र तरवार— कसले तँलाई सान्त्वना दिन सक्छ? 20तेरा छोराहरूले त मूर्च्छा खाएका छन्। जालमा परेको चित्तलझैँ तिनीहरू सड़कका कुइन्याटोमा पड़िरहेका छन्। तिनीहरू परमप्रभुको क्रोध र तेरा परमेश्वरको हप्काइले पूरा भरिएका छन्।
21यसैकारण यो कुरा सुन्, तँ दु:खित र मात्तिएकी, तर दाखमद्यले त होइन। 22तेरा परमप्रभु, तेरा परमेश्वर, जसले आफ्ना प्रजालाई रक्षा गर्नुहुन्छ, उहाँ यो भन्नुहुन्छ: “हेर्, मैले तेरो हातबाट त्यो धरमराइदिने कचौरा लिएको छु, त्यो मेरो क्रोधको कचौरा! तैंले त्यो फेरि कहिल्यै पिउनेछैनस्। 23म त्यो तँलाई सताउनेहरूका हातमा दिनेछु, जसले तँलाई भने, ‘घोप्टो पर्, र हामी तँमाथि टेकेर हिँड़ौं’। अनि तैंले चाहिँ आफ्नो पीठ भूइँ र हिँड्ने सड़कजस्तै तुल्याइदिइस्।”
ISAIAH - 52:1-15,
1जाग्, जाग्, ए सियोन, तेरो शक्ति धारण गर्। ए पवित्र सहर, यरूशलेम, आफ्नो महिमित पोशाक लगा। अब उप्रान्त खतना नभएका र बिटुलिएकाहरू फेरि तँभित्र आउनेछैनन्। 2तेरो धूलो टकटक्या। ए यरूशलेम, उठ् र सिंहासनमा बस्। हे कैदमा परेकी सियोनकी छोरी, तेरो घिच्रोको बन्धन फुकालिदे।
3किनकि परमप्रभु यसो भन्नुहुन्छ: “तिमीहरू सित्तैँमा बेचियौ, र तिमीहरू रुपियाँविनै छुटाइनेछौ।”
4किनकि परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: “पहिले मेरा प्रजा मिश्रदेशमा बसोबास गर्न गए, र हालैमा अश्शूरहरूले तिनीहरूलाई अत्याचार गरे। 5अनि अब मेरो यहाँ के छ र?” परमप्रभु भन्नुहुन्छ।
“किनकि मेरो प्रजा सित्तैँमा लगियो, र तिनीहरूलाई शासन गर्नेहरू तिनीहरूको ठट्टा गर्छन्,” परमप्रभु भन्नुहुन्छ। “दिनभरि नै मेरो नाउँ निरन्तर निन्दित भइरहन्छ। 6यसैकारण मेरो प्रजाले मेरो नाउँ जान्नेछ। तिनीहरूले त्यो दिन जान्नेछन् कि अघि देखि भन्ने मै हुँ। हो, त्यो म नै हुँ।”
7सुसमाचार प्रचार गर्नेहरूका पाउ डाँड़ाहरू हुँदो कति सुन्दर छन्, जसले शान्तिको घोषणा गर्दछन्, जसले शुभ समाचार ल्याउँछन्, जसले उद्धारको घोषणा गर्दछन्, जसले सियोनलाई भन्दछन्, “तेरा परमेश्वरले राज्य गर्नुहुन्छ।” 8ध्यानसित सुन्। तेरा पहरादारहरू आफ्नो सोर उचालेर एकसाथ आनन्दले कराउँछन्। जब परमप्रभु सियोनमा आउनुहुन्छ, तब तिनीहरूले त्यो आफ्नै आँखाले देख्नेछन्। 9हे यरूशलेमका भग्नावशेषहरू हो, आनन्दले एकसाथ गीतहरू गाओ, किनकि परमप्रभुले आफ्ना प्रजालाई सान्त्वना दिनुभएको छ, उहाँले मोल तिरेर यरूशलेमलाई छुटकारा दिनुभएको छ। 10सारा जातिहरूको दृष्टिमा परमप्रभुले आफ्नो पवित्र बाहुबल प्रकट गर्नुहुनेछ, र पृथ्वीको पल्लो छेउकाहरूले पनि हाम्रा परमेश्वरको उद्धारलाई देख्नेछन्।
11जाओ, जाओ, त्यहाँबाट जाओ, अशुद्ध थोक नछोओ! हे परमप्रभुका पात्र बोक्ने हो, त्यसबाट निस्केर आओ, र आफैलाई शुद्ध पार। 12तर तिमीहरू हतार-हतार गरेर अथवा भागेर जानेछैनौ, किनकि परमप्रभु तिमीहरूका अगिअगि जानुहुनेछ, इस्राएलका परमेश्वर तिमीहरूका पछिल्तिर रक्षक हुनुहुनेछ।
परमप्रभुका दासको दु:ख र गौरव
13हेर्, मेरो दासले बुद्धिले काम गर्नेछ। ऊ उचालिनेछ, अल्गाइनेछ र ऊ अति उच्च पारिनेछ। 14जसरी उसदेखि धेरै जना व्याकुल थिए— उसको अनुहार चिन्नै नसकिने गरी र उसको चेहरा मानिसको भन्दा पनि कुरूप बनाइएको थियो— 15त्यसरी नै उसले धेरै जातिहरूमाथि छर्कनेछ। उसको कारण राजाहरू चूपचाप रहनेछन्। किनकि तिनीहरूलाई नभनेको कुरा तिनीहरूले देख्नेछन्, र तिनीहरूले नसुनेका कुरा तिनीहरूले बुझ्नेछन्।
ISAIAH - 53:1-12,
1हाम्रो समाचार कसले विश्वास गरेको छ? र परमप्रभुको बाहुबल कसलाई प्रकट गरियो? 2ऊ उहाँको सामु कलिलो बोटजस्तो र सुक्खा जमिनबाट निस्केको जरोजस्तो बढ़्यो। ऊसित हामीलाई आकर्षण गर्ने न केही सुन्दरता न त महत्त्व नै थियो। उसको अनुहारमा हामीलाई मन पर्ने केही थिएन। 3ऊ मानिसहरूबाट घृणित थियो र इन्कार गरियो, अफसोसमा परेको मानिस र कष्टसित परिचित। ऊ त्योजस्तो थियो, जसलाई देखेर मानिसहरू आफ्ना मुख फर्काउँछन्। ऊ घृणित थियो, र हामीले उसलाई केही मोलको गनेनौं।
4निश्चय नै उसले हाम्रा निर्बलताहरू बोक्यो, र हाम्रा दु:ख भोग्यो, तापनि हामीले उसलाई परमेश्वरबाट हिर्काइएको, उहाँबाट पिटिएको र दु:खमा परेको सम्झ्यौं। 5तर ऊ त हाम्रा अपराधहरूका निम्ति छेड़ियो। हाम्रा अधर्मका निम्ति ऊ पेलियो। हामीमा शान्ति ल्याउने दण्ड उसमाथि पर्यो, र उसको कोर्राको चोटले हामी निको भयौं। 6हामी सबै भेड़ाझैँ बरालिएका छौं। हामी हरेक आफ्नै बाटोतिर लागेका छौं, र परमप्रभुले उसमाथि हामी सबैको अधर्म हालिदिनुभएको छ।
7ऊ थिचोमिचोमा पर्यो, र उसलाई कष्ट पर्यो, तापनि उसले आफ्नो मुख खोलेन। मारिनलाई लगेको थुमाजस्तै ऊ डोर्याएर लगियो। आफ्नो ऊन कत्रनेको सामु भेड़ा मौन भएझैँ उसले पनि आफ्नो मुख खोलेन। 8अत्याचार र इन्साफद्वारा ऊ लगियो। उसका सन्तानका बारेमा कसले विचार गर्न सक्छ? किनकि ऊ जीवितहरूको देशबाट अलग गरियो, र मेरो प्रजाका अपराधको निम्ति उसमाथि कुटाइ पर्यो। 9उसको चिहान दुष्टहरूसित बनाइयो, र मृत्युमा धनीहरू उसको साथमा थिए, यद्यपि उसले केही उपद्रव गरेको थिएन न त उसको मुखमा केही छल थियो।
10तापनि उसलाई चकनाचूर र कष्टमा पार्न परमप्रभुको इच्छा थियो, र परमप्रभुले उसको प्राणलाई दोषबलिझैँ बनाउनुभए तापनि, उसले आफ्ना छोराछोरीलाई देख्नेछ र आफ्नो दिन बढ़ाउनेछ र परमप्रभुको इच्छा उसकै हातमा उन्नत हुनेछ। 11उसका प्राणको वेदनापछि उसले जीवनको ज्योति देख्नेछ र सन्तुष्ट हुनेछ। आफ्नो ज्ञानद्वारा मेरो धर्मी दासले धेरैलाई धर्मी बनाउनेछ, र उसले तिनीहरूका अधर्म बोक्नेछ। 12यसैकारण महान्हरूसँगै उसलाई पनि म एक भाग दिनेछु, र उसले लूटको माल सामर्थीहरूसित बाँड्नेछ। किनभने उसले आफ्नो जीवन मृत्युमा खन्यायो, र ऊ अपराधीहरूको गन्तीमा गनियो। किनकि उसले धेरैको पाप बोक्यो र उसले अपराधीहरूका निम्ति मध्यस्थता गर्यो।
ISAIAH - 54:1-17,
सियोनको भावी गौरव
1“हे बाँझी स्त्री, गीत गा! हे सुत्केरी पीडामा कहिल्यै नपरेकी स्त्री, तँ जसले कहिल्यै बालक जन्माएकी छैनस्, आनन्दले करा। किनकि बाँझी स्त्रीका सन्तान विवाहित स्त्रीका भन्दा ज्यादा हुनेछन्,” परमप्रभु भन्नुहुन्छ।
2“तेरो पालको ठाउँ बढ़ा। तेरो पालका पर्दाहरू तन्का। तेरा डोरीहरू लामो पार्, र तेरा कीलाहरू बलियो गर्। 3किनकि तँ बढ़ेर दाहिने र देब्रेतिर फैलिनेछस्, र तेरा सन्तानले जाति-जातिहरूलाई उनीहरू बसेको ठाउँबाट निकाल्नेछन्, र उनीहरूका निर्जन सहरहरूमा ती बसोबास गर्नेछन्।
4“नडरा, तँ शर्ममा पर्नेछैनस्। अनादरको भय नमान्, तँ होच्याइनेछैनस्। तैंले आफ्नो जवानीपनको लाजलाई भुल्नेछस् र तेरो विधवापनको निन्दा तैंले फेरि कहिल्यै सम्झनेछैनस्। 5किनकि तेरा सृष्टिकर्ता तेरा पति हुनुहुन्छ— उहाँको नाउँ सर्वशक्तिमान् परमप्रभु हो— इस्राएलका परमपवित्र तेरा उद्धारक हुनुहुन्छ। उहाँ सारा पृथ्वीका परमेश्वर कहलाइनुहुन्छ। 6त्यागिएकी र आत्मामा दु:खित भएकी, तरुणावस्थामा विवाह भएर पछि त्यागिएकी पत्नीलाई झैँ तेरा परमप्रभुले तँलाई फेरि बोलाउनुहुनेछ,” तेरा परमेश्वर भन्नुहुन्छ। 7“केही क्षणको निम्ति मैले तँलाई त्यागेको थिएँ, तर अगाध कृपासित म तँलाई फेरि ल्याउनेछु। 8रीसको झोँकमा क्षणभरको निम्ति मैले मेरो मुख तँदेखि लुकाएको थिएँ, तर अनन्त प्रेम देखाएर म तँलाई कृपा गर्नेछु,” परमप्रभु तेरा उद्धारक भन्नुहुन्छ।
9“यो त मेरो निम्ति नोआको पालोका दिनहरूजस्तै छ, किनकि जसरी मैले नोआको समयमा शपथ खाएको थिएँ, कि म जलप्रलयको पानीले पृथ्वीलाई फेरि डुबाउनेछैनँ, त्यसरी नै अबदेखि तँमाथि म रीस गर्नेछैनँ, म तँलाई कहिल्यै हप्काउनेछैनँ भनी मैले शपथ खाएको छु। 10पर्वतहरू हल्लाइए र डाँड़ाहरू हटाइए तापनि तेरो निम्ति मेरो अटूट प्रेम हटाइनेछैन, न त मेरो शान्तिको करार भङ्ग हुनेछ,” तँलाई कृपा गर्नुहुने परमप्रभु भन्नुहुन्छ।
11“हे दु:खमा परेकी, आँधीबेहरीले पछारिएकी र सान्त्वना नपाएकी सहर, हेर्, म फिरोजा पत्थरले तँलाई बनाउनेछु, नीरले तेरो जग बसाल्नेछु। 12मानिकले तेरो सुरक्षा-पर्खाल, र चम्कने रत्नहरूले तेरा मूल ढोका र बहुमूल्य रत्नहरूले तेरा सारा पर्खाल बनाउनेछु। 13तेरा सबै छोराहरू परमप्रभुबाट सिकाइनेछन्, र तेरा छोराछोरीहरूलाई ठूलो शान्ति मिल्नेछ। 14धार्मिकतामा तँ स्थापित हुनेछस्। अत्याचारबाट तँ टाढ़ा रहनेछस्, तँलाई कसैको डर हुनेछैन। त्रासदेखि तँ टाढ़ा रहनेछस्, त्यो तेरो नजिक आउनेछैन। 15कसैले तँलाई आक्रमण गरे तापनि त्यो मबाट हुनेछैन। जसले तँलाई आक्रमण गर्छ, त्यसले आफूलाई तँकहाँ नै समर्पण गर्नेछ।
16“हेर, आगोको भुङ्ग्रो फुक्ने, र आफ्नो कामको निम्ति हतियार तयार गर्ने लोहारलाई मैले सृष्टि गरें। र उत्पात गरेर नष्ट गर्नेलाई पनि मैले नै सृष्टि गरेको हुँ। 17तेरो विरुद्धमा बनाइएको जुनसुकै हतियारले पनि तँलाई जित्न सक्नेछैन, र तँलाई दोषी ठहराउने हरेक जिब्रोलाई तैंले नै दोषी ठहराउनेछस्। योचाहिँ परमप्रभुका दासहरूको पैतृकसम्पत्तिको हक हो, र मबाट तिनीहरूको दोषरहितको प्रमाण यही हो,” परमप्रभु घोषणा गर्नुहुन्छ।
ISAIAH - 55:1-1-13,
तिर्खाएकाहरूलाई निमन्त्रणा
1“हे सबै तिर्खाउने हो, आओ, पानीनेर आओ। अनि तिमीहरू रुपियाँ नहुने पनि आओ र किनेर खाओ। आओ, विनापैसा र विनादाम दाखमद्य र दूध किन। 2जे रोटी नै होइन, त्यसको निम्ति किन पैसा खर्च गर्छौ? अनि जे कुराले सन्तोष नै दिँदैन, त्यसको निम्ति किन परिश्रम गर्छौ? ध्यान देओ, ध्यान दिएर मेरो कुरा सुन, र जे कुरो असल छ त्यही खाओ, र स्वादिष्ट थोकहरू खाएर तिमीहरूको प्राण सन्तुष्ट हुनेछ। 3कान थाप, र मकहाँ आओ। सुन, ताकि तिमीहरूको प्राण जिओस्। म तिमीहरूसित अनन्त करार बाँध्नेछु, दाऊदलाई प्रतिज्ञा गरेको मेरो विश्वासको प्रेम। 4हेर, मैले त्यसलाई जाति-जातिहरूका बीचमा साक्षी, र जाति-जातिहरूमा एक नेता र सेनापति तुल्याएको छु। 5परमप्रभु, तिमीहरूका परमेश्वर, इस्राएलका परमपवित्रको कारण, तिमीहरूले नचिनेका जातिहरूलाई तिमीहरूले बोलाउनेछौ, र तिमीहरूलाई नचिन्ने जातिहरू तिमीहरूकहाँ हतार-हतार गरी आउनेछन्। किनकि उहाँले तँलाई गौरवले युक्त पार्नुभएको छ।”
6जबसम्म परमप्रभुलाई पाउन सक्छौ उहाँलाई खोज। उहाँ नजिक हुनुहुँदा नै उहाँलाई भेट। 7दुष्टले आफ्नो बाटो र अधर्मीले आफ्नो विचार त्यागोस्, र परमप्रभुतिर फर्कोस्, र उहाँले त्यसमाथि कृपा गर्नुहुनेछ। हाम्रा परमेश्वरतर्फ त्यो फर्कोस्, र उहाँले त्यसलाई सित्तैमा क्षमा गर्नुहुनेछ।
8“किनकि मेरा विचारहरू तिमीहरूका विचार होइनन्, र तिमीहरूका चाल मेरा चाल होइनन्,” परमप्रभु भन्नुहुन्छ। 9जसरी आकाश पृथ्वीभन्दा अल्गो छ, त्यसरी नै मेरा चाल तिमीहरूका चालभन्दा र मेरा विचार तिमीहरूका विचारभन्दा अल्गा छन्। 10जसरी वृष्टि र हिउँ आकाशबाट झर्छ र त्यतैतिर फर्केर जाँदैन, तर जमिनलाई भिजाएर बाली उमार्छ, र छर्नेलाई बीउ र खानेलाई भोजन दिन्छ, 11त्यसरी नै मेरो मुखबाट निस्कने मेरो वचन पनि हुनेछ। त्यो मकहाँ व्यर्थै फर्कनेछैन, तर मैले इच्छा गरेको काम त्यसले पूरा गर्नेछ, र जुन कामको निम्ति म त्यसलाई पठाउँछु, त्यसमा त्यो सफल हुनेछ। 12तिमीहरू आनन्दसाथ जानेछौ, र शान्तिमा डोर्याइनेछौ। पर्वतहरू र डाँड़ाहरू तिमीहरूका सामुन्ने गीत गाउनेछन्, र मैदानका सारा रूखहरूले ताली बजाउनेछन्। 13तब काँढ़ाको सट्टा सल्लो, सिउँड़ीको सट्टा असारे-फूलको रूख उम्रनेछ। त्यो परमप्रभुका ख्यातिको निम्ति हुनेछ। त्यो कहिल्यै नष्ट नहुने सदासर्वदाको चिन्हको निम्ति हुनेछ।”
ISAIAH - 56:1-12,
अरूहरूका निम्ति उद्धार
1परमप्रभु यसो भन्नुहुन्छ, “न्याय कायम राख। जे ठीक छ, त्यो गर, किनकि मबाट पाउने उद्धार नजिकै छ, र मेरो धार्मिकता चाँड़ै प्रकट हुनेछ। 2त्यो मानिस धन्यको हो जसले यो गर्दछ, त्यो मानिस, जो यस कुरामा स्थिर रहन्छ, जसले शबाथ-दिन बिटुलो नपारी मान्छ, र आफ्नो हात कुनै पनि खराब गर्नबाट अलग राख्छ।”
3परमप्रभुसँग आफूलाई बन्धनमा बाँधेको कुनै विदेशीले यसो नभनोस्, “निश्चय नै परमप्रभुले मलाई आफ्नो प्रजाबाट अलग गर्नुहुनेछ।” कुनै पनि नपुंसकले यस्तो उजूर नगरोस्, “हेर, म त सुकेको रूख हुँ।”
4किनकि परमप्रभु भन्नुहुन्छ, “मेरा शबाथहरू पालन गर्ने, मलाई इच्छा लागेको काम गर्ने, र मेरो करारलाई दृढ़तापूर्वक समात्ने नपुंसकहरूलाई 5म मेरो मन्दिर र त्यसका पर्खालहरूभित्र छोराछोरीहरूभन्दा पनि अझ असल स्मारक तुल्याउनेछु, र तिनीहरूलाई अझ असल नाउँ दिनेछु। म तिनीहरूलाई कहिल्यै नकाटिने अनन्तको नाउँ दिनेछु।
6“परमप्रभुको सेवा गर्न, परमप्रभुको नाउँलाई प्रेम गर्न र उहाँको आराधना गर्न, शबाथ-दिन बिटुलो नपारी मान्न र मेरो करार पालन गर्न परमप्रभुमा बाँधिएका सबै विदेशीहरूलाई 7म मेरो पवित्र पर्वतमा ल्याएर मेरो प्रार्थनाको घरमा आनन्दित तुल्याउनेछु। तिनीहरूका होमबलि र बलिदानहरू मेरो वेदीमा ग्रहणयोग्य हुनेछन्, किनकि मेरो भवन सबै जातिहरूका निम्ति प्रार्थनाको घर भनिनेछ।” 8इस्राएलका निकालिएकाहरूलाई भेला गराउनुहुने— परमप्रभु परमेश्वर यो घोषणा गर्नुहुन्छ, “भेला भइसकेकाहरू बाहेक म तिनीहरूकहाँ अझै अरूलाई पनि भेला गर्नेछु।”
दुष्टहरूका विरुद्धमा परमेश्वरको दोषारोपण
9हे मैदानका सबै पशु हो, आओ। हे वनका सबै पशु हो, आएर खाओ! 10इस्राएलका पहरादारहरू अन्धा छन्। तिनीहरू सबै ज्ञानविहीन छन्। तिनीहरू भुक्न नसक्ने गूँगो कुकुरजस्तै छन्। पल्टिरहने र सपना देख्ने, सुत्न मात्र तिनीहरू मन गर्छन्। 11तिनीहरू त साह्रै भोकाएका कुकुरहरू हुन्। तिनीहरू कहिल्यै अघाउँदैनन्। ती अबुझ गोठालाहरू हुन्। तिनीहरू जम्मै आफ्नै बाटोतिर लागेका छन्। प्रत्येकले आफ्नै लाभ मात्र खोज्छन्। 12तिनीहरू हरेक भन्छन्, “आओ, मलाई दाखमद्य ल्याउन देओ! हामी कडा मद्य खूब पिऔं! भोलि पनि आजको दिनझैँ हुनेछ अथवा आजभन्दा अझ राम्रो।”
ISAIAH - 57:1-21,
1धर्मी मानिसहरू नष्ट हुन्छन्, र त्यस कुराको कसैले आफ्नो मनमा वास्ता गर्दैन। भक्त मानिसहरू उठाइलगिन्छन्, तर कसैले बुझ्दैन कि दुष्टदेखि जोगाइनलाई धर्मी मानिस उठाइलगिन्छन्। 2धर्मको बाटोमा हिँड्नेहरू शान्तिमा प्रवेश गर्छन्। तिनीहरू मृत्युमा सुतिरहँदा विश्राम पाउँछन्।
3“तर हे झँक्रेनीका छोराहरू, र व्यभिचारी र वेश्याका सन्तान हो, यहाँ आओ! 4तिमीहरू कसलाई ठट्टा गर्दैछौ? तिमीहरू कसका विरुद्धमा मुख बाउँदै जिब्रो निकाल्दैछौ? के तिमीहरू बागीहरूका सन्तान होइनौ र, झूटाका छोराछोरीहरू? 5तिमीहरू फलाँटका रूखहरूका बीचमा र हरेक झ्याम्म परेका रूखमुनि कामवासनाले उत्तेजित हुन्छौ। तिमीहरू आफ्ना छोराछोरीहरूलाई खोल्सा र चट्टानका धाँदाहरूमा बलि गर्छौ। 6खोल्साका चिल्ला ढुङ्गामध्येका मूर्तिहरू तिमीहरूका भाग हुन्। तिनीहरू नै तिमीहरूका भाग भए। हो, तिनीहरूकै निम्ति तिमीहरूले अर्घ-बलि र अन्नबलि चढ़ाएका छौ। यस्ता कुराहरू जान्दाजान्दै पनि के मैले आफ्नो मन नरम गर्ने? 7अल्गो र उच्च डाँड़ामा तिमीहरूले आफ्नो ओछ्यान बनाएका छौ। त्यहाँ तिमीहरू आफ्ना बलिदान चढ़ाउन गयौ। 8तिमीहरूका ढोका र चौकोसको पछाड़ि तिमीहरूले अन्यजातिहरूका चिन्हहरू राख्यौ। मलाई त्यागेर तिमीहरूले आफ्नो ओछ्यान उघार्यौ! तिमीहरू त्यसमा चढ़्यौ र उदाङ्गै पार्यौ। तिमीहरूले तिनीहरूसित बाचा बाँध्यौ, जसको ओछ्यान तिमीहरू मन पराउँछौ, र तिमीहरूले तिनीहरूको नग्नता हेर्यौ। 9तिमीहरू मोलोखकहाँ भद्राक्षको तेल लिई खूब सुगन्धित तेल लगाएर गयौ। तिमीहरूले आफ्ना राजदूतहरूलाई टाढ़ाटाढ़ा पठायौ, र आफूलाई चिहानसम्मै पुर्यायौ। 10तिमीहरूका सबै चालको कारण तिमीहरू थाक्यौ, तापनि तिमीहरूले यसो भनेनौ, ‘आशा छैन’। तिमीहरूले नयाँ बल पायौ, यसैले तिमीहरूले मूर्च्छा खाएनौ।
11“तिमीहरूले कसको डर र भय मानेकाले मप्रति झूटा भयौ र न त मेरो सम्झना गर्यौ, न तिमीहरूको मनमा मेरो विचार गर्यौ? के धेरै समयसम्म म मौन बसेकोले तिमीहरू मेरो डर मान्दैनौ? 12तिमीहरूको धार्मिकता र तिमीहरूका काम म खुलस्त गर्नेछु, र तीबाट तिमीहरूलाई केही लाभ हुनेछैन। 13तिमीहरूले सहायताको निम्ति पुकारा गर्दा तिमीहरूले बटुलेका मूर्तिहरूले तिमीहरूलाई बचाऊन्! बतासले तिनीहरूलाई उड़ाएर लैजानेछ। एकै सासले तिनीहरू जम्मैलाई उड़ाएर लैजानेछ। तर जुन मानिसले मलाई आफ्नो शरणस्थान बनाउँछ, त्योचाहिँ देशको हकवाला हुनेछ र मेरो पवित्र पर्वतको अधिकारी हुनेछ।”
पश्चात्तापीलाई सान्त्वना
14अनि यसो भनिनेछ: बनाओ, बनाओ, मूलबाटो तयार गर! मेरो प्रजाको बाटोदेखि बाधा हटाओ। 15किनकि सदासर्वदा जीवित हुनुहुने, उच्च र श्रेष्ठ, जसको नाउँ पवित्र हो, उहाँ भन्नुहुन्छ, “म उच्च र पवित्र ठाउँमा बस्दछु, विनम्रको आत्मा जागृत गराउन र पश्चात्तापीको हृदय जागृत गराउन, त्यससँग पनि बस्दछु जो आत्मामा पश्चात्तापी र विनम्र छ।” 16म सधैँ दोषी ठहराउनेछैनँ, र म सधैँ क्रोधित हुनेछैनँ, नत्रता मेरो सामुन्ने मानिसको आत्मा शिथिल हुनेथियो— मैले सृष्टि गरेको मानिसको सास। 17त्यसको पापले भरिएको लोभको कारण म रिसाएको थिएँ। मैले त्यसलाई दण्ड दिएँ, र मेरो मुख लुकाएँ। तर पनि त्यो आफ्नै चालमा अटेरी गरेर चल्दैरह्यो। 18मैले त्यसका चालहरू देखें, तर त्यसलाई म निको पार्नेछु। म त्यसलाई डोर्याउनेछु, र फेरि सान्त्वना दिनेछु, 19इस्राएलमा विलाप गर्नेहरूका मुखमा प्रशंसा उत्पन्न गराउनलाई। टाढ़ा र नजिक बस्ने दुवैलाई शान्ति होस्, शान्ति,” परमप्रभु भन्नुहुन्छ। “म तिनीहरूलाई निको पार्नेछु।” 20तर दुष्टहरूचाहिँ छाल उठेको समुद्रझैँ हुन्, जो शान्त हुन सक्दैन, जसको पानीले मैला र हिलो बाहिर फ्याँक्छ। 21“दुष्टलाई शान्ति हुँदैन” भनी मेरा परमेश्वर भन्नुहुन्छ।
ISAIAH - 58:1-14,
साँचो उपवास
1“चर्को गरी करा, नथाम्। तुरहीको आवाज जस्तै उच्च सोरले करा। मेरो प्रजालाई तिनीहरूको बागीपन र याकूबको घरानालाई तिनीहरूका पाप जनाइदे। 2किनकि तिनीहरूले मलाई दिनहुँ खोज्छन्। जे ठीक छ त्यही गर्ने र आफ्ना परमेश्वरको आज्ञा भङ्ग नगर्ने तर मेरो मार्ग जान्न इच्छा गर्ने जातिजस्तै तिनीहरू देखिन्छन्। तिनीहरू मसँग उचित निर्णयहरू माग्छन्, र परमेश्वर तिनीहरूका नजिकै आऊन् भनी उत्सुक भएका देखिन्छन्। 3तिनीहरू भन्छन्, ‘हामीहरू उपवास बस्यौं, र किन तपाईं देख्नुहुन्न? हामीहरू विनम्र भयौं, र किन तपाईं ध्यान दिनुहुन्न?’
“तापनि तिमीहरूका उपवासको दिनमा तिमीहरू आफ्नै इच्छा पूरा गर्दछौ, र तिमीहरूका कामदारहरू सबैलाई तिमीहरू शोषण गर्दछौ। 4तिमीहरूका उपवासको दिन लड़ाइँ र झगड़ामा अन्त्य हुन्छ र एउटाले अर्कालाई दुष्ट मुक्काले हिर्काउँछौ। तिमीहरू आजको जस्तो उपवास बसेर तिमीहरूको सोर स्वर्गमा सुनिने आशा गर्न सक्दैनौ। 5के मैले चुनेको उपवास यस्तै हो? मानिसले आफैलाई एक दिन मात्र विनम्र राख्ने? के निगालोझैँ आफ्नो शिर झुकाउने र भाङ्ग्रा र खरानी ओछ्याउने दिन मात्र यो हो? के यसैलाई तिमीहरू उपवास र परमप्रभुको निम्ति ग्रहणयोग्यको दिन भन्छौ?
6“अन्यायको बन्धन फुकाल्न, जुवाको डोरी फुकाल्न, र अत्याचारमा परेकाहरूलाई मुक्त गराउन, हरेक जुवा भाँचिदिन मैले चुनेको किसिमको उपवास यही होइन र? 7आफ्नो भोजन भोकासित बाँड़चूँड़ गर्नु, र घर नभएका गरीबहरूलाई शरण दिनु— नाङ्गोलाई देखेर लुगा लगाइदिनु, र आफ्नो जात-भाइहरूबाट नलुक्नु, होइन र? 8तब तिमीहरूको ज्योति बिहानझैँ फुटेर निस्कनेछ, र तिमीहरू चाँड़ै निको हुनेछौ। तब तिमीहरूको धार्मिकता तिमीहरूका अगिअगि जानेछ, र परमप्रभुको महिमाचाहिँ पछिल्तिरको रक्षक हुनेछ। 9तब तिमीहरूले पुकारा गर्नेछौ, र परमप्रभुले जवाफ दिनुहुनेछ। तिमीहरूले सहायताको निम्ति बिन्ती गर्नेछौ, र उहाँले भन्नुहुनेछ, ‘म यहीँ छु’।
“यदि तिमीहरूले आफ्ना बीचबाट अत्याचारको जुवा फालिदियौ, अरूलाई औँला ठाड़ो गर्न र ईर्ष्यापूर्ण कुरा बोल्न त्याग्यौ, 10अनि सम्पूर्ण हृदयले तिमीहरूले आफैलाई भोकाहरूका निम्ति दियौ, र अत्याचारमा परेकाहरूको आवश्यकता पूरा गरिदियौ भने, तिमीहरूको ज्योति अँध्यारोमा चम्कनेछ र तिमीहरूको रात मध्यदिनजस्तै हुनेछ। 11परमप्रभुले तिमीहरूलाई निरन्तर डोर्याउनुहुनेछ, र घामको उखुम गर्मी परेका ठाउँहरूमा पनि तिमीहरूलाई सन्तुष्ट पार्नुहुनेछ, र तिमीहरूका हाड़हरूलाई बलिया पार्नुहुनेछ। तिमीहरू प्रशस्त पानीले भिजाएको बगैँचाझैँ र नसुक्ने पानीको मूलझैँ हुनेछौ। 12तिमीहरूका मानिसहरूले पुराना भग्नावशेष फेरि बनाउनेछन्। धेरै पुराना जगहरू तिनीहरूले उठाउनेछन्। तिमीहरू ‘भत्केका पर्खालहरू निर्माण गर्ने’ र ‘बस्ने घरहरूका निम्ति बाटो फेरि नयाँ बनाउनेहरू’ भनिनेछौ।
13“तिमीहरूले मेरो शबाथ-दिन तोडेनौ र मेरो पवित्र दिनमा आफूखुशी गरेनौ भने, र परमप्रभुको शबाथलाई आदरणीय ठान्यौ, र आफ्नो इच्छाअनुसार नगरी यस दिनलाई मान्यता दियौ र यसमा आफ्नो खुशी नगरी व्यर्थका कुरा गरेनौ भने, 14तिमीहरू परमप्रभुमा रमाहट पाउनेछौ, र म तिमीहरूलाई देशका उच्च स्थानहरूमा सवार गर्ने तुल्याउनेछु र म तिमीहरूलाई तिमीहरूका पुर्खा याकूबको उत्तराधिकारबाट भोज खुवाउने तुल्याउनेछु।” परमप्रभुको मुखैले यसो भन्नुभएको छ।
ISAIAH - 59:1-21,
पाप, पश्चात्ताप र छुटकारा
1निश्चय नै परमप्रभुको हात बचाउन नसक्ने गरी छोटो भएको छैन, न त उहाँको कान सुन्न नसक्ने गरी बाक्लो भएको छ। 2तर तिमीहरूका अधर्मले तिमीहरूलाई आफ्ना परमेश्वरबाट अलग गरेका छन्, र तिमीहरूका पापले गर्दा उहाँको मुहार तिमीहरूबाट छेकिएको छ, र उहाँले तिमीहरूको कुरा सुन्नुहुनेछैन। 3किनकि तिमीहरूका हात रगतले र तिमीहरूका औँला दोषले पोतिएका छन्, र तिमीहरूका ओठले झूटा कुराहरू बोलेका छन्, र तिमीहरूको जिब्रोले दुष्ट कुराहरू बक्तछ। 4कसैले न्याय माग्दैन। कसैले ईमानदारीसाथ वकालत गर्दैन। तिनीहरू खोक्रो तर्कमा भर पर्छन् र झूट बोल्छन्। तिनीहरू उपद्रव रच्दछन्, र अधर्म जन्माउँछन्। 5तिनीहरू साँभे सर्पका फुल ओथ्रन्छन्, र माकुराको जाल बुन्छन्। तिनीहरूका फुल खाने जोसुकै पनि मर्नेछ, र त्यसलाई फुटायो भने साँपको बच्चा निस्कन्छ। 6तिनीहरूका जालले वस्त्र बनिँदैन, तिनीहरूले बनाएका थोकले तिनीहरू आफैलाई ढाक्न सक्दैनन्। तिनीहरूका काम अधर्मका काम हुन्, र उपद्रवका काम नै तिनीहरूका हातमा हुन्छन्। 7तिनीहरूका खुट्टा पापको कामतिर दौड़न्छन्, र तिनीहरू निर्दोषको रगत बगाउन हतार गर्छन्। तिनीहरूका विचार अधर्मका विचार हुन्। उजाड़ र नाशले तिनीहरूको बाटो चिनाउँछन्। 8तिनीहरू शान्तिको बाटो चिन्दैनन्, र तिनीहरूका मार्गमा न्याय छैन। तिनीहरूले आफ्ना मार्गहरू बाङ्गा-टेढ़ा बनाएका छन्। त्यसबाट हिँड्ने कसैले शान्तिलाई जान्नेछैन।
9यसैले न्याय हामीहरूदेखि टाढ़ा भएको छ। धार्मिकताले हामीलाई भेट्टाउन सक्दैन। हामीहरू उज्यालोको बाटो हेर्छौं, तर सबै अन्धकार छ। प्रकाशको बाटो हेर्छौं, तर घोर अँध्यारोमा हिँड्दछौं! 10अन्धा मानिसझैँ हामी भित्ता छाम्दछौं, आँखा नभएकाहरूले झैँ हामी आफ्नो बाटो छाम्दछौं। हामी मध्यदिनमा पनि साँझमा झैँ ठेस खान्छौं। बलियाहरूका बीचमा हामी मरेका झैँ छौं। 11हामी सबै भालूझैँ कराउँछौं, र ढुकुरझैँ साह्रै विलाप गर्दछौं। हामी न्याय माग्छौं, तर कतै पाउँदैनौं, मुक्तिको बाटो खोज्छौं, तर त्यो हामीबाट टाढ़ा छ।
12किनकि हाम्रा अपराध तपाईंको दृष्टिमा अनेक छन्, र हाम्रा पापले हाम्रै विरुद्धमा गवाही दिन्छन्। हाम्रा अपराध हामीसितै छन्, र हाम्रा अधर्महरू हामी स्वीकार गर्दछौं। 13परमप्रभुको विरुद्धमा बागीपन र विश्वासघात, हाम्रा परमेश्वरलाई पिठिउँ देखाई अत्याचार र विद्रोह रचेका छौं, र हाम्रा हृदयले उत्पन्न गरेका झूटा कुराहरू हामीले बोलेका छौं। 14यसैले न्याय पछिल्तिर हटाइएको छ, र धार्मिकता टाढ़ा भएको छ, सत्यले चाहिँ सड़कहरूमा ठेस खाएको छ, र ईमानदारीले प्रवेश गर्न सक्दैन। 15सत्यता कहीँ पनि पाइँदैन, र दुष्टदेखि अलग बस्ने जोसुकै पनि शिकार बन्छ।
परमप्रभुले हेर्नुभयो, र न्याय रहेन भनेर उहाँ रिसाउनुभयो। 16कोही रहेनछ भनी उहाँले देख्नुभयो, र कोही मध्यस्थ पनि नभएकोले अचम्म मान्नुभयो। यसर्थ उहाँकै आफ्नै बाहुलीले त्यसको निम्ति उद्धार ल्याउनुभयो, र उहाँकै धार्मिकताले त्यसलाई थाम्नुभयो। 17उहाँले धार्मिकताको छाती-पाता र शिरमा मुक्तिको टोप पहिरिनुभयो। उहाँले साटो लिने वस्त्र लाउनुभयो र जोशलाई पोशाकजस्तै पहिरिनुभयो। 18तिनीहरूले गरेअनुसार उहाँले तिनीहरूलाई साटो लिनुहुनेछ, उहाँका विरोधीहरूमाथि क्रोध, र उहाँका वैरीहरूमाथि बदला! टापूका देशहरूलाई तिनीहरूले गरेजस्तै उहाँले बदला दिनुहुनेछ। 19पश्चिमका देशहरूदेखि मानिसहरूले परमप्रभुका नाउँको भय मान्नेछन्, र सूर्योदयदेखि तिनीहरूले उहाँका महिमाको सम्मान गर्नेछन्। किनकि उहाँ उर्लंदो बाढ़जस्तै आउनुहुन्छ, जसलाई परमप्रभुको सासले हाँकेर ल्याउँछ।
20“आफ्ना पापको पश्चात्ताप गर्ने याकूबका सन्तानहरूका निम्ति मुक्तिदाता सियोनमा आउनुहुनेछ,” परमप्रभु घोषणा गर्नुहुन्छ।
21परमप्रभु भन्नुहुन्छ, “मेरो करार तिनीहरूसित चाहिँ यही हुनेछ। मेरो आत्मा जो तँमाथि छ, र मेरो वचन जो मैले तेरो मुखमा हालिदिएको छु, त्यो तेरो मुखबाट, तेरो छोराछोरीका मुखबाट, र तिनीहरूका सन्तानका मुखबाट अबदेखि उसो सधैँभरिका निम्ति हट्नेछैन,” परमप्रभु भन्नुहुन्छ।
ISAIAH - 60:1-22,
सियोनको महिमा
1“उठ्, प्रकाशमान् हो, किनकि तेरो प्रकाश आएको छ, र परमप्रभुको महिमा तँमाथि उदाएको छ। 2हेर्, अँध्यारोले पृथ्वीलाई, र घोर अँध्यारोले मानिसहरूलाई ढाकेको छ, तर परमप्रभु तँमाथि चम्कनुहुन्छ, र उहाँको महिमा तँमाथि प्रकट हुन्छ। 3जाति-जाति तेरो प्रकाशमा र राजाहरू तेरो प्रभातको ज्योतिमा आउनेछन्।
4“तेरा आँखा उठाएर चारैतिर हेर्, तिनीहरू सबै जम्मा भएर तँकहाँ आउँछन्। तेरा छोराहरू टाढ़ाबाट आउँछन्, र तेरा छोरीहरू हात-हातमा बोकेर ल्याइन्छन्। 5तब यो देखेर तँ उज्ज्वल हुनेछस्, र तेरो हृदय आनन्दले गद्गद् हुनेछ। समुद्रका धन तँतर्फ ल्याइनेछन्, जाति-जातिको सम्पत्ति तँकहाँ आउनेछ। 6ऊँटहरूका बथान, मिद्यान र एपाका सवारी ऊँटहरूले तेरो देश ढाकिनेछ। शेबाबाटका सबै जना परमप्रभुको प्रशंसा गर्दै सुन र धूप लिएर आउनेछन्। 7केदारका सबै भेड़ाबाख्राहरूका बगाल तँकहाँ जम्मा हुनेछन्। नबायोतका भेड़ाहरूले तेरो सेवा गर्नेछन्। तिनीहरू बलि स्वरूप मेरो वेदीमा ग्रहणयोग्य हुनेछन्, र मेरो महिमाको मन्दिरलाई म सिँगार्नेछु।
8“बादलझैँ उड्ने र ढुकुरझैँ तिनीहरूका गुँड़तिर उड्ने यी को हुन्? 9निश्चय नै टापूहरूले मलाई हेर्छन्। अगिअगिचाहिँ तर्शीशका व्यापारी जहाजहरू छन्। परमप्रभु तेरा परमेश्वरको निम्ति, अर्थात् इस्राएलका परमपवित्रका सम्मानको निम्ति तिनीहरूले तेरा छोराहरूलाई तिनका सुन र चाँदीसित टाढ़ा-टाढ़ाबाट ल्याउँछन्। किनकि उहाँले तँलाई गौरवले युक्त पार्नुभएको छ।
10“विदेशीहरूले तेरा पर्खाल फेरि बनाउनेछन्, र तिनका राजाहरूले तेरो सेवा गर्नेछन्। मेरो क्रोधमा मैले तँलाई हिर्काएँ, तापनि मेरो निगाहमा म तँलाई टिठ्याउनेछु। 11तेरा सहरका मूल ढोकाहरू निरन्तर खुला रहनेछन्। मानिसहरूले तँकहाँ जाति-जातिका धन-सम्पत्ति ल्याउन र तिनका राजाहरू अगिअगि विजयीजुलूससाथ पस्न ती ढोकाहरू दिनरात कहिल्यै बन्द हुनेछैनन्। 12किनकि तेरो सेवा नगर्ने जाति वा राज्य नष्ट हुनेछ। त्यो बिलकुलै नष्ट हुनेछ।
13“लेबनानको गौरव तँकहाँ आउनेछ— सल्लोहरू र धूपीका रूखसमेत मेरो पवित्रस्थान सुन्दर बनाउनलाई आउनेछन्, र म मेरो चरणको स्थानलाई गौरवमय बनाउनेछु। 14तँलाई सताउनेहरूका छोराहरू तँकहाँ शिर निहुराउँदै आउनेछन्। तँलाई घृणा गर्नेहरू सबै तेरा खुट्टामा निहुरनेछन्। तिनीहरूले तँलाई परमप्रभुको सहर, इस्राएलका परमपवित्रको सियोन भन्नेछन्।
15“तँ त्यागिएकी र घृणित भएकी, तँबाट भएर कोही नगए तापनि म तँलाई सदाको गौरव र सबै पुस्ताको आनन्द तुल्याउनेछु। 16तैंले जाति-जातिहरूको दूध पिउनेछस् र राजकीय थुन चुस्नेछस्। त्यस बेला तैंले यो जान्नेछस्, कि म परमप्रभु तेरा मुक्तिदाता र तेरो उद्धार गर्ने, याकूबको परमशक्तिशाली हुँ। 17काँसाको सट्टा सुन र फलामको सट्टा चाँदी म ल्याउनेछु, र काठको सट्टा काँसा र ढुङ्गाको सट्टा फलाम ल्याउनेछु। शान्तिलाई तेरा राज्यपाल र धार्मिकतालाई तेरा शासक तुल्याउनेछु। 18तेरो देशमा फेरि कहिल्यै उपद्रव सुनिनेछैन, तेरा सिमानाभित्र बरबादी र विनाश सुनिनेछैन। तर तैंले तेरा पर्खाललाई मुक्ति भन्नेछस्, र तेरा मूल ढोकालाई प्रशंसा। 19दिनमा सूर्यले फेरि कहिल्यै तँलाई ज्योति दिनेछैन, न त चन्द्रमाको उज्यालो तँमाथि चम्कनेछ, किनकि परमप्रभु नै तेरो सदाको ज्योति, र तेरा परमेश्वरचाहिँ तेरो महिमा हुनुहुनेछ। 20तेरो सूर्य फेरि कहिल्यै अस्ताउनेछैन, र तेरो चन्द्रमा पनि घट्नेछैन। परमप्रभु तेरो सदाको ज्योति हुनुहुनेछ, र तेरो शोकका दिनको अन्त्य हुनेछ। 21तब तेरा सबै प्रजा धर्मात्मा हुनेछन्, र तिनीहरूले सदाको निम्ति देशको अधिकार गर्नेछन्। मेरो गौरव प्रदर्शन गर्न तिनीहरू मैले रोपेका बिरुवा, मेरो हातका काम हुन्। 22तिमीहरूमध्ये थोरैचाहिँ हजार हुनेछ, र सबैभन्दा सानोचाहिँ एउटा शक्तिशाली जाति हुनेछ। म परमप्रभु हुँ। त्यसको समयमा त्यो चाँड़ै पूरा गर्नेछु।”
ISAIAH - 61:1-11,
परमप्रभुका निगाहको वर्ष
1परमप्रभु परमेश्वरका आत्मा ममाथि छ,
किनभने गरीबहरूलाई सुसमाचार सुनाउनका निम्ति परमप्रभुले मलाई अभिषेक गर्नुभएको छ। मन भाँचिएकाहरूको हृदयलाई बाँध्न, कैदमा परेकाहरूलाई स्वतन्त्रता दिन र बन्धनमा परेकाहरूलाई छुटकाराको घोषणा गर्न उहाँले मलाई पठाउनुभएको छ।
2परमप्रभुको प्रसन्नताको वर्ष,
र हाम्रा परमेश्वरको बदला दिने दिनको घोषणा गर्न, सबै विलाप गर्नेहरूलाई सान्त्वना दिन,
3र सियोनमा विलाप गर्नेहरूलाई— खरानीको सट्टा सुन्दरताको मुकुट,
र शोकको सट्टा आनन्दको तेल लगाइदिन, निराश मनको सट्टा प्रशंसाको पोशाक पहिराइदिन। उहाँका गौरवको प्रदर्शन होस् भनेर परमप्रभुले नै रोप्नुभएको धार्मिकताका फलाँटहरू तिनीहरू कहलाइनेछन्।
4तिनीहरूले पुराना भग्नावशेष पुनर्निर्माण गर्नेछन्। नष्ट भएका ठाउँहरू तिनीहरूले फेरि बनाउनेछन्, र पुस्तौँदेखि भग्नावशेष भएर रहेका सहरहरूलाई तिनीहरूले फेरि नयाँ बनाउनेछन्। 5परदेशीहरूले तेरा भेड़ाबाख्राहरूलाई चराउनेछन्, र विदेशीहरूले तेरा जमिन र दाखबारीमा काम गर्नेछन्। 6अनि तिमीहरू परमप्रभुका पूजाहारी भनिनेछौ, तिमीहरूलाई हाम्रा परमेश्वरका सेवक नाउँ दिइनेछ। तिमीहरूले जाति-जातिहरूका धन-सम्पत्ति खानेछौ, र उनीहरूकै धनमा तिमीहरूले गर्व गर्नेछौ।
7तिनीहरूका शर्मको सट्टा मेरा प्रजाले दोबर पाउनेछन्, र अनादरको सट्टा तिनीहरू आफ्ना उत्तराधिकारमा रमाउनेछन्। यसैकारण तिनीहरू आफ्नै देशका दोबर भागका हकदार हुनेछन्, र अनन्तको आनन्द तिनीहरूका निम्ति हुनेछ।
8“किनभने म, परमप्रभुचाहिँ, न्यायलाई प्रेम गर्दछु, डकैत र अधर्म मलाई घृणा लाग्छ। म आफ्नो विश्वसनीयतामा तिनीहरूलाई इनाम दिनेछु, र म तिनीहरूसित सदाको करार बाँध्नेछु। 9तिनीहरूका सन्तान जाति-जातिहरूका बीचमा र तिनीहरूका बालबच्चाहरू मानिसहरूका बीचमा चिनिनेछन्। तिनीहरूलाई देख्ने सबैले ‘ती परमप्रभुबाट आशिष् पाएका सन्तान हुन्’ भनी स्वीकार गर्नेछन्।”
10म परमप्रभुमा साह्रै आनन्दित हुन्छु। मेरो प्राणले मेरा परमेश्वरमा आनन्द मनाउँनेछ। किनकि उहाँले मलाई उद्धारको पोशाक लगाइदिनुभएको छ, र उहाँले मलाई धार्मिकताको वस्त्रले ढाक्नुभएको छ— जसरी दुलहाले आफ्नो शिर पूजाहारीले सिँगारेझैँ सिँगार्छन्, र दुलहीले आफैलाई रत्नहरूले आभूषित गर्छिन्। 11किनकि जसरी भूमिले आफ्नो बिरुवा उमार्छ, र जसरी बगैँचाले बीउहरू उमार्छ, त्यसरी नै परमप्रभु परमेश्वरले धार्मिकता र प्रशंसा सारा जातिहरूका सामुन्ने उत्पत्ति गर्नुहुनेछ।
ISAIAH - 62:1-12,
सियोनको नयाँ नाउँ
1सियोनको खातिर म चूप लाग्नेछैनँ। यरूशलेमको खातिर म चूपचाप बस्नेछैनँ, जबसम्म त्यसको धार्मिकता उषाको उज्यालोजस्तै र त्यसको मुक्ति राँकोझैँ चहकिलो बलिरहेको देखिँदैन। 2जाति-जातिहरूले तेरो धार्मिकता र सबै राजाहरूले तेरो गौरव देख्नेछन्, र तँचाहिँ परमप्रभु आफैले राख्नुभएको नयाँ नाउँद्वारा कहलाइनेछस्। 3तँ परमप्रभुको हातमा गौरवमय मुकुट र तेरा परमेश्वरका हातमा एउटा राजकीय शिरपेच हुनेछस्। 4तँ फेरि कहिल्यै ‘त्यागिएकी’ भनिनेछैनस्। तेरो देश फेरि कहिल्यै ‘उजाड़िएको’ भनिनेछैन। तर तँ ‘हेप्सीबा’ भनिनेछस्, र तेरो देश ‘ब्युलाह’ भनिनेछ। किनकि तँसित परमप्रभु खुशी हुनुहुनेछ, र तेरो देशले विवाह गरेको हुनेछ। 5जसरी एक जना जवान केटाले कन्ये-केटीलाई विवाह गर्छ, त्यसरी नै तेरा छोराहरूले तँलाई विवाह गर्नेछन्। जसरी दुलहा आफ्नी दुलहीको निम्ति रमाहट गर्छ, त्यसरी नै तेरा परमेश्वरले तेरो निम्ति रमाहट गर्नुहुनेछ।
6मैले तेरा पर्खालहरूमा पहरा बस्नेहरू राखेको छु, ए यरूशलेम! तिनीहरू न त दिनमा न रातमा चूपचाप बस्नेछन्। हे परमप्रभुलाई पुकार्ने हो, विश्राम नलेओ, 7र जबसम्म उहाँले यरूशलेमलाई स्थापित गरेर त्यसको महिमा पृथ्वीभरि फिँजाउनुहुन्न, तबसम्म उहाँलाई विश्राम गर्न नदेओ।
8परमप्रभुले आफ्नो दाहिने हात र आफ्नो शक्तिशाली बाहुबलको शपथ खानुभएको छ, “म फेरि कहिल्यै तेरो अन्न तेरा शत्रुहरूलाई खान दिनेछैनँ, र जुन नयाँ दाखमद्यको निम्ति तैंले परिश्रम गरेको थिइस्, त्यो विदेशीले कहिल्यै खान पाउनेछैनन्। 9तर जसले अन्न कटनी गर्छन्, तिनीहरूले त्यो खानेछन्, र परमप्रभुको प्रशंसा गर्नेछन्। र जसले दाख जम्मा गर्छन्, तिनीहरूले मेरो पवित्रस्थानको चोकमा त्यो पिउनेछन्।”
10जाओ, मूल ढोकाहरूबाट भएर जाओ! मानिसहरूका निम्ति बाटो तयार गर। बनाओ, राजपथ बनाओ। त्यहाँबाट ढुङ्गाहरू हटाओ। जाति-जातिहरूका निम्ति झन्डा खड़ा गर।
11परमप्रभुले पृथ्वीको पल्लो छेउसम्म घोषणा गर्नुभएको छ: “सियोनकी छोरीलाई भन, ‘हेर्, तेरा मुक्तिदाता आउँदैहुनुहुन्छ! हेर्, उहाँको प्रतिफल उहाँसितै छ, र उहाँको इनाम उहाँकै साथ हुनेछ’।”
12तिनीहरू पवित्र जाति कहलाइनेछन्— परमप्रभुद्वारा छुटकारा पाएकाहरू। तँचाहिँ “खोजेर भेट्टाइएको” र “नत्यागिएको सहर” कहलाइनेछस्।
ISAIAH - 63:1-19,
बदला लिने र उद्धार गर्ने परमेश्वरको दिन
1एदोमबाट, बोज्राबाट गाढ़ा रातो रङ्गले रँगाएका वस्त्रसित आउनुहुने को हो? रवाफिलो वस्त्र र आफ्नो शक्तिको बढ्पनमा आउँदैगर्नुहुने को हो?
“धार्मिकतामा बोल्ने र बचाउनमा सामर्थी म हुँ!”
2किन तपाईंको पोशाक दाख-कुण्डमा पेल्नेहरूको जस्तै रातो छ?
3“मैले एकलै दाख-कुण्ड पेलें, जातिहरूमध्ये कोही पनि मसित थिएन। मैले रीसमा तिनीहरूलाई पेलें, र मेरो क्रोधमा तिनीहरूलाई कुल्चें। तिनीहरूको जीवन-रक्त मेरो पोशाकमा छ्यापियो, र मेरो सबै वस्त्र रगतै-रगत भयो। 4किनकि बदला लिने दिन मेरो मनमा थियो, र मेरो उद्धारको वर्ष आएको छ। 5मैले हेरें, तर सहायता गर्ने कोही पनि थिएन। सहारा दिने कोही पनि नदेखेर म छक्क परें, यसैले मेरो आफ्नै बाहुबलले मेरो उद्धार गर्यो, र मेरो क्रोधले मलाई सम्हाल्यो। 6मेरो रीसमा मैले जाति-जातिहरूलाई कुल्चें। मेरो क्रोधमा तिनीहरूलाई मत्ताएँ, र मैले तिनीहरूको जीवन-रक्त भूइँमा खन्याइदिएँ।”
प्रशंसा र प्रार्थना
7परमप्रभुले हाम्रा निम्ति गर्नुभएका सबै कार्यहरूअनुसार, जसको निम्ति उहाँलाई प्रशंसा दिनुपर्दछ, उहाँले गर्नुभएको दयाको विषयमा म बताउनेछु— उहाँको करुणा र धेरै दयाअनुसार, उहाँले इस्राएलको घरानाको निम्ति धेरै असल कार्य गर्नुभयो। 8उहाँले भन्नुभयो, “निश्चय नै यी मेरा प्रजा हुन्, ती छोराहरू जसले मलाई धोका दिनेछैनन्।” यसैले उहाँ तिनीहरूका मुक्तिदाता हुनुभयो। 9तिनीहरूका सारा दु:खमा उहाँ पनि दु:खित हुनुभयो, र उहाँको उपस्थितिका दूतले तिनीहरूलाई बचाए। उहाँको प्रेम र कृपामा उहाँले मोल तिरेर तिनीहरूलाई छुटकारा दिनुभयो। उहाँले तिनीहरूलाई उठाउनुभयो, र प्राचीनका सबै दिनमा उहाँले तिनीहरूलाई बोक्नुभयो। 10तरै पनि तिनीहरू बागी भए, र उहाँका पवित्र आत्मालाई दु:खित तुल्याए। यसैकारण उहाँ तिनीहरूका शत्रु हुनुभयो, र उहाँ आफैले तिनीहरूका विरुद्धमा लड्नुभयो।
11तब उहाँका प्रजाले प्राचीनका दिनलाई, अर्थात् मोशा र तिनका प्रजाका दिनलाई सम्झे। समुद्रबाट उहाँको बगालका गोठालासमेत तिनीहरूलाई ल्याउने कहाँ हुनुहुन्छ? आफ्ना पवित्र आत्मा तिनीहरूका बीचमा राख्ने कहाँ हुनुहुन्छ— 12जसले आफ्नो प्रतापी बाहु मोशाको दाहिने हाततिर पठाउनलाई बढ़ाउनुभयो, जसले आफ्नो नाउँ अनन्तको निम्ति प्रसिद्ध राख्नलाई तिनीहरूकै सामुन्ने पानीलाई दुई भाग गर्नुभयो, 13जसले तिनीहरूलाई ठेस नलागोस् भनेर वनमा घोड़ाहरूलाई झैँ गहिरा-गहिरा ठाउँहरूबाट डोर्याउनुभयो। 14जसरी गाईबस्तुहरू बेँसीमा चर्छन्, त्यसरी नै परमप्रभुको आत्माले तिनीहरूलाई विश्राम दिनुभयो। यसरी नै तपाईंले आफ्नो नाउँ महिमित पार्न आफ्ना प्रजालाई डोर्याउनुभयो।
15स्वर्गबाट हेर्नुहोस्, र आफ्नो उच्च र पवित्र र महिमित सिंहासनबाट तल दृष्टि गर्नुहोस्। तपाईंको जोश र शक्ति कहाँ गए? तपाईंको नम्रता र करुणा हामीबाट खोसिएका छन्। 16तर तपाईं त हाम्रा पिता हुनुहुन्छ। अब्राहामले हामीलाई नचिने र इस्राएलले हामीलाई स्वीकार नगरे तापनि, तपाईं, हे परमप्रभु, हाम्रा पिता हुनुहुन्छ। तपाईंको नाउँ तादिदेखि नै हाम्रा उद्धारक हो। 17हे परमप्रभु, तपाईंको मार्गबाट किन हामीलाई बरालिने तुल्याउनुहुन्छ, र तपाईंलाई सम्मान गर्नदेखि हाम्रो हृदयलाई किन कठोर पार्नुहुन्छ? तपाईंको निज उत्तराधिकार भएका कुलहरूका खातिर, तपाईंका दासहरूका खातिर फर्कनुहोस्। 18तपाईंका प्रजा थोरै समयको निम्ति मात्र तपाईंको पवित्र ठाउँको अधिकारी भए, तर अब हाम्रा शत्रुहरूले तपाईंको पवित्रस्थानलाई कुल्चीमिल्ची गरे। 19प्राचीनकालदेखि नै हामी त तपाईंका हौं, तर तपाईंले उनीहरूमाथि शासन गर्नुभएको छैन, उनीहरू तपाईंको नाउँद्वारा कहलाइएका छैनन्।
ISAIAH - 64:1-12,
1आकाश फटाएर तपाईं तल आउनुभए र तपाईंको सामुन्ने पर्वतहरू कामेका भए त हुनेथियो! 2आगोले झिँजामिजा डढ़ाएर र पानी उमालेझैँ, तपाईंका शत्रुहरूलाई आफ्नो नाउँ प्रकट गर्न, र जाति-जातिहरू तपाईंको उपस्थितिमा कामून् भनेर तपाईं तल आउनुहोस्! 3जब तपाईंले भयानक कामहरू गर्नुभयो, जो हामीले चिताएकै थिएनौं, तब तपाईं तल आउनुभयो, र पर्वतहरू तपाईंको उपस्थितिमा कामे। 4उहाँको बाटो हेर्नेहरूका निम्ति काम गर्नुहुने तपाईंबाहेक अरू कोही परमेश्वर छ भनी कसैले प्राचीनकालदेखि नै कहिल्यै सुनेको छैन, न त कानले सुनेको छ, न आँखाले देखेको छ। 5जसले खुशीसित ठीक काम गर्छ, र जसले तपाईंको बाटो स्मरण गर्छ, तिनीहरूको सहायता गर्न तपाईं आउनुहुन्छ। तर जब हामीले तिनीहरूका विरुद्धमा पाप गर्दैरह्यौं तब तपाईं रिसाउनुभयो। कसरी हामीहरू बचाइन सक्छौं र? 6हामी सबै अशुद्ध मानिसझैँ भएका छौं, र हाम्रा सबै धार्मिक काम फोहोर झुत्राझैँ छन्। हामी सबै पातझैँ ओइलाइहाल्छौं, र हाम्रा पापले हामीलाई बतासले झैँ उड़ाइलैजान्छन्। 7तपाईंको नाउँ लिने कोही पनि छैन, तपाईंलाई समात्न कसैले प्रयत्न गर्दैन, किनकि तपाईंले आफ्नो मुख हामीदेखि लुकाउनुभएको छ, र हाम्रा पापले गर्दा बेकम्मा पार्नुभएको छ।
8तापनि अब हे परमप्रभु, तपाईं हाम्रा पिता हुनुहुन्छ। हामी माटो हौं, र तपाईंचाहिँ कुमाले हुनुहुन्छ। हामी सबै तपाईंकै हातका कार्यहरू हौं। 9हे परमप्रभु, ज्यादै क्रोधित नहुनुहोस्, हाम्रा पापहरू सधैँभरि सम्झी नरहनुहोस्। बिन्ती छ, हामीमाथि निगाह रहोस्, किनकि हामी सबै तपाईंकै प्रजा हौं। 10तपाईंका पवित्र सहरहरू मरुभूमि भएका छन्, सियोनसमेत मरुभूमि भयो, यरूशलेम ध्वंस भयो। 11हाम्रो पवित्र र गौरवमय मन्दिर जहाँ हाम्रा पिता-पुर्खाहरूले तपाईंको प्रशंसा गर्थे, त्यो आगोले डढ़ाइएको छ, र हामीले मूल्यवान् ठानेका वस्तुहरू भग्नावशेष भएका छन्। 12यी सबै कुरा भएपछि हे परमप्रभु, के तपाईं पछिपछि हट्नुहुन्छ? के तपाईं चूपचाप बसेर हामीलाई नापभन्दा ज्यादै सजाय दिनुहुन्छ?
ISAIAH - 65:1-25,
न्याय र उद्धार
1“मलाई नसोध्नेहरूलाई मैले स्वयम् प्रकट गरें। जसले मलाई खोजेनन्, तिनीहरूले मलाई भेट्टाए। मेरो नाम नै नलिने जातिलाई मैले भनें, ‘म यहाँ छु। म यहाँ छु’। 2मैले मेरो हात दिनभरि नै एउटा अटेरी प्रजाको अगि फैलाएँ, जो आफ्नै कल्पनामा यस्तो बाटोमा हिँड्छन् जो असल छैन— 3एउटा यस्ता प्रजा, जसले निरन्तर मेरै सामुन्ने मलाई रीस उठाउँछन्, बगैँचाहरूमा बलिदान चढ़ाउँछन्, र इँटाले बनाएका वेदीमा धूप बाल्छन्, 4जो चिहानहरूमा बस्छन्, र गुप्त ठाउँहरूमा कुरेर रात बिताउँछन्, जसले सुँगुरको मासु खान्छन्, र जसका भाँड़ामा घिनलाग्दा कुराहरूको झोल हुन्छ, 5जसले भन्छन्, ‘पर जा, मेरो नजिक नआइज, किनकि म तेरो निम्ति अति पवित्र छु’। यस्ता मानिसहरू त मेरा नाकमा धूवाँ, र दिनभरि बलिरहने आगो हुन्।
6“हेर, मेरो सामुन्ने यस्तो लेखिएको छ, म चूप रहनेछैनँ, तर पूरै साटो लिनेछु। निश्चय नै म तिनीहरूकै काखमा साटो लिनेछु— 7तिमीहरूका र तिमीहरूका पिता-पुर्खाहरूका पापको साटो म लिनेछु” परमप्रभु भन्नुहुन्छ। “किनभने तिनीहरूले पर्वतहरूमा बलिदान जलाए, र डाँड़ाहरूमा मेरो विरोध गरे। म तिनीहरूका पहिलेका कामको बदला तिनीहरूकै काखमा पूरा भरिदिनेछु।”
8परमप्रभु यसो भन्नुहुन्छ, “जसरी दाखको झुप्पामा रस पाएर, मानिसहरूले भन्छन्, ‘त्यसलाई नबिगार्, किनकि त्यसमा अझै राम्रो रस होला,’ त्यसरी नै म मेरा सेवकहरूको पक्षमा गर्नेछु, म तिनीहरू सबैलाई नष्ट गर्नेछैनँ। 9म याकूबबाट सन्तान-दरसन्तान र यहूदाबाट मेरा पर्वतहरूका उत्तराधिकारीहरू उत्पन्न गर्नेछु। मेरा चुनिएकाहरूले त्यसको अधिकार गर्नेछन्, र मेरा दासहरू त्यहाँ बस्नेछन्। 10मलाई खोज्ने मेरा प्रजाहरूका निम्ति, शारोनचाहिँ भेड़ाबाख्राहरूको चरन, र आकोरको बेँसीचाहिँ गाईबस्तुहरूका विश्रामको ठाउँ हुनेछ।
11“तर तिमीहरू, जसले परमप्रभुलाई त्याग्छौ, र मेरो पवित्र पर्वतलाई बिर्सन्छौ, जसले भाग्य-देवको निम्ति टेबिल तयार गर्छौ, र भावी-देवीको निम्ति मिसाएको दाखमद्यले बाटाहरू भर्छौ, 12म तिमीहरूलाई तरवारको निम्ति खटाउनेछु, र तिमीहरू सबै काटिनलाई निहुरनेछौ। किनकि जब मैले तिमीहरूलाई बोलाएँ, तब तिमीहरूले जवाफ दिएनौ। जब म बोलें, तब तिमीहरूले ध्यानसित सुनेनौ। मेरो दृष्टिमा जे खराब थियो, तिमीहरूले त्यही काम गर्यौ, र मलाई मन नपर्ने काम गर्न तिमीहरूले रोज्यौ।”
13यसैकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, “हेर, मेरा दासहरूले खानेछन्, तर तिमीहरू भने भोकै बस्नेछौ। मेरा दासहरूले पिउनेछन्, तर तिमीहरू भने तिर्खाउनेछौ। मेरा दासहरूले हर्ष मनाउनेछन्, तर तिमीहरूचाहिँ लाजमा पर्नेछौ। 14मेरा दासहरू हृदयको आनन्दले गाउनेछन्, तर तिमीहरूचाहिँ हृदयमा चिन्ता भएकोले रुनेछौ, र आत्मामा खिन्न भएकोले चिच्च्याई-चिच्च्याई रुनेछौ। 15तिमीहरूले आफ्नो नाउँ मेरा छानिएकाहरूका निम्ति सरापको रूपमा छोड्नेछौ, र परमप्रभु परमेश्वरले तिमीहरूलाई मार्नुहुनेछ। तर उहाँले आफ्ना दासहरूलाई अर्को नाउँ दिनुहुनेछ। 16जसले यस देशमा आशिष्को आह्वान गर्नेछ, त्यसले साँचो परमेश्वरको नाउँमा यसो गर्नेछ, र यस देशमा शपथ खानेले परमेश्वरको नाउँमा शपथ खानेछ, किनभने अघि-अघिका दु:खहरू बिर्सिसकिएका हुनेछन्, र ती मेरो नजरबाट लुकिएका हुनेछन्।
नयाँ आकाश र नयाँ पृथ्वी
17“हेर, म नयाँ आकाश र नयाँ पृथ्वी सृष्टि गर्नेछु। अघि-अघिका कुराहरूको सम्झना हुनेछैन, न त ती मनमा आउनेछन्। 18तर मैले सृष्टि गर्ने कुरामा सदासर्वदा आनन्द गर र हर्ष मनाओ। किनकि म यरूशलेमलाई हर्षदायक र त्यसका मानिसहरूलाई आनन्ददायक तुल्याउनेछु। 19म यरूशलेमदेखि हर्षित हुनेछु, र मेरो प्रजामा खुशी हुनेछु, र त्यहाँ रुवाइ र कराइको आवाज फेरि कहिल्यै सुनिनेछैन।
20“थोरै दिनसम्म बाँच्ने बालक वा आफ्नो पूरा उमेरसम्म नबाँच्ने वृद्ध मानिस त्यहाँ कहिल्यै हुनेछैन। सय वर्षसम्म बाँचेर मर्नेचाहिँ जवान मानिनेछ, र सय वर्षसम्म नबाँच्नेचाहिँ श्रापित मानिनेछ। 21तिनीहरूले घर बनाएर तिनमा वास गर्नेछन्। तिनीहरूले दाखबारी लगाएर तिनका फल खानेछन्। 22तिनीहरूले घरहरू बनाएर तिनमा अरूहरू बस्ने, र तिनीहरूले रोपेर अरूहरूले खाने कहिल्यै हुनेछैन। किनकि रूखको आयु जस्तै मेरा प्रजाको आयु हुनेछ, र मेरा छानिएकाहरूले आफ्ना हातले गरेका काम धेरै दिनसम्मै भोग गर्नेछन्। 23तिनीहरूले व्यर्थमा परिश्रम गर्नेछैनन्, अथवा विपत्तिको निम्ति बालकहरू जन्माउनेछैनन्। किनकि तिनीहरू, तिनीहरूका वंशसमेत परमप्रभुको आशिष् पाएका प्रजा हुनेछन्। 24तिनीहरूले बिन्ती गर्न अघि नै म जवाफ दिनेछु। तिनीहरूले बोल्दाबोल्दै तिनीहरूका कुरा म सुन्नेछु। 25ब्वाँसो र थुमा एउटै ठाउँमा एकसाथ खानेछन्, र सिंहले चाहिँ गोरुले झैँ पराल खानेछ, तर सर्पको आहारा धूलो हुनेछ। मेरो सारा पवित्र पर्वतमा तिनीहरूले न त नोक्सानी गर्नेछन्, न नष्ट गर्नेछन्,” परमप्रभु भन्नुहुन्छ।”
ISAIAH - 66:1-24,
न्याय र आशा
1परमप्रभु यसो भन्नुहुन्छ, “स्वर्ग मेरो सिंहासन हो, र पृथ्वीचाहिँ मेरो पाउदान हो। मेरो निम्ति तिमीहरूले बनाउने भवन कहाँ छ? मेरो विश्राम गर्ने ठाउँ कुन हुनेछ? 2के यी सबै थोक त मेरै हातले बनाएका होइनन्, र यसरी यी हुन आए?” परमप्रभु भन्नुहुन्छ।
“जो आत्मामा दीन र चूर्ण छ, र मेरो वचनमा काम्दछ, त्यसलाई म आदर गर्दछु। 3तर गोरुको बलि गर्नेचाहिँ मान्छे मार्नेजस्तै हो। थुमा बलिदान चढ़ाउनेचाहिँ कुकुरको घिच्रो भाँच्नेजस्तै हो। जसले अन्नबलि चढ़ाउँछ, त्यो सुँगुरको रगत चढ़ाउनेजस्तै हो। जसले सम्झना स्वरूप धूप बाल्छ, त्यो मूर्तिलाई पूजा गरेजस्तै हो। तिनीहरूले आफ्नै बाटो चुनेका छन् र तिनीहरूका प्राण आफ्नै घिनलाग्दा कामहरूमा खुशी हुन्छन्। 4यसैले म पनि तिनीहरूसित कड़ा व्यवहार गर्नेछु, र तिनीहरूले डरले मानेका कुरा तिनीहरूमाथि ल्याउनेछु। किनकि मैले बोलाउँदा कसैले जवाफ दिएन। जब म बोलें, कसैले ध्यानै दिएन। जे मेरो दृष्टिमा खराब थियो, तिनीहरूले त्यही गरे, र जुन कुरा मलाई मन पर्दैन, त्यही तिनीहरूले चुने।”
5तिमीहरू, जो परमप्रभुको वचनमा काम्दछौ, उहाँको वचन सुन: “तिमीहरूका दाजुभाइहरू, जसले तिमीहरूलाई घृणा गर्छन्, जसले तिमीहरूलाई मेरो नाउँको खातिर बहिष्कार गर्छन्, तिनीहरूले यसो भनेका छन्, ‘परमप्रभुको महिमा होस्, ताकि हामी तिमीहरूको आनन्द हेरौं!’ तापनि तिनीहरू लज्जित हुनेछन्। 6सहरबाट निस्केको त्यो ठूलो हल्ला सुन! मन्दिरबाट निस्केको आवाज सुन। यो आफ्ना शत्रुहरूलाई उचित बदला दिनुहुने परमप्रभुको सोर हो!
7“प्रसववेदनामा पर्नुभन्दा पहिले नै त्यसले जन्माउँछे। सुत्केरी व्यथा लाग्नुभन्दा पहिले नै त्यसले एउटा छोरा जन्माउँछे। 8यस्तो कुरा कसले सुनेको छ? यस्तो कुरा कसले देखेको छ? के एकै दिनमा एउटा देश उत्पन्न हुन्छ र? अथवा के एकै क्षणमा एउटा जाति निकाल्न सकिन्छ र? तापनि सियोनले त प्रसववेदना लाग्ने बित्तिकै बालकहरू जन्माउँछे। 9के जन्माउने समयसम्म ल्याएर जन्माउनेचाहिँ नतुल्याऊँ?” परमप्रभु भन्नुहुन्छ। “के म, जसले जन्माउन लाउँछु, म गर्भ थुन्छु र?” तेरा परमेश्वर भन्नुहुन्छ।
10“हे यरूशलेमलाई प्रेम गर्ने हो, तिमीहरू सबै त्यससित आनन्द गर, र त्यसको निम्ति प्रसन्न होओ। हे त्यसको निम्ति शोक गर्ने हो, आनन्दले प्रफुल्लित होओ। 11किनकि त्यसका सान्त्वना दिने स्तन चुसेर तिमीहरू सन्तुष्ट हुनेछौ, र दूध पूरै चुसेर त्यसको प्रशस्तपनमा आनन्दित हुनेछौ।”
12किनकि परमप्रभु यसो भन्नुहुन्छ, “म शान्तिलाई नदीझैँ र जाति-जातिहरूको सम्पत्ति उर्लंदो खोलाझैँ त्यसतर्फ बढ़ाउनेछु। तिमीहरू दूध चुस्नेछौ र तिमीहरू आँगमा बोकिनेछौ, र घुँड़ामा खेलाइनेछौ। 13आमाले आफ्ना बालकलाई सान्त्वना दिएझैँ म तिमीहरूलाई सान्त्वना दिनेछु। र तिमीहरूले यरूशलेमको कारण सान्त्वना पाउनेछौ।
14जब तिमीहरूले यो देख्नेछौ तब तिमीहरूका हृदय रमाउनेछन्, र तिमीहरू घाँसझैँ भरिला हुनेछौ। परमप्रभुको हात आफ्ना दासहरूतिर पसारेको तर उहाँको क्रोधचाहिँ उहाँका शत्रुहरूमाथि भएको थाहा गराइनेछ।
15हेर, परमप्रभु अग्निसाथ आउँदैहुनुहुन्छ, र उहाँका रथहरूचाहिँ आँधीबेहरीझैँ छन्। आफ्नो रीस झोँकसित र आफ्नो हप्काइ आगोको ज्वालासित उहाँले ल्याउनुहुनेछ। 16किनकि आगो र तरवारद्वारा परमप्रभुले सबै मानिसको न्याय गर्नुहुनेछ, र परमप्रभुबाट मारिएकाहरू धेरै हुनेछन्।
17“ती, जसले आफूलाई पवित्र र शुद्ध पारेर बगैँचामा सुँगुर र मूसा तथा अन्य घिनलाग्दा कुरा खानेमध्ये कसैलाई पछ्याउँछन्, तिनीहरू सबैको एकैसाथ अन्त हुनेछ,” परमप्रभु भन्नुहुन्छ।
18“तिनीहरूका काम र तिनीहरूका कल्पनाको कारण म सारा जातिहरू र विभिन्न भाषा बोल्नेहरूलाई जम्मा गर्न आउनेछु, र तिनीहरू आएर मेरो महिमा देख्नेछन्।
19“म तिनीहरूका बीचमा एउटा चिन्ह राख्नेछु, र तिनीहरूमध्ये बाँचेकाहरूलाई म जाति-जातिहरूकहाँ पठाउनेछु— अर्थात् तर्शीशमा, लिबियाली तथा लूदीहरू, जसले धनु धारण गर्छन्, तूबल र ग्रीसमा, र टाढ़ाका टापूहरूमा, जसले मेरो कीर्ति सुनेका छैनन् र मेरो महिमा देखेका छैनन्। तिनीहरूले मेरो महिमा जाति-जातिहरूका बीचमा घोषणा गर्नेछन्। 20अनि तिनीहरूले सारा जाति-जातिहरूबाट तिमीहरूका सबै दाजुभाइहरूलाई घोड़ाहरू, रथहरू, पालकीहरू, खच्चरहरू र ऊँटहरूमा चढ़ाएर मेरो पवित्र पर्वत यरूशलेममा परमप्रभुको निम्ति बलिजस्तै ल्याउनेछन्,” परमप्रभु भन्नुहुन्छ। “इस्राएलका सन्तानले आफ्नो अन्नबलि चोखो भाँड़ामा परमप्रभुको मन्दिरमा ल्याएझैँ तिनीहरूले यिनीहरूलाई ल्याउनेछन्, 21अनि तिनीहरूमध्येका कति जनालाई पनि पूजाहारी र लेवीहरू हुन म चुन्नेछु,” परमप्रभु भन्नुहुन्छ।
22“जसरी नयाँ आकाश र नयाँ पृथ्वी, जो म बनाउनेछु, ती मेरै सामुन्ने रहिरहनेछन्,” परमप्रभु भन्नुहुन्छ, “त्यसरी नै तिमीहरूको नाउँ र तिमीहरूका सन्तान रहिरहनेछन्। 23एक औंसीदेखि अर्को औंसी र एक शबाथदेखि अर्को शबाथसम्म, सबै मानिस-जाति आएर मेरो सामुन्ने निहुरनेछन्,” परमप्रभु भन्नुहुन्छ। 24“अनि तिनीहरूले निस्केर मेरो विरुद्धमा बागी हुने मानिसहरूका मृत शरीरलाई हेर्नेछन्। तिनीहरूको कीरा मर्नेछैन, तिनीहरूको आगो निभ्नेछैन, र तिनीहरू सबै मानिस-जातिका निम्ति घृणित हुनेछन्।”
ISAIAH -
Discover the profound wisdom and spiritual encouragement found in the book of Isaiah. Learn how his unique communication with God shaped history and continues to inspire us today.

Isaiah: A voice of divine communication
Isaiah stands as a beacon of direct communication with God, a central theme in SIMON THAPA's mission of "Teaching Community for Developing." His life exemplifies a profound dialogue with the divine, offering timeless lessons on listening and understanding God's will for a thriving community.

Making friendship with God
Isaiah's most significant contribution was forging a deep friendship with God. This intimate relationship allowed him to receive and convey powerful messages, demonstrating that a close bond with the Creator is not only possible but also transformative for individuals and communities alike. This resonates deeply with SIMON THAPA's vision.

Encouragement through Isaiah's words
The primary goal of this page is to offer encouragement through Isaiah's powerful prophecies and personal journey. His unwavering faith and clear communication with God provide a blueprint for hope, resilience, and spiritual growth, inspiring visitors to find strength and guidance in their own lives.
"Isaiah's teachings have profoundly impacted my understanding of divine communication and the importance of a true friendship with God."
A devoted member of the SIMON THAPA community